कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दोस्रो बेंसीसहर महोत्सव सुरु

कान्तिपुर संवाददाता

लमजुङ — बेंसीसहरमा सोमबारदेखि दोस्रो बेंसीसहर महोत्सव सुरु भएको छ । लमजुङ उद्योग वाणिज्य संघको बेंसीसहर इकाइले उक्त महोत्सवको आयोजना गरेको हो । 

बेंसीसहरको दनाइँफाँटस्थित महोत्सवस्थलमा औपचारिक कार्यक्रम गर्नुअघि मनाङेचौताराबाट विभिन्न जातजातिका झाँकी तथा र्‍याली निकालिएको थियो । मौलिक पोषाकमा सजिएका झाँकीसहित र्‍यालीमा विद्यार्थीको पनि सहभागिता थियो । बेंसीसहरको उद्योग, व्यापार, जलविद्युत, पर्यटन, कृषि तथा संस्कृतिको प्रवद्र्धन गर्न महोत्सव आयोजना गरिएको उद्योग वाणिज्य संघ बेंसीसहर इकाईका अध्यक्ष प्रदीप बस्नेतले बताए । यस्तै, सुरक्षित तथा व्यवस्थित बजार र सामाजिक, आर्थिक विकासमा टेवा पुर्‍याउने महोत्सवको उद्देश्य छ । महोत्सव फागुन ८ गतेसम्म सञ्चालन हुनेछ ।

महोत्सव उद्घाटन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकालले विकासमा समृद्धि नै अहिलेको अवाश्यकता रहेको औंल्याए । ‘हामी आगामी सरकारप्रति निकै आशावादी छौं । प्रदेश सरकार, स्थानीय सरकारप्रति ठूलो भरोसा छ । विकासमा हामी सरकारलाई सघाउन चहान्छौं’ उनले भने, ‘विकासमा बन्द हड्ताल भने जायक कुरा होइन । यसमा सरकारले निजी क्षेत्रलाई सहयोग गर्नुपर्छ ।’ जलविद्युत्, पर्यटन र कृषिमा लगानीमैत्री वातावरण निर्माणका लागि स्थानीय सरकार कटिबद्ध रहनुपर्ने उनले बताए । जिल्ला समन्वय समितिका प्रमुख लोकराज पाण्डेले जिल्लाको विकास निर्माणका लागि स्थानीय तहको हातेमालो आवश्यक रहेको बताए । ‘हामी जलविद्युत्, कृषि, पर्यटन, जडीबुटी प्रवद्र्धनमा लगानीमैत्री वातावरण चाहन्छौं । यसमा निजीक्षेत्र, स्थानीय र सरकार सबै मिल्नुको विकल्प छैन,’ उनले भने । जिल्लास्थित राजनीतिक दलका नेता, व्यवसायीलगायतले सबैको ध्यान आर्थिक समृद्धिमा रहेकाले यसको वातावरण निर्माण गर्न सबै एक हुनुपर्ने बताए । महोत्सवमा औद्योगिक तथा व्यापारिक प्रदर्शनी, स्थानीय घरेलु तथा हस्तकला, कृषि तथा जडीबुटी, फोटो तथा वृत्तचित्र, पुस्तक तथा पुष्प प्रदर्शनी, सरकारी तथा गैरसरकारी कार्यालयको गतिविधि प्रदर्शन गरिएको छ ।

प्रकाशित : फाल्गुन १, २०७४ १०:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?