कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मुख्यमन्त्री र सभामुखले लिए शपथ

चार सदस्यीय मन्त्रीमण्डल गठन
लालप्रसाद शर्मा

पोखरा — मुख्यमन्त्री, सभामुख र तीन मन्त्रीले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख बाबुराम कुँवरले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, सभामुख नेत्रनाथ अधिकारी, मन्त्रीहरू हरिबहादुर चुमान, रामशरण बस्नेत र लेखबहादुर थापालाई शपथ गराए । 

मुख्यमन्त्री र सभामुखले लिए शपथ

एमाले र माओवादी केन्द्रको सहमति अनुसार मूख्यमन्त्रीमा एमाले नेता पृथ्वीसुब्बा गुरुङ र सभामुखमा माओवादी केन्द्रका नेता नेत्रलाल अधिकारी निर्विरोध चयन भएका थिए । प्रदेश प्रमुख कुँवरले सुरुमा मुख्यमन्त्री, सभामुख र मन्त्रीलाई पालैपालो शपथ ग्रहण गराएका हुन् । शपथपछि मुख्यमन्त्री, सभामुख र मन्त्रीले शुक्रबारै कार्यभार सम्हाले । दुई पार्टीको सहमति अनुसार मुख्यमन्त्रीसहित पाँच मन्त्रालय एमाले र दुईवटा मन्त्रालय माओवादी केन्द्रको भागमा परेको छ । माओवादीका संसदीय दलका नेता चुमान आन्तरिक मामिला तथा कानुनमन्त्री, एमालेका बस्नेत उद्योग पर्यटन, वन तथा सहकारी मन्त्रीमा नियुक्त भएका छन् भने माओवादीका थापा भूमिव्यवस्था, कृषि तथा सहकारीमन्त्री बनेका छन् । मन्त्रीमध्ये बस्नेत र थापा दुवै गोरखाका हुन् ।

नवनियुक्त मन्त्रीमध्ये बस्नेतले बिहान मुख्यमन्त्री र सभामुखसँगै शपथ लिए । माओवादीका चुमान र थापाले साँझ शपथ लिएका थिए । मुख्यमन्त्री गुरुङले एकैसाथ मन्त्रिमण्डल विस्तार गर्ने योजना बनाएका भए पनि बिहान माओवादीबाट नाम प्राप्त नभएपछि बस्नेतलाई मात्रै नियुक्त गरेका थिए ।

माओवादीले बिहीबारै मन्त्री बनाउनुपर्ने प्रदेश सांसदको नाम मुख्यमन्त्रीलाई दिने तयारी थियो ।

तर, ४ नम्बर प्रदेशका इन्चार्ज देव गुरुङ ढिला आएकाले बिहीबार कुनै निर्णय भएन । शुक्रबार बिहानको बैठकमा चुमान र थापालाई मन्त्रीमा पठाउने निर्णयसमेत भएको थियो । तर, एमालेबाट गोरखाकै सांसद बस्नेत मन्त्री हुने भएकाले थापाको नामप्रति अन्य सांसदले असहमति जनाएका थिए ।

माओवादीका प्रदेश संयोजक हरि अधिकारीले संसदीय दलमा छलफलै नगरी थापाको नाम प्रस्ताव गरेपछि असन्तुष्टि बाहिर आएको स्रोतले जनाएको छ । ‘चुमानको विषयमा कुनै विवाद भएन तर थापाको नाममा भने अधिकांश सांसदहरूको असहमति रह्यो,’ स्रोतले भन्यो । मन्त्रीमा पुन: तिनै नाम प्रस्ताव गरी मुख्यमन्त्रीकहाँ पठाइएपछि माओवादी सांसदबीच थप असन्तुष्टि बढेको छ । त्यसैले मन्त्रीद्वय चुमान र थापाको साँझ ६ बजेको भएको शपथ ग्रहण कार्यक्रममा एकाधबाहेक अधिकांश माओवादी सांसद अनुपस्थित रहे ।

‘व्यक्तिगतरूपमा अधिकारीले थापालाई अघि सारेकोमा तीव्र असन्तुष्टि छ,’ एक सांसदले भने, ‘संसदीय दलको निर्णय नभई नेताहरूले हस्तक्षेप गरी एकलौटी गरेकाले असन्तुष्टि छ ।’

मुख्यमन्त्री गुरुङले थप मन्त्री पनि छिट्टै नियुक्त गरिने बताएका छन् । पदबहाली गर्दै उनले सुशासन मुख्य एजेन्डा रहेको दाबी गरे । प्रदेशको आर्थिक उन्नति र समृद्धिमा लाग्ने भन्दै उनले त्यसका लागि पूर्वाधार निर्माणमा जोड दिइने बताए । ‘स्थिर ढंगले अर्थात् दिगो विकासमार्फत प्रदेशलाई समृद्धितर्फ लैजाने योजनामा छु,’ उनले भने, ‘पहिलो कुरा त प्रदेश सरकार सञ्चालनका लागि आवश्यक कानुन निर्माण गरिनेछ ।’ उनले चालु आर्थिक वर्षका लागि पूरक बजेट ल्याउने र आगामी आवका लागि बजेटको तयारीमा लाग्ने उनको भनाइ छ । उनले शुक्रबारै मन्त्रालयका सचिवहरूलाई निर्देशन पनि दिए ।

कास्की उपेक्षित भन्दै असन्तुष्ट

प्रदेशको राजधानी रहेको जिल्ला कास्कीबाट निर्वाचित सांसदले मन्त्री पद पाउने सम्भावना कम भएको छ । प्रदेश सरकार गठन गरेका एमाले र माओवादीका सांसदबीच मन्त्री बन्न पाउने सम्भावना नदेखिएपछि असन्तुष्टि बढेको छ । कास्कीबाट प्रदेशसभाको प्रत्यक्षका ६ सिटमध्ये एमालेका तीन र माओवादीका दुई सांसद छन् । समानुपातिकतर्फ एमालेका पाँच र माओवादीका एकजना सांसद छन् ।

दुवै पार्टीका केही सांसदहरूले कास्कीलाई उपेक्षा गरिएको बताएका छन् । ‘कास्की केही नेताको ‘क्रिडास्थल’ बनेको छ । हामीलाई पूरै उपेक्षा गरिएको छ,’ माओवादी केन्द्रका एक सांसदले भने । एमालेका एक सांसदले पनि कास्कीलाई उपेक्षा गरिएको भन्दै मुख्यमन्त्रीले कार्यभार सम्हालिरहेका बेला बाहिर असन्तुष्टि जनाइरहेका थिए ।

प्रकाशित : फाल्गुन ५, २०७४ ०९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?