कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हिलो र धूलोले हैरानी

कान्तिपुर संवाददाता

बागलुङ — मध्यपहाडी लोकमार्गको बागलुङ बिहुँ खण्डको २५ किमिमा धूलो र हिलोले स्थानीयले सास्ती खेपेका छन् । निर्माण कम्पनीले समयमा काम नगरेपछि अलपत्र सडकमा दैनिक गुड्ने सवारीले धूलो उडाएर हैरान बनाएको स्थानीयको गुनासो छ । त्यस्तै कतिपय स्थानमा हिलाम्मे हुँदा सवारी साधन फस्नेसमेत गर्छन । 

हिलो र धूलोले हैरानी

उक्त खण्डमध्येको पहिलो ७ किमि खण्डमा सबैभन्दा धेरै सास्ती खेप्नुपर्ने काठेखाला गाउँपालिका १ का अध्यक्ष खड्गबहादुर थापाले बताए । ‘मेरो वडा कार्यालय सडक छेउमै छ, हिलोले कार्यालय पुग्न ढिला हुन्छ, कार्यालयअगाडि धूलोले बसिसक्नु छैन’ थापाले भने, ‘पटक–पटक कुरा गरे पनि निर्माण कम्पनीले वास्ता गर्दैन ।’ बस्ती भएको स्थानमा छिटो काम सकिदिन तथा धूलो नउड्ने व्यवस्थाका लागि गरेको आग्रह अटेर भएको उनले गुनासो गरे ।


गाउँपालिकाका अध्यक्ष अमर थापाले पनि सामान्य अवस्थामा ३० मिनेटको बाटोमा दुई घण्टा लगाएर यात्रा गर्नुपर्ने बाध्यता रहेको गुनासो गरे । समयमा कार्यालय जान नसक्दा सेवाग्राही कुरेर बस्नुपर्ने बाध्यता रहेको उनले बताए । निर्माणाधीन खण्डमा विकल्प नदिई काम थालेपछि दैनिक सयौं यात्रीले दु:ख पाएका हुन् । सडकमा यातायातका साधन जाम हुने क्रम पनि दिनहुँ हुन्छ । पैदलयात्रीले पनि उक्त खण्डमा पार गर्न नपाएपछि विद्यार्थी र कर्मचारी बढी मारमा परेका हुन् ।


जिल्लाभित्रको १ सय ४२ किमि खण्डमध्ये सदरमुकामदेखि बिहुँसम्म २५ किमि अझै स्तरोन्नति हुन सकेको छैन । अक्षेते हुँदै ताराखसेसम्मको १३ किमि खण्डमा सिद्धिसाई प्रकाश संयुक्त निर्माण कम्पनीले काम गरिरहेको छ । एमके कन्स्ट्रक्सन कम्पनीले यसअघिको काम अलपत्र पारेपछि यो खण्डमा यात्रीले जोखिम मोलेर यात्रा गरिरहेका छन् । ‘दैनिक कार्यालय जान–आउन पनि हैरान खेप्नुपरेको छ’ थापाले भने, ‘पैदल हिँड्न पनि नमिल्ने गरी सडक बिगारेपछि समस्या भएको हो ।’ अप्ठ्यारो स्थानमा पैदल भए पनि सहज हिँड्ने अवस्था बनाइदिन आग्रह गर्दासमेत बेवास्ता गरेको उनले बताए । सडक छेउको बिहुँमा धूलोले अधिकांश घर, बाली र फलफूलका बिरुवा सेताम्मे देखिन्छन् । ‘हामीले पानी पनि शुद्ध खान पाएका छैनौं, बालबालिका र बूढाबूढीमा रुघाखोकीको समस्या धेरै छ’ काठेखोला ६ का रामप्रसाद कँडेलले भने, ‘गाईभंैसीलाई पनि राम्रो घाँस काटेर दिन पाइएको छैन ।’ रुघाखोकीले आफू पनि पीडित भएको उनले गुनासो गरे । यो खण्डको ६ देखि १० स्थानमा पटकपटक सवारी जाम हुने गरेको छ ।


एक वर्षअघि ठेक्का लिएको कम्पनीले अहिले सडक चौडा पार्ने काम गरिरहेको छ । सडकको विकल्प नभएपछि यात्रीले दु:ख पाएको कम्पनीका साइट इन्चार्ज यज्ञ शाहीले बताए । ‘दैनिक दुई सयभन्दा बढी सवारी चल्छन्, विकल्प दिने बाटो छैन’ शाहीले भने, ‘ढुंगा खस्ने समस्या भएका स्थानमा सवारी र यात्रीलाई जान दिन पनि सकेका छैनौं ।’ स्थानीयवासी भने कम्पनीका कर्मचारी र प्राविधिकले यात्रीको समस्या बुझ्ने प्रयासै नगरेको आरोप लगाउँछन् । बिरामी बोकेर आएका सवारीदेखि कार्यालय पुग्ने