कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

माझीको स्थायी बासोबास अधुरै

प्रकाश बराल

बागलुङ — जन्मदिन वा विवाहोत्सव भए २५ वर्ष पुगेको खुसीमा रजत जयन्ती समारोह आयोजना हुन्थे । खुसियाली मनाइन्थ्यो । राजमार्ग निर्माणताका पुरानो थलोबाट विस्थापित यहाँका माझी परिवारको थातथलो छुटेको पनि २५ वर्ष पुगेको छ ।

माझीको स्थायी बासोबास अधुरै

उनीहरू घरी ठेकेदारका कुरा सुन्छन्, घरी नगरपालिकाका कुरा । नयाँ बासस्थान पाउने आसमा उनीहरू निरास छन् । राष्ट्रिय राजमार्गको निर्माणले विस्थापित बनाइएका राजु माझी अहिले पनि अस्थायी टहरोमा बस्न बाध्य छन् । उनीजस्तै १४ घरपरिवारले २५ वर्षदेखि छाप्रोमै जीवन बिताइरहेका छन् ।

पोखरा–बागलुङ राजमार्ग निर्माणका क्रममा २०४९ सालमा विस्थापित भएका माझीलाई स्थायी बसोबासमा पठाउने नगरपालिकाको योजना अझै अलमलमै परेको छ । सडकको ट्रयाक खोल्दा उनीहरूको घर भत्काइएको थियो । त्यसपछि अस्थायी बसोबासका लागि बाँगेचउरमा अस्थायी टहरा बनाएर बस्न दिइएको थियो । राजुसँगै छिमेकी सोमबहादुर माझी गएको दसैंमा नयाँ घरमा बस्ने योजनामा थिए । तर, अहिलेसम्म छाप्रामै छन् । २०४९ सालदेखि घरबारविहीन भएका माझीहरूको बस्ती बसाल्न बागलुङ नगरपालिकाले सुरु गरेको बस्ती निर्माण काम अलपत्र भएपछि माझी परिवारले राम्रो ओत नपाएका हुन् । दसैंअघि नै घर बनाएर बस्न दिने आश्वासन दिएको नगरपालिका अहिले ठेकेदारलाई दोष दिन थालेको छ । ठेक्का लिएको कम्पनीले समयमा निर्माण नगरेपछि माझीहरूले यसपटकको जाडो पनि छाप्रोमै काटे ।

सडक बनाउने क्रममा बागलुङ नगरपालिका १ का १४ घरधुरीका झन्डै सयजना हाराहारी माझी पुरानो थातथलोबाट विस्थापित भएका थिए । उनीहरू बाँगेचउरको सार्वजनिक स्थानमा टहरा बनाएर बस्दै आएका छन् । आफ्नो थातथलो छाडेर बस्न बाध्य उनीहरूलाइ भूकम्प प्रतिरोधी भवन बनाएर राख्ने आश्वासनसहित नगरपालिकाले योजना अघि सारेको थियो । घर निर्माणका लागि मुक्तिनाथ बी एन्ड त्रिशक्ति संयुक्त निर्माण सेवालाई ठेक्का दिएको थियो । गत असार मसान्तमा भवन निर्माण गरेर हस्तान्तरण गर्ने सम्झौता गरेको कम्पनीले विभिन्न बहाना बनाएर काम पूरा नगरेको नगरपालिकाका योजना अधिकृत युक्तप्रसाद सुवेदीले बताए । ८२ लाख ३० हजार रुपैयाँमा कम्पनीले माझीका लागि ३/३ कोठे ब्लकको भवन बनाउन डेढ वर्षअघि सम्झौता गरेको थियो । नगर विकास कोषको ८० प्रतिशत अनुदान १० प्रतिशत ऋण र स्थानीय सहभागिताको १० प्रतिशतमा ती भवनहरू बन्ने योजना थियो । अहिलेसम्म ती भवन अपूरो भएकाले बस्ती बसाल्न नसकिएको इन्जिनियर दीपेन्द्र भण्डारीले बताए । ‘कतै शौचालय बाँकी छ, कतै घर भित्रको काम बाँकी छ,’ उनले भने, ‘नगरपालिकाले पहल गरिरहेको छ । हस्तान्तरण नभएकाले बस्ती सार्न सकिएको छैन ।’ घर नबनेकाले सबै अर्काको भनाइ सहन बाध्य भएको भन्दै स्थानीय गुनासो गर्छन् । ‘आफ्नै घर बन्ला र बसौंला भनेर कुरेको धेरै भयो,’ स्थानीय लक्ष्मी माझीले भनिन्, ‘आफंै आएर काममा सहयोग गरिरहेका छौं तर ठेकेदारले ढिला गरे ।’ ठेकेदारको काम गुणस्तरहीन भएको पनि उनीहरूको गुनासो छ ।

प्राविधिकहरू गएर बसेको समयमा काम गर्ने, अरू समयमा ठेकेदारका प्रतिनिधि साइटमा नबस्ने प्रवृत्ति छ । ‘हामी बसेर प्लास्टरमा पानी हाल्न लगाउनु परेको छ,’ इन्जिनियर भण्डारीले भने, ‘दैनिक एउटै योजनामा प्राविधिक बस्न नसकिने, ठेकेदारले आँखा छलेर गुणस्तरमा बदमासी गर्ने भएको छ ।’ ठेकेदार कम्पनीले भने घर बनिसक्ने अवस्था भए पनि बाटोमा अन्य व्यक्तिको जग्गा परेकाले समयमा पूरा गर्न नसकेको दाबी गरेको छ । बस्ती व्यवस्थापनका लागि नगरपालिकाले १ रोपनी र स्थानीय कर्णबहादुर बोहरा, दिव्यधर आचार्य, कृष्णबहादुर केसी, शम्भु आचार्य र कौशिला आचार्यले १४ रोपनी जमिन नि:शुल्क उपलब्ध गराएका थिए ।

प्रकाशित : फाल्गुन १, २०७४ १०:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?