कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सञ्चालन भएन मैलुङ–स्याफ्रुबेंसी सडक

बलराम घिमिरे

रसुवा — मैलुङ–स्याफ्रुबेंसी सडक करिब ६ महिनादेखि बन्द छ । ठाउँठाउँमा पहिरो जाँदा करिब ६ महिनादेखि उक्त सडक खण्ड अवरुद्ध रहेको भएको हो ।

सञ्चालन भएन मैलुङ–स्याफ्रुबेंसी सडक

नेपाली सेनाले निर्माण गरेको मैलुङ–स्याफ्रुबेंसी सडक खण्डको लम्बाइ १७ किलोमिटर छ । उक्त सडक सेनाले निर्माण सम्पन्न गरेर गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबोसी–रसुवागढी सडक आयोजनालाई हस्तान्तरण गरिसकेको छ । गत जेठमा उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले उद्घाटन गरेका थिए ।

नयाँ ट्रयाक भएकाले वर्षात्को समयमा पहिरो झर्ने हुँदा उक्त सडक खण्डमा यातायात सञ्चालन गर्न रोक लगाइएको थियो । हिउँदको समयमा पनि सडक बन्द हुँदा स्थानीय र व्यापारीहरूले गुनासो गर्न थालेका छन् । बर्खाको ‘समयमा पहिरो जाने भएकाले सडक खुलेन । हिउँदको समयमा सडक सञ्चालन नहुँदा हामीलाई समस्या परेको छ,’ एक स्थानीयले भने ।


माघ अगाडि नै अवरुद्ध सडक खोल्न सुरु गरिने गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक आयोजनाका प्रमुख सुबोधकुमार देवकोटाले बताए ।


मैलुङ–स्याफ्रुबेंसी सडकको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) संशोधन गर्ने काम सकिएको छ । पहिरोले अवरुद्ध पारेको सडक खोल्न अध्ययन भइरहेको उनले बताए । पहिरोले सडकमा थप क्षति गरेपछि गत असारमा तयार पारिएको डीपीआर संशोधन गरिएको हो । ‘सडकको डीपीआर संशोधन गर्ने काम सकिएको छ,’ उनले भने, ‘अब छिट्टै नै टेन्डरको काम सुरु हुन्छ ।’ कात्तिकबाट स्तरोन्नतिको काम अघि बढ्ने गरी तयारी गरे पनि डीपीआरको काम पूरा नभएकाले काम पछि धकेलिएको आयोजनाले बताएको छ ।


गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक निर्माण सम्पन्न भएपछि काठमाडौंलाई चीनसँग जोड्ने सबैभन्दा छोटो मार्ग हुनेछ । काठमाडौंबाट गल्छी, त्रिशूली, बेत्रावती, मैलुङ स्याफ्रुबेंसी हुँदै रसुवागढी सजिलै पुग्न सकिन्छ । सडक निर्माण सम्पन्न भएपछि रसुवागढीदेखि धादिङको गल्छीसम्मको दूरी करिब ८४ किलोमिटरको हुनेछ । गल्छीबाट काठमाडौंसम्मको दूरी ५० किलोमिटर रहेको छ ।


बेत्रावती कालिकास्थान धुन्चे हुँदै स्याफ्रु पुग्न ५४ किलोमिटर पार गर्नुपर्छ । बेत्रावती मैलुङ स्याफ्रुबेंसीको दूरी २९ किलोमिटर मात्रै छ । यो सडक बेत्रावती कालिकास्थान धुन्चे हुँदै स्याफ्रु जोड्ने सडकभन्दा २५ किलोमिटर छोटो हुनेछ । पासाङल्हामु मार्गको बेत्रावतीदेखि धुन्चे हुँदै स्याफ्रुबेंसी पुग्न ३५ वटा कठिन घुम्ती पार गर्नुपर्ने हुन्छ ।


बेत्रावतीदेखि मैलुङ हुँदै स्याफ्रुसम्म पुग्न गाडीलाई कुनै पनि घुम्ती पार गर्नु पर्दैन । काठमाडौंबाट चीनको केरुङ करिब ४ घण्टामा पुग्न सकिनेछ । गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक दक्षिण एसिया जोड्ने लाइफ लाइनको रूपमा रहनेछ ।


गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक बनेपछि उत्तर (चीनको केरुङ) र दक्षिण (भारतको ठोरी) जोडिने सबैभन्दा छोटो त्रिदेशीय सडक हुनेछ ।


पर्साको ठोरीबाट चितवनको भण्डारा–गल्छी हुँदै त्रिशूली बेत्रावती–मैलुङ–स्याफ्रबेंसी मार्ग सञ्चालन हुँदा चीन र भारतबीचको दूरी करिब दुई सय ३० किलोमिटर हुनेछ ।

प्रकाशित : पुस ८, २०७५ ०९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?