कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२५

‘नेपालले संघीयता थेग्न सक्दैन’

कान्तिपुर संवाददाता

काठमाडौँ — बागलुङबाट प्रदेशसभामा निर्वाचित सांसद कृष्ण थापा राष्ट्रिय जनमोर्चा (राजमो) का पूर्वजिल्ला अध्यक्ष हुन् । संघीयताविरोधी अभियानमा हिँडेको राजमो यसपटक वाम गठबन्धनसँग तालमेल गरेर निर्वाचनमा सहभागी भएको थियो ।

‘नेपालले संघीयता थेग्न सक्दैन’

बागलुङबाट राजमोका दुई नेता प्रदेशसभा सदस्य निर्वाचित भए । विविध विषयमा थापासँग गरिएको कुराकानी ।


संघीय गणतन्त्र कार्यान्वयनका लागि प्रदेशसभामा पुग्नु भएको छ । अब तपाईंको भूमिका के हुन्छ ?

संसद् भन्नेबित्तिकै राज्य सञ्चालनका लागि कानुन बनाउने र जनताको आधारभूत आवश्यकता अनुसारका विकासनिर्माण थाल्ने भन्ने नै हो । त्यसका लागि म जुन स्थानमा पुगेको छु, त्यहींबाट जनताको पक्षमा काम गरेर देखाउनेछु । मैले गर्ने सबै काम जनताकै चाहना अनुसारका काम हुनेछन् ।


संख्यात्मकरूपमा राजमोको उपस्थिति सानो छ, प्रतिनिधित्व कसरी गर्नुहुन्छ ?

सानो आकारको सदस्य भएकाले आफ्ना आवाज उठाउन चुनौती हुनेछ । तर, वामपन्थीहरूको बहुमत छ, उनीहरूकै सरकार बन्दैछ । त्यसैले वामपन्थी भएकै कारण हामी उनीहरूसँग नजिक पनि छौं । निर्वाचनमा गरिएको वाम एकतादेखिका सबै निटकताले काम गर्न सजिलै हुने विश्वास लिएको छु । विकास निर्माणका काममा उनीहरूलाई कन्भिन्स गराएर काम गर्ने प्रयास गर्छु । जायज कामका लागि गरिएका सबै बहसलाई सबैले सहज रूपमा लिने र पूरा गर्नेतर्फ साथ दिने विश्वास पनि छ ।


संघीयताको विरोधी दल भएर पनि संघीयता कार्यान्वयन गर्नेहरूसँग सहकार्यमा कसरी जान सक्नुहुन्छ ? तपाईंले गर्ने हरेक अभ्यास संघीयता कार्यान्वयन नै होइन र ?

झट्ट हेर्दा प्रदेश संसद्मा बसेर गर्ने कामले संघीयता कार्यान्वयन भएको देखिन्छ तर राज्यको पुन:संरचना गर्नै हुँदैन भनेका छैनौं । सामन्ती संस्कार र राज्यसत्ता फेरिनुपर्छ भन्ने माग त हाम्रो पनि हो । त्यस्तै सिद्धान्तमा हामी संघीयताविरोधी नभई नेपालले संघीयताको अभ्यास थेग्न सक्दैन भन्ने हाम्रो मूल एजेन्डा हो । यो कुरा हामी संसद्मा पनि उठाउँछौं । प्रदेशसभाको पहिलो बैठकमै मैले यो कुरा बोलेको छु । हीराको भालुलाई पाल्न सकिँदैन भनेर पहिले नै बोलेको त्यसैले हो । देशको अर्थतन्त्र सुहाउँदो राज्य व्यवस्था यो होइन भनेर हिँडेको कुरा धेरै पछि अरू दलले बुझ्नेछन् । त्यसका लागि हामी निरन्तर दबाब र बुझाउने अभियानमा लागिरहन्छौं । अनि भ्रष्टाचारले चुर्लुम्म भएको देशलाई स्वच्छ र पारदर्शी बनाउनका लागि निरन्तर दबाब सिर्जना गर्नेछौं ।


आफू संघीयता देशले खेप्न सक्दैन भन्दै यही व्यवस्था कार्यान्वयन गरेर जाउँm भन्नेहरूसँगै मिलेर जान सम्भव छ त ?

