कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अशक्त छोरा स्याहार्दै वृद्धा

वृद्धा आमाको सहारामा बाँचिरहेका केशर केही बोल्न सक्दैनन् ।

ज्यामिरे, सिन्धुपाल्चोक — च्यातिएको जस्तापाताको टहराभित्र बाख्राखोर छ । छेउमै भाँचिनै लागेको थोत्रो खाट । चिसो सिरेटो पस्न थालेपछि चिस्यान केन्द्रजस्तै हुन्छ टहरा ।

अरूको त्यही टहरामा आश्रय लिएर बसेका मेलम्ची नगरपालिका पांग्रेटोल ज्यामिरेगाउँका केशरबहादुर खड्का । उनी छरिएका कपडा हेरेर रोइरहेका थिए । ८ वर्षको उमेर नहुँदै बाबु बिते । दुई खुट्टाबाहेक अरू अंग चल्दै चल्दैनन् । वृद्धा आमाको सहारामा बाँचिरहेका केशर केही बोल्न सक्दैनन् ।


‘मलाई त लोग्नेसँगै संसारबाट बिदा हुन मन थियो, यही अपांग छोराको मायाले मेलापातमा घोटिरहेकी छु,’ आमा नन्दकुमारीले आँसु खसाल्दै भनिन्, ‘म मरेपछि यसलाई कसले पाल्ला भन्ने पीर लाग्छ ।’ आफ्नो नाममा एक इन्च जग्गा नभएको कारणले समाजमा हेलोहोचो सहनुपरेको उनले सुनाइन् ।


सबै जग्गाजमिन बाजे, हजुरबुबाको नाममा छ । त्यही जमिन पनि बोल्नसक्नेले आ–आफूले भाग लगाएर कमाई खाए । सबै बेहाल भएको देखेर बोल्न सक्ने नहुँदा उनले आफ्नो अधिकार पाएकी छैनन् । ‘भाग्यले ठगेपछि आफ्नो भन्ने कोही हुन्न रहेछ, सबै धनको पछाडि लाग्ने रहेछन्,’ उनको तर्क थियो ।


६५ वर्षकी नन्दकुमारी चिसो टहराको कारणले धेरै पटक बिरामी परिन् । कति साँझ भोकै गुजारेको क्षण सम्भँmदा उनका आँसु रोकिँदैनन् । ‘अपांग छोराले पाउने भत्ता उसैको उपचारमा ठिक्क हुन्छ,’ उनी भन्छिन् । एक्लो छोरा नन्दकुमारलाई समयसमयमा ज्वरो र आफूलाई दमले सताउने गरेको उनको भनाइ छ ।


भूकम्पले पुख्र्यौली घर भत्काएपछि उनीहरूको दु:खमाथि दु:ख थपिएको छ । एक वर्ष भत्केकै घरमा बसिरहेका उनीहरूले बल्ल दुई वर्षपछि टहराको बास पाए । कष्टकर जीवन झेल्दै अरूकै टहरामा आश्रय लिएर आमाछोरा बसेको चार वर्ष बितिसकेको छ ।


भूकम्पपीडितको लाभग्राहीमा नाम छुटेपछि उनी झनै अन्योलमा छिन् । सरकारी अनुदानको आसमा बसेकी उनले छुट विवरणमा गुनासो भरेको बताइन् ।

प्रकाशित : मंसिर ३, २०७५ ०७:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?