कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

धुलिखेल अस्पताल : २२ वर्षमा ४० लाखलाई सेवा

काभ्रे — स्थापनाको २२ वर्षको अवधिमा धुलिखेल अस्पतालले करिब ४० लाख बिरामीलाई सेवा दिएको छ । २०५३ सालमा सामुदायिक अस्पतालको रूपमा स्थापना भएको अस्पतालले ७७ वटै जिल्लावासीलाई सेवा पुर्‍याइसकेको छ । हाल काठमाडौं विश्वविद्यालय अस्पतालको रूपमा  छ । 

स्कुल अफ मेडिकल साइन्सेजका डिन डा. राजेन्द्र कोजूका अनुसार, प्रत्येक वर्ष ३ लाखले सेवा लिने गरेका छन् । ‘पछिल्लो १० वर्षयता वार्षिक ३ लाखले सेवा लिँदै आएका छन्, त्यसअघि बिरामीको चाप, पूर्वाधार र जनशक्ति केही कमी थियो,’ डा. कोजूले भने, ‘अहिले नेपालका जुनसुकै भूभागका मानिसलाई पनि सेवा दिइरहेका छौं ।’ अस्पताले काभ्रेका अलावा सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, भक्तपुर लगायत आसपासका जिल्लाका २५ लाख जनसंख्यालाई आफ्नो कार्यक्षेत्र मानेर काम गर्दै आएको छ ।


अस्पतालका प्रशासकीय निर्देशक डा. रमेश कोजूका अनुसार, अहिले भर्ना र बहिरंग (ओपीडी) विभागमा गरेर दैनिका १ हजार जनासम्मले सेवा लिने गरेका छन् । ‘सुरुका वर्षमा दिनमा ३५ जना जति बिरामी आउँथे, बढेर ५० पुग्यो भने ओहो कति धेरै भन्ने हुन्थ्यो,’ उनले भने, ‘अहिले दैनिक सरदर ७ सय देखि १ हजार बिरामीले सेवा लिनुहुन्छ ।’ अस्पतालले बिहान ९ बजेदेखि बेलुकी ६ बजेसम्म ओपीडीे सेवा दिँदै आएको छ ।


अस्ट्रियामा विशेषज्ञता हासिल गरेर आफ्नै जन्मस्थानमा केही गर्ने उद्देश्यका साथ धुलिखेल आएका डा. रामकण्ठ माकजूको नेतृत्वमा डा. राजेन्द्र कोजू लगायतका स्थानीयको सहभागितामा अस्पताल स्थापना भएको हो । उनले २० वर्ष यही गतिमा काम गर्ने हो भने अस्पतालले नेपाललाई विश्वसामु चिनाउन सक्ने दाबी गरे । ‘नेपाललाई विश्वले चिन्ने थोरै कुरा मात्रै छन्,’ उनले भने, ‘यही गतिमा काम गर्ने हो भने अस्पतालले पनि नेपाललाई विश्वसामु चिनाउन के नसक्ला र ?’


उनले अठोट र आत्मविश्वास भए सबै कुरा सम्भव भएको बताए । ‘१८ वर्षअघि बुबाको रेनल क्यान्सरको उपचार धुलिखेलमा नै गराउँदा आफ्नै बुबाको पनि यही अस्पतालमा गराउने हो र भनेर प्रश्न गर्थे,’ उनले भने, ‘सबैलाई समान ठानेर काम गरे, ८ जना बिरामी भएको वार्डमा ९ औं बिरामीको रूपमा बुबालाई भर्ना गरेँ ।’


काठमाडाैं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्मा र धुलिखेलका प्रथम मेयर बेलप्रसाद श्रेष्ठले दृढ इच्छाशक्ति, सोच र अठोटका कारण नै २२ वर्षको अवधिमा अस्पतालले यो उचाइ प्राप्त गरेको बताए ।


२२ औं वार्षिकोत्सव मनाउन आयोजित कार्यक्रमम स्थापनाकालदेखि योगदान दिने कन्सट्रक्सन सुपरभाइजर रामगोपाल रञ्जित, इन्जिनियरिङ विभाग प्रमुख गोपालशंकर सैंजू, प्रशासकीय निर्देशक डा. एन शर्मा, नर्सिङ विभाग निर्देशक रेजिना सिंहलाई सम्मान गरिएको थियो ।


दक्षिण एसियामा नै ख्याति कमाएको अस्पतालले विश्वस्तरका उपकरण र प्रविधि प्रयोग गरेर सर्वसुलभ शुल्कमा उपचार दिँदै आएको जनाएको छ ।

प्रकाशित : मंसिर २५, २०७५ ०७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?