कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एसिड प्रहार घटनामा कुटपिट ठहर

रमेशकुमार पौडेल

चितवन — बहालवाला प्रहरी नायव निरीक्षक (सई) ले महिलामाथि एसिड प्रहार गरे भनिएको घटनालाई अदालतले कुटपिट ठहर गरेको छ ।

वैशाख ९ गते भरतपुर महानगरपालिका–१० त्रिचोकमा एक महिलामाथि एसिड खन्याएको आरोपमा रत्ननगरमा कार्यरत ट्राफिक प्रहरीका प्रहरी नायव निरीक्षक (सई) रामचन्द्र खनियाँ समातिएका थिए । सई खनियाँमाथि ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा दायर भएको थियो ।


चितवन जिल्ला अदालतका न्यायाधीश विनोदकुमार गौतमले बिहीबार यो मुद्दा कुटपिटमा परिणत हुुने फैसला गरेको अदालतका सूचना अधिकारी केशव पौडेलले जानकारी दिए । सई खनियाँविरुद्ध जेठ ३ गते चितवन जिल्ला अदालतमा मुद्दा दायर भएको थियो ।


मुद्दा दायर भएपछि उनलाई पुर्पक्षका लागि थुनामा राख्न भरतपुर कारागार चलान गरिएको थियो । पछि उच्च अदालतले खनियाँलाई धरौटी लिएर तारेखमा छाड्न भनेको थियो ।


‘ज्यान मार्ने उद्योगअन्तर्गतका गतिविधिहरू नभएको अवस्थामा मुद्दा कुटपिटमा परिणत भएको हो । अब यो निर्णय चित्त नबुझेर अपिल भएमा जिल्ला अदालतको फैसला सदर नभए मात्रै यो सरकारवादी मुद्दा रहन्छ । नभए व्यक्तिवादी मुद्दामा परिणत भयो,’ चितवन जिल्ला अदालतका सूचना अधिकारी केशव पौडेलले भने । बहालवाला प्रहरीले नै महिलामाथि एसिड प्रहार गरेको भनेर खबरले सबैको ध्यान तानेको थियो ।


गोरखा स्थायी घर भई भरतपुरमा डेरामा बस्दै आएकी २८ वर्षीया कल्पना श्रेष्ठमाथि सई खनियाँले एसिड खन्याएको चितवन प्रहरीले जानकारी दिएको थियो । उनको लामो समयसम्म भरतपुर अस्पतालमा उपचार भएको थियो ।


‘महिलामाथि खन्याइएको रसायन एसिड नभएको प्रमाणित भएको थियो । यसैका आधारमा यो मुद्दा ज्यान मार्ने उद्योग नहुने ठहर भएको हुनुपर्छ,’ अभियुक्त सई खनियाँका तर्फबाट बहस गरेर अधिवक्ता जगन्नाथ भण्डारीले भने । सई खनियाँले कल्पनालाई आफूले दुई लाख रुपैयाँ ऋण दिएको र फिर्ता माग्दा दिन आनाकानी गर्दै आएको बयान दिएका थिए ।

प्रकाशित : मंसिर २८, २०७५ ०७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?