कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पप्पुले पाउने भएकाे राष्ट्र बैंककाे बालुवाटार भवन निर्माण अनिश्चित

विमल खतिवडा

काठमाडौँ — असोजमा निर्माण थालिएको थापाथलीस्थित राष्ट्र बैंक भवनको अहिले फाउन्डेसन बन्दै छ । सँगैजस्तो टेन्डर भएको राष्ट्र बैंककै बालुवाटार भवनको भने सुरसारै छैन ।

पप्पुले पाउने भएकाे राष्ट्र बैंककाे बालुवाटार भवन निर्माण अनिश्चित

विवादित पप्पु कन्स्ट्रक्सनले निर्माण ठेक्का पाउने निश्चित भएपछि काम रोकिएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गतको सम्पदा संरक्षण, सार्वजनिक भवन तथा पूर्वाधार महाशाखाले अझै ठेक्का टुंग्याउन सकेको छैन । पप्पुले ठेक्का लिएका पुल, सडक समयमै नसकेको, गुणस्तरहीन काम गरेको समाचार आएपछि प्राधिकरण अन्योलमा परेको थियो ।

प्राधिकरणले आफूले नसकेपछि निर्णय गरिदिन माग गर्दै दसैंअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पत्र पठाएको थियो ।

पूर्वाधार महाशाखाका सीडीई धु्रवप्रसाद पौडेलका अनुसार मंसिर दोस्रो साता पत्रको जवाफ आए पनि त्यसमा प्रधानमन्त्री कार्यालयबाट खासै रेस्पोन्स देखाइएको छैन । ‘जवाफ माग्ने र पठाउने काम भएको छ,’ उनले भने, ‘के गरी गर्ने भनेर निर्णय आएको छैन ।’ पत्र पेस गर्नुको आधार माग्दै प्रधानमन्त्री कार्यालयले पठाएको पत्रको जवाफसमेत तीन दिनअघि नै पठाइसकिएको उनले बताए ।

चिनियाँ कम्पनी एसआरबीसीसँग मिलेर भवन बनाउन पप्पुले २ अर्ब ६ करोडमा ठेक्का हालेको थियो । अन्य निर्माण कम्पनीले २ अर्ब ८ करोडदेखि २ अर्ब ४४ करोडसम्म प्रस्ताव पेस गरेका थिए । ‘पप्पुको पक्ष र विपक्षमा धैरै समाचार आए, सार्वजनिक खरिद अनुगमन कार्यालयले समेत सूचना निकाल्यो, त्यसका आधारमा उसलाई दिन मिल्ने/नमिल्ने भन्नेबारे कन्फयुज भयो, जसले गर्दा प्राधिकरणले निर्णय गर्न सकेन,’ पौडेलले भने, ‘नीतिगत निर्णय गर्ने निकाय मन्त्रिपरिषद् नै हो, त्यही भएर निर्णय गर्न माग राखी कारण खुलाएर पत्र पठाएका हौं ।’

निर्णयमा ढिलाइले भवन निर्माणको समय पछि धकेलिएको उनले बताए । कागजपत्रका आधारमा पप्पुले नै ठेक्का पाउने सम्भावना बलियो रहेको पनि उनले जनाए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले पत्र आए पनि के भइरहेको छ भन्ने जानकारी नभएको बताए । ‘पत्र पहिला नै आएको हो,’ उनले भने, ‘के भइरहेको छ भन्ने अपडेट छैन, छलफलकै क्रममा हुनुपर्छ ।’ टेन्डर आह्वान गत असारमा गरिएको थियो ।

सहभागी १२ कम्पनीमध्ये सबैभन्दा कम दररेट पप्पुले प्रस्ताव गरेको थियो । थापाथलीको भवन भने वैशाखमा टेन्डर आह्वान गरिएको थियो । उक्त भवन ३० महिनाभित्र सक्ने गरी १ अर्ब ८७ करोडमा बिलिल कन्टेक जेभीले ठेक्का लिएको छ ।

सबैतिर बद्नाम भएको निर्माण व्यवसायीलाई राष्ट्र बैंकजस्तो भवन निर्माणको जिम्मा दिनेबारे पूर्वगभर्नर, बुद्धिजीवीले समेत चासो जनाएका थिए । पप्पुले बनाएको बर्दियाको बबई पुल गुणस्तरहीन पाइएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयोजना प्रमुख, कर्मचारी र ठेकेदारविरुद्ध मुद्दा दायर गरेको छ ।

आयोगले गत असोज १९ गते पप्पुका तत्कालीन अध्यक्ष हरिनारायण र अध्यक्ष उनका छोरा सुमित रौनियारसहित १२ जनाविरुद्ध विशेष अदालतमा मुद्दा हालेको हो । मुद्दासँगै हरिनारायणको सांसद निलम्बनमा परेको छ ।

प्रकाशित : मंसिर २७, २०७५ ०७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?