कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ग्यास उद्योगले जोखिम

हरिहरसिंह राठौर

धादिङ — मापदण्डविपरीत बस्तीको बीचमा बेनीघाटको विशालटारमा सञ्चालन गरिएको श्रीमाया ग्यास उद्योग तत्काल बन्द गर्न स्थानीयवासीले माग गरेका छन् ।

ग्यास उद्योगले जोखिम

विशालटारका १ सय ६० घरधुरी बासिन्दाले सामूहिक निवेदन लेखेर बेनीघाट रोराङ गाउ‘पालिकामा मापदण्डविपरीत उच्च जोखिमयुक्त उक्त उद्योग अन्यत्र सार्न माग गरेका हुन् ।


राजमार्ग र बस्तीको नजिकै ग्यास कम्पनी सञ्चालनमा रहेकाले बन्द गर्नुपर्ने स्थानीय ध्रुवप्रसाद पाण्डेले बताए । श्रीमाया ग्यास प्राविधिक कमजोरीले पटकपटक चुहिएर बस्तीसम्म गन्ध आउने गरेको बताउँदै स्थानीयवासीहरू सधैंजसो त्रासैत्रासमा बस्नुपर्ने भएकाले तत्काल ग्यास कम्पनी बन्द गर्नुपर्ने पाण्डेले भने ।


बस्तीका बीचमा ग्यास उद्योग खोलेर आधारभूत सुरक्षा उपायहरू पनि नअपनाइएको स्थानीयवासीहरूको आरोप छ । बस्तीका बीचमा ग्यास उद्योगहरू भएकै कारण विभिन्न खाले रोगहरूको सिकार भइरहेको पाण्डेको तर्क छ ।


मानव बस्तीभन्दा ५ किमि पर सञ्चालन गर्नुपर्ने मापदण्ड भए तापनि श्रीमाया ग्यास मानव बस्तीको बीचमा सञ्चालनमा रहेकाले यस्ता मापदण्डविपरीत खोलिएका ग्यास कम्पनी बन्द गरिनुपर्ने १ सय ६० घरधुरीद्वारा हस्ताक्षरित विज्ञप्तिमार्फत भनिएको छ । आफूहरूको मागलाई गम्भीरताका साथ नहेरिए ग्यास कम्पनीविरुद्ध कडा रूपमा प्रस्तुत हुने चेतावनीसमेत दिएको छ ।


थपिँदै ६ ग्यास उद्योग

राजधानीलगायत मुख्य सहरहरूलाई आफ्नो बजार बनाएका ग्यास उद्योगहरूले न्यूनतम सुरक्षा मापदण्ड पनि पूरा गरेको पाइँदैन । मुग्लिनदेखि नौबिसेसम्म सञ्चालित १९ वटा खाना पकाउने ग्यास, प्लास्टिक उद्योगहरूले न त उद्योग वरपरका समुदायको सुरक्षा अपनाएका छन् न त उद्योगमै काम गर्ने कर्मचारीहरूको सुरक्षा नीति अवलम्वन गरेका छन् ।


पृथ्वीराजमार्ग वरपर सञ्चालित निकै जोखिमयुक्त उद्योगहरू सञ्चालन अनुमति लिने बेलाका लिखित सर्तहरू कसैले पनि पालना गरेको पाइँदैन । जोखिमयुक्त पुराना उद्योगहरूकै प्रभावकारी अनुगमन नहुँदा धादिङस्थित राजमार्ग वरपर थप ६ वटा नयाँ ग्यास उद्योग र नागढुंगा उकालोमा अक्सिजन ग्यास उद्योग निर्माण भइरहेका छन् ।


चितवनको मुग्लिनदेखि जोगीमारासम्म ६ वटा र धादिङ खण्डमा मात्रै १३ वटा ग्यास उद्योगहरू र ३० वटा पेट्रोल पम्प, प्लास्टिक बनाउने कारखानाजस्ता जोखिमयुक्त उद्योग सञ्चालनमा छन् । गर्मी मौसममा उद्योगका ग्यास बुलेटलाई पानीका फोहरा दिएर चिसो बनाउने र हरेक उद्योगहरूमा अग्नि नियन्त्रणका पर्याप्त उपकरणहरू जडान गर्नुपर्छ ।


बाह्रै महिना पानीको पर्याप्त व्यवस्था गरेको हुनुपर्ने, उद्योग परिसरका विभिन्न स्थानमा आगो नियन्त्रण गर्ने उपकरणहरू जडान गरेको हुनुपर्नेमा अधिकांश उद्योगहरूमा पानीसमेत व्यवस्था हुँदैन । ‘उद्योग वरपरको बस्तीको सुरक्षा त परै जाओस्, काम गर्ने आन्तरिक कर्मचारी र मजुदरहरूसमेत आफ्नै सुरक्षा प्रबन्धबिना काम गरेको पाइन्छ,’ स्थानीय प्रशासनका एक अधिकृतले भने ।


हरेक दिन पृथ्वीराजमार्गमा ५० वटा भन्दा बढी बुलेटले ग्यास ओसार्ने गरेका छन् । एक वर्षमा ६ वटा जति बुलेट दुर्घटनामा पर्ने र मानवीय क्षतिसमेत हुने गरेको छ । उच्च जोखिमका कारण ग्यास बुलेटको दुर्घटनाले कतिपय बेला घण्टौंसम्म राजमार्ग नै अवरुद्ध हुने गरेको छ ।

प्रकाशित : मंसिर २, २०७५ १०:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?