कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

महायज्ञबाट २० करोड उठाउने लक्ष्य

रमेशकुमार पौडेल

चितवन — भरतपुरको पुरानो मन्दिर गणेशस्थानलाई धाम बनाउन आर्थिक संकलन गर्ने उद्देश्यले शनिबारदेखि महायज्ञ सुरु भएको छ । भरतपुर बाइपास रोडदेखि केही भित्र रहेको गणेशस्थानमा ८० करोड रुपैयाँ खर्च गरेर भव्य धाम बनाइँदै छ ।

महायज्ञबाट २० करोड रुपैयाँ संकलन गर्ने लक्ष्य रहेको यज्ञ आयोजक समितिका संयोजक दिनेशकुमार चुकेले जानकारी दिए । जुन रकम पहिलो चरणको कामलाई खर्च हुनेछ ।


प्रदेश–३ का मुख्यमन्त्री डोरमणि पौडेलले महायज्ञको उद्घाटन गरे । गणेशस्थानलाई धाम बनाउने बारेको योजना सुनेरै प्रदेश सरकारले ९० लाख रुपैयाँ बजेट दिएको मुख्यमन्त्री पौडेलले बताए । प्रदेश सरकारले धामलाई पूर्ण बनाउन थप बजेटको व्यवस्था गर्ने उनले आश्वासन दिए ।


गणेशस्थानको नजिकै प्रसिद्ध धार्मिक स्थल देवघाट पनि छ । मुख्यमन्त्री पौडेलले देवघाटसँग यो धामलाई पनि जोड्न सुझाव दिए ।


‘देवघाटधाम हिन्दुहरूका लागि निकै महत्त्वपूर्ण तीर्थस्थल हो । नेपालका मात्रै नभएर भारतीय श्रद्धालुहरू यहाँ आउँछन् । यसको व्यपाक प्रचार भए धेरैभन्दा धेरै धार्मिक पर्यटक ल्याउन सकिन्छ । देवघाटसँग गणेशधामलाई पनि जोडेपछि यहाँको पर्यटनले फड्को मार्छ’ मुख्यमन्त्री पौडेलले भने ।


भरतपुर महानगरपालिका–११ भोजाडमा रहेको गणेश मन्दिर पाल्पाली सेनवंशी राजाको पालामा बनेको विश्वास छ । यस ठाउँमा वि.सं. २०१४ सालमा स्थानीयले रुखको फेदमा गणेशको अर्धकदको मूर्ति फेला पारेका थिए । त्यसपछि यहाँ नियमित पूजा हुँदै आएको छ ।


अहिले पनि विवाहलगायत गणेशसँग सम्बन्धित धार्मिक कार्यका लागि यो मन्दिरमा आउने भक्तहरू धेरै नै छन् । ०६४ सालमा गणेशस्थान मन्दिर संरक्षण समिति गठन भएपछि चहलपहल झनै बढेको स्थानीयहरू बताउँछन् ।


यो मन्दिरसँग अहिले साढे दुई हेक्टरको हाराहारीमा जमिन छ । तर ३० हेक्टर जमिन लिएर गणेशधाम बनाउन लागिएको हो । यसका लागि आडैमा रहेको नवजागृति र जलदेवी सामुदायिक वनसँग सहकार्य गरेर क्षेत्र विस्तार गरेको गणेशस्थान मन्दिर संरक्षण समितिका अध्यक्षसमेत रहेका दिनेश चुकेले बताए । यो क्षेत्रमा २५ बिघाको तलाउ र त्यसको बीचमा गणेशको मूर्ति रहनेछ । तलाउका साथै गणेशको मूर्ति अन्यत्र पनि रहनेछ ।


‘एउटा ३० फिट अग्लो गणेशको विशाल मूर्तिी राख्नेछौं । शिव–पार्वती बस्ने कैलाश पर्वतको स्वरूप बनाएर त्यहाँ पनि गणेशको मूर्ति रहनेछ,’ गुरुयोजनाका बारेमा बताउँदै चुकेले भने । मृग र हात्तीका मूर्तिहरू बन्नेछन् । विवाह लगायतका अन्य धार्मिक काम गर्न सभा भवनहरू बन्नेछन् । जलाशयको वरपर साइकल र पैदल हिँड्ने मार्ग बनाइने चुकेले जानकारी दिए ।


गणेशस्थान पवित्र धामिक क्षेत्र देवघाटदेखि पाँच किलोमिटर मात्रै टाढा छ । ‘भौतिक संरचनाहरू व्यवस्थित भएको आध्यात्मिक क्षेत्रको रूपमा गणेशधामलाई विकास गर्ने योजना हो । देवघाट, लुम्बिनी, पशुपति, जनकपुर जाने पर्यटकहरू, तीर्थयात्रीहरू पनि यहाँ पसेर मग्न हुनेछन्,’ समितिका अध्यक्ष दिनेशकुमार चुकेले भने । पण्डित दीनबन्धु पोखरेलले पुराण भन्ने महायज्ञ २९ गतेसम्म चल्नेछ ।

प्रकाशित : मंसिर २३, २०७५ ०७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?