कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दुर्घटना न्यूनीकरण हुँदै

कान्तिपुर संवाददाता

पर्वत — २०७० मा जिल्लामा भएका ३५ वटा सवारी दुर्घटनामा १६ जनाले ज्यान गुमाए । ३३ जना गम्भिर र ३८ सामान्य घाइते भए । सवारी दुर्घटनाको क्रम वर्षेनी बढेपछि प्रहरी, ट्राफिक र सवारी व्यवसायीको समेत टाउको दुखाइ बन्यो । दुर्घटना न्युनीकरण गर्न ट्राफिक प्रहरीले चेतनामुलक कार्यक्रमलाई अयिभानकै रूपमा सञ्चान गर्‍यो ।

योजनाबद्ध ढंगले अभियान अघि बढेको चालु वर्षको सातौं महिनासम्म आइपुग्दा भएका उपलव्धी पनि देखिएको छ । वर्षेनी सवारी दुर्घटनाको संख्या कम भएको छ ।

ट्राफिक प्रहरीका अनुसार २०७१/७२ मा १६ वटा दुर्घटनाहरू भएका थिए । त्यसमा ४ जनाको मृत्यु, २३ गम्भिर र १७ जना सामान्य घाइते भए । २०७२/७३ मा भएका १२ वटा दुर्घटनामा ७ जनाको मृत्यु र १७ जना घाइते भएका थिए । २०७३/७४ मा भएका ६ दुर्घटनामा ६ जनाको मृत्यु भएको थियो । १६ जना घाइते भएका थिए ।

चालु वर्षको माघ मसान्तसम्म छिटपुट मात्रै दुर्घटना भएको प्रहरीले जनाएको छ । यो अवधिमा मुख्य सडक र राजमार्गमा दुर्घटना नै नभएको ट्राफिक प्रहरी प्रमुख महेन्द्र रानाभाटले बताए । ‘हाम्रो पहुँच पुग्ने ठाउँमा यो वर्ष दुर्घटना भएका छैनन्,’ उनले भने, ‘गम्भिर लापरवाहीले भएका बाहेक दुर्घटना कम भएका छन् ।’ उनका अनुसार चाुल वर्षको आठ महिनामा दुई ट्याक्टर र एउटा बस दुर्घटना भएको छ । त्यसमा तीन जनाको मृत्यु भएको थियो । ‘गाउँमा बच्चाले चलाएका ट्याक्टर दुर्घटना भएका छन् । गाउँका कच्ची सडकमा उमेरै नपुगी चलाएकालाई सार्वजनिक मुद्दा चलाउन पनि मिलेन,’ उनले भने ।

पछिल्ला वर्ष ट्राफिक प्रहरीले चालक–परिचालक सचेतना कक्षा, घुमाउरो सडकमा कन्भेक्स मिरर राख्ने, चालकसँग १ मिनेट र विद्यार्थी सचेतना कार्यक्रम सञ्चालन गरेको छ । राजमार्गमा नियमित चेकजाँच, ग्रामीण सडकमा छडे चेक, मापसे कारवाही, समुह सचेतना, सडकको अवस्था जनाउने बोर्ड राख्ने र चालक–सहचालकलाई चेतनामुलक कक्षा नियमित सञ्चालन गरेको छ ।

अपर्याप्त जनशक्तिले चुनौती

जिल्लाका दुई नगरपालिका र पाँच गाउँपालिकाको ट्राफिक व्यवस्थापनका लागि जम्मा १२ ट्राफिक प्रहरीको दरबन्दी छ । त्यसमध्ये ६ जना सदरमुकाममा कार्यरत छन् । ग्रामीण र राजमार्गको सडक सुरक्षा व्यवस्थापनका लागि डिमुवा इलाका प्रहरी चौकीमा ३, हुवासमा १, मिलनचोकमा १ र फलेवास प्रहरी चौकीमा १ जना ट्राफिक कार्यरत छन् ।

पोखरा–बागलुङ मुख्य राजमार्ग मात्रै नभएर ट्राफिकले ग्रामीण क्षेत्रका मुख्य ३२ सडकमा गुड्ने सवारीको समेत नियमित निगरानी गर्नुपर्छ । त्यसबाहेक दैनिक सडकमा हुने जाम, बजारक्षेत्रको निगरानी, ससाना दुर्घटना तथा सवारी समस्या समाधानमा तुरुन्त पुग्नुपर्छ । ‘थोरै जनशक्तिले हामीलाई सबैतरि उतिकै ध्यान पुर्‍याउन गाह्रो छ,’ ट्राफिक प्रमुख रानाभाटले भने, ‘जनशक्ति माग गरेपनि ट्राफिकको जतासुकै समान समस्याले संख्या तत्कालै बढ्न सक्ने सम्भावना छैन ।’

प्रकाशित : फाल्गुन ५, २०७४ ०९:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?