मिलेरै जाने हो भने हाम्रो एजेन्डा ओझेलमा पर्छ । जनताको चाहनामाथि पनि घात हुनेछ । त्यसैले सुशासनका लागि दबाब दिने र सरकारसँग संघर्ष गरेरै जानुपर्ने आवश्यकता देखेको छु । संघीयता धान्न नसके पनि जनताको आधारभूत आवश्यकता पूरा गर्ने सबालमा सबै दलसँग एकमत बन्न हामी सक्छौं । साझा एजेन्डामा काम गरेर समृद्धि ल्याउने काममा भने हामीलाई कसैले रोक्न सक्दैन ।


यसरी मिलेर जाँदा राजमो पनि वाम एकतामा पुग्ने त होइन ?

हाम्रो सिद्धान्तदेखि कार्यशैली केही पनि नमिल्ने भएपछि एकताको सम्भावना छैन । उनीहरूको स्वार्थमा जोडिनका लागि सहकार्य गर्ने भनेको होइन । उनीहरूले आफ्नो स्वार्थ पूरा गर्न हामीलाई प्रयोग गर्न सक्छन् त्यसैले हामी सचेत भएर विकास निर्माणका योजनामा मात्र एकता गरेर जाने हो । अहिले गठन हुनैलागेको सरकार र मन्त्री बन्न खोज्नेको लक्षण हेर्दा सहर केन्द्रित र सुखभोगी प्रकारको हुन खोज्दैछ । त्यसका विरुद्ध हामी संघर्षमा उत्रन तयार छौं ।


गृहजिल्ला बागलुङको विकासमा के भूमिका खेल्नुहुन्छ ?

उत्तर–दक्षिण कालीगण्डकी कोरिडोरजस्तै कम्तीमा चारवटा गौरवका योजना बनाउने लक्ष्य छ । विद्युत्, सडक, कृषि र पर्यटनमा गौरवका योजना निर्माण गरेर समृद्धि ल्याउन सकिने गरी केही गृहकार्य गर्ने सोचमा छु । त्यसले युवाको रोजगारी, आत्मनिर्भर व्यवसाय र दिगो विकासको आधार तयार गरोस् भन्ने हामीले चाहना राखेका छौं । त्यसमा जिल्लाका अरू दलका साथीहरूलाई पनि सँगै आउन आग्रह गर्छु ।


राजमोले सधंै सिद्धान्तका नारा दियो, काम गरेन भन्ने आरोप कसरी खण्डन गर्नुहुन्छ ?

संविधान निर्माणलगायतका समयमा केही एजेन्डाहरूमा हामीले सिद्धान्तमा बढी केन्द्रित भएकै हो तर, अब काम गरेर देखाउने समय पनि आएको छ । त्यसैले केही परिवर्तनको आभास दिएरै छाड्ने लक्ष्यले हामीले केही घोषणापत्र पनि बनाएका थियौं । शिक्षादेखि सबै प्रकारका विकासलाई जनताको घरदैलोमा लैजाने हाम्रो काम हुनेछ । अब जनताले विकास र समृद्धि चाहेका छन् । त्यसका लागि भरमग्दुर प्रयास गर्ने राजनीति हामीलाई चाहिएको हो । सामन्ती राज्यसत्ता अन्त्य गरेर लोकतान्त्रिक पद्धतिमार्फत जाने कुरा सबैको साझा भइसकेपछि अब विकासका योजना लिएर गाउँ पुग्नुको विकल्प छैन । भौगोलिक रूपले बागलुङ निकै विकट छ । दूरदराजका जनतालाई विकासको फल दिनुपर्नेछ । एउटा जनप्रतिनिधिको नाताले उनीहरूको दु:ख–पीडामा मलम लगाउने काममा निरन्तर लाग्ने प्रतिबद्धता जनाउन चाहन्छु ।

– प्रस्तुति : प्रकाश बराल

प्रकाशित : फाल्गुन ५, २०७४ ०९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

खेलकुद मन्त्रालयको बजेटले लुडो, चेस र बाघचाल मात्रै खेलाउन सकिन्छ भन्ने युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको भनाइबारे तपाईंको धारणा के छ ?