कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दस वर्षदेखि पुल अधुरै

पुल तयार भएपछि पश्चिमी रामेछापबाट काठमाडौं पुग्न बढीमा ३ घण्टा लाग्छ । अहिले झन्डै ६ घण्टा लाग्छ ।
टीकाप्रसाद भट्ट

खैरेनी — सुनकोसीको खैरेनीघाटमा मोटरेबल पुल निर्माण गर्न ठेक्का लागेको १० वर्ष बितेको छ । पश्चिमी रामेछापेली एक दशकदेखि पुल बन्ने आशामा छन् । पुल अझै तयार भएको छैन ।

दस वर्षदेखि पुल अधुरै

‘यो पटक त पुल तयार होला भन्ने रहर हरेक साल हामीलाई लाग्छ,’ स्थानीय जंगबहादुर माझी भन्छन्, ‘तर दस वर्ष भो रहर मरेको मर्‍यै छ । यतिका वर्ष हेर्दा हेर्दा आँखै तानिए, पुलचाँहि बनेको छैन ।’


पुल नहुँदा स्थानीय बासिन्दा हैरानीमा छन् । जिल्ला सदरमुकामबाट बीपी राजमार्ग हुँदै छोटो मार्ग भएर पुग्ने हैन, खैरेनीको पुल नबन्दा आधाभन्दा बढी समय लगाएर काठमाडौं पुग्नुपर्ने बाध्यता स्थानीयलाई छ । उक्त पुल तयार भएपछि पश्चिमी रामेछापबाट काठमाडौं पुग्न बढीमा ३ घण्टा लाग्छ । अहिले झन्डै ६ घण्टा लाग्छ । त्यस क्षेत्रका बासिन्दा सित्खाको पुल तरेर घुम्छन् । जब कि दैलोमा भएको पुल १० वर्षदेखि अधुरो छ ।


खैरनी पुलले बीपी राजमार्गसँग रामेछाप जोडिएपछि बेथान, खनियाँपानी, राकाथुम, हिलेदेवी, लखनपुर, टोकरपुर, खाँडादेवी, गौश्वारा, गुन्सी, दोरम्बा दिमीपोखरी लगायतका साविकका गाविसका बासिन्दाले प्रत्यक्ष फाइदा लिन पाउने छन् ।


उक्त क्षेत्रमा उत्पादन भएको तरकारी, गेडागुडी, काठमाडौं लैजान सहज हुने छ । ‘सुनापाती, दोरम्बा र खाँडादेवी गाउँपालिकामा निर्माण सामग्री र खाद्यान्न ढुवानीका लागि हालसम्म भोग्नुपरेको कष्ट सदाका लागि खैरेनी पुलले अन्त्य गर्छ,’ सुनापाती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनील निरौला भन्छन्, ‘यो वर्ष जसरी पनि पुलको काम पूरा हुनुपर्छ ।’


सडक विभागले सुनकोसीको खैरेनीमा पुल निर्माणका लागि आर्थिक वर्ष २०६४/०६५ मा ठेक्का लगाएको हो । २ वर्षमा सक्नुपर्ने उक्त पुलको पटकपटक म्याद थप गरे पनि निर्माण पूरा भएको छैन । ‘यो वर्षचाहिँ सक्ने लक्ष्य लिएर काम सुरु भएको छ,’ डिभिजन सडक कार्यालय खुर्कोटका इन्जिनियर मनीषमान शाक्यले भने ।


सुरुमा वेल फाउन्डेसनको (पुलको जग) डिजाइन भएको उक्त पुलमा वेल नधसिएपछि डिजाइन परिवर्तन भएको हो । ‘काम गर्दै जाँदा वेल धसिएन त्यसैले ढिला पनि भयो,’ निर्माण व्यवसायी कन्नाई जेभिका राम मैनालीले भने, ‘पछि डिजाइन परिवर्तन भएपछि काम अघि बढेको हो । परिवर्तित डिजाइनमा वेल हटाएपछि जग पूरा गरिएको छ ।’


खैरेनी पुलमा आरसिरी स्याब र स्टिल ट्रस दुवैको काम गर्नुपर्नेमा गत वर्ष आरसिसी ल्याब सकिएको छ । पुलको उत्ततर्फको भागमा स्टिल ट्रस जडान गर्ने काम बाँकी छ । मैनाली भन्छन्, ‘ट्रस निर्माण स्थलमा झरिसकेको छ, केही दिनमा काम सुरु गर्दै छौं ।’ चितवनको जलप नेपालले उक्त ट्रस निर्माण गरेको हो । पुल जोड्नका लागि पनि उक्त कम्पनी नै आउनु पर्ने मैनालीले बताए ।


‘जति वर्ष ढिला भयो भयो अब हँुदैन,’ मैनाली भन्छन्, ‘यो आर्थिक वर्षमा गाडी गुडाइदिन्छु, विगतमा डिजाइन, निर्माण व्यवसायी, ट्रस निर्माता सबैको कमी कमजोरी भयो होला,’ उनले भने, ‘अब स्थानीयको गुनासो हुन नदिने गरी काम गरेर देखाइन्छ ।’ डिभिजन सडक कार्यालय खुर्कोटका प्रमुख सञ्जीव मिश्रले खैरेनी पुल निर्माणका लागि कार्यालयले प्राथमिकता दिएर काम गर्ने बताए ।


‘पुल सुरु भएको धेरै वर्षसम्म नसकिँदा नागरिकमा निराशा देखिनु स्वाभाविकै हो,’ मिश्रले भने, ‘अर्को साल यस्तो गुनासो आउन नदिने गरी काम गर्छौं ।’ करिब ८३ मिटर लामो पुल निर्माणमा कन्काई, लामा खम्पाचे निर्माण सेवाले ठेक्का लिएको हो । खम्पाचे र लामा निर्माण सेवाका व्यवसायीले हात झिकेपछि कन्काई निर्माण सेवाले काम गर्दै आएको छ ।

प्रकाशित : मंसिर २५, २०७५ ०७:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?