कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मनाङमा भारी हिमपात

जनजीवन प्रभावित
कान्तिपुर संवाददाता

लमजुङ — बस्तीसम्मै हिमपात भएपछि मनाङको जनजीवन प्रभावित भएको छ । आइतबार रातिदेखि मनाङका विभिन्न भागमा हिमपात भएको हो । सोमबार दिउँसो भने हिमपात केही कम भएपछि पर्यटक र स्थानीयले हिउँ खेलेर मज्जा लिएका छन् ।

मनाङमा भारी हिमपात

तल्लो मनाङमा पर्ने नासोङ गाउँपालिकाबाहेक अन्य चार गाउँपालिकाका सबै क्षेत्रमा हिमपात भएको स्थानीयले बताएका छन् । नासोङ गाउँपालिकाको बस्तीसम्म हिउँ नपरे पनि डाँडाहरू भने हिउँले सेतै भएका छ । चामे गाउँपालिकाको तिमाङ, थान्चोकदेखि माथिल्लो क्षेत्रमा हिमपात भएको छ ।

हिमपातसँगै बढेको चिसोका कारण नारफूबाट मान्छेको आउजाउ बन्द छ । माथिल्लो मनाङको नेस्याङ गाउँपालिका क्षेत्रमा पदमार्ग, सडक साथै बस्ती नै ढाकिने गरी हिमपात भएको पिसाङका याङडुङ गुरुङले बताए । उनका अनुसार माथिल्लो क्षेत्रमा हिमपात सोमबार पनि रोकिएन । ‘हिमपातले मान्छे बाहिर निस्कन सकेको छैन । तर, खेतीका लागि भने राम्रो भयो’ उनले भने, ‘हिउँ परेपछि माटो चिसो गरी भिजेको छ । सुख्खा माटो चिसो भएपछि बालीनाली सप्रिन्छ ।’ उनले पदमार्ग तथा सडक नै ढाकिने गरी हिमपात भएको बताए ।

स्थानीयका अनुसार हिमपात भइरहेकाले याक–चौंरी तथा भेडाच्याङ्ग्रा चराउन असहज भएको छ । हिमालको फेदबाट बस्ती नजिकै ल्याइएका चौपायलाई आहरा खुवाउन समस्या परेको गुरुङले बताए । मनाङका निमित्त प्रमुख जिल्ला अधिकारी जयराज भण्डारीले सदरमुकाम चामेमा आइतबार रातिदेखि नै हिमपात भएको बताए ।

हिमपातका कारण स्थानीय साथै कार्यालयका कर्मचारी बाहिर निस्कन सकेका छैनन् । ‘कहिले रोकिने र कहिले हिउँ पर्ने गरेको छ । हामी अफिसदेखि बाहिर निस्कन सकेका छैनौं’ उनले भने । हिमपातका कारण माथिल्लो मनाङ क्षेत्रमा सवारी आवागमत ठप्प छ ।

माथिल्लो मनाङमा २ इन्च र चामेतिर १ इन्च हिउँ जमेको स्थानीयले बताएका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मनाङका प्रमुख बाबुलाल तिरुवाले हिमपातका कारण समस्या हुनसक्ने भन्दै चामेबाटै माथिल्लो क्षेत्रमा पर्यटकलाई नआउन अनुरोध गरेको बताए । माथिल्लो मनाङबाट तिलिचो र थोराङला पासका लागि नजान पनि सल्लाह दिएको उनले बताए । ‘वेदर फरकास्टले १/२ दिन मौसममा अनुकूलता देखाएको छैन । हामीले पर्यटकलाई सचेत गराएका छौं’ उनले भने, ‘पर्यटक जबर्जस्ती जान खोज्छन् । हिमपातले केही भइहाले समस्या पर्नसक्छ ।’

प्रकाशित : फाल्गुन १, २०७४ १०:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?