कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नमुना बन्दै ठूलोगाँउ

रसुवा — जिल्लाको ठूलोगाउँमा अहिले सिमेन्ट, इँटा, बालुवा र रडको प्रयोग गरेर नयाँ घर बनिसकेका छन् । यहाँका स्थानिय भूकम्पपछि गाउँलाई पुनर्निर्माण गरेर नमुना बनाउन जुटेका थिए । पुनर्निर्माणसँगै उत्तरगया गाउँपालिका ३ ठूलोगाउँ अहिले नमुना बनेको हो ।

भूकम्पमा परेर उक्त गाउँमा ५४ जनाको मृत्यु भएको थियो । गाउँका ९९ सय प्रतिशत घर पूर्णरूपमा क्षति भएका थिए । भूकम्प जानुभन्दा अगाडि गाउँमा ढुंगा र माटोले बनेका पुराना घर थिए । गुरुङ समुदायको बाहुल्य रहेको यो गाउँ सांस्कृतिक रूपमा धनी छ ।


२०७२ वैशाख १२ र २९ गतेको भूकम्प र त्यसपछिका पराकम्पले रसुवा जिल्लामा ठूलो धनजनको क्षति हुन पुग्यो । भूकम्पले धेरै भौतिक तथा मानवीय क्षति भएको गाउँमध्ये यो पनि एक हो ।

निजी आवास पुनर्निर्माण र गाउँलाई नमुना बनाउन नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रसुवाले सहयोग गरेको शाखाका सभापति बाबुलाल तामाङले बताए । स्पेनिस तथा अमेरिकन रेडक्रसको आर्थिक सहयोगमा नमुना गाउँ बनाउने अभियानसहित उत्तरगया गाउँपालिका ३ ठूलोगाउँको पैरेटोलमा विभिन्न गतिविधि सञ्चालन गरिएको छ ।


गाउँ नमुना बनाउन रेलिङसहितको पक्की गोरेटो बाटो निर्माण भएको छ । गाउँलाई सफा राख्न ठाउँठाउँमा डस्टबिन राखिएका छन् । ३१ वटा घरमा भाँडा माझ्ने र सुकाउने ठाउँ निर्माण गरिएका छन् । त्यस्तै ३१ घरलाई नमुनाका रूपमा सुँगा कलर गरिएको छ । गोरेटो बाटोको दायाँबायाँ फूलका बिरुवा रोपिएको छ ।


गाउँमाझमा पक्की गोरेटो बाटो बनेपछि स्थानीयमा खुसी छाएको छ । आधुनिक गोरेटो बाटोले वृद्धवृद्धा, बालबालिका लगायतलाई हिँड्न सजिलो भएको छ । निजी आवास पुनर्निर्माण सम्पन्न गरेका उत्तरगया ३ ठूलोगाउँका हरिबहादुर गुरुङले भने, ‘घरमा अब होमस्टे सञ्चालन गर्ने योजना बनाएको छु ।’


गोरेटो बाटोको दायाँबायाँ रोपिएका फूलका बिरुवाले गाउँलाई सुन्दर बनाएको छ । उक्त गाउँको पुच्छारदेखि सिरान टोलसम्म रेलिङसहित बनाइएको पक्की गोरेटो बाटोको लम्बाइ ५ सय ७५ मिटर छ । गाउँको सिरानमा प्रसिद्ध धार्मिक तीर्थस्थल भुमेस्थान रहेको छ ।


ठूलोगाउँलाई पर्यटन प्रवद्र्धन गर्न धार्मिक तीर्थस्थल भुमेस्थानसँग जोड्न आवश्यक रहेको वडाअध्यक्ष लालबहादुर तामाङले बताए । ‘पर्यटनका माध्यमबाट ठूलोगाउँलाई समृद्ध बनाउन नमुना बस्ती र भुमेस्थान कोसेढुंगा सावित हुन सक्छ,’ उनले भने ।


रेडक्रस सोसाइटी जिल्ला शाखा रसुवाले साविकको ठूलोगाउँका भूकम्प पीडितहरूलाई अनुदान उपलब्ध गराएर ३ सय ५९ वटा निजी आवास निर्माण भइसकेका छन् । ठूलोगाउँका भूकम्प पीडितहरूको निजी आवास निर्माण गर्न सरकारले दिने ३ लाख अनुदान रकम अमेरिकन रेडक्रसको आर्थिक सहयोगमा रसुवा रेडक्रसले उपलब्ध गराएको हो । ठूलोगाउँमा ४ सय ५५ जना लाभग्राही छन् । त्यसमध्ये ४ सय ४७ जना लाभग्राहीसँग अनुदान सम्झौता गरी पहिलो किस्ताबापत्को ५० हजार रुपैयाँ उपलब्ध गराइएको छ ।


दोस्रो किस्ता लिने लाभग्राहीहरूको संख्या ४ सय २२ छ । ३ सय ५९ जना लाभग्राहीले तेस्रो किस्ता पाइसकेका छन् । ८ जना लाभग्राही अनुदान सम्झौता गर्न नआएका रेडक्रसका सेल्टर अधिकृत सञ्जयकुमार साहले बताए ।

प्रकाशित : मंसिर १२, २०७५ ०८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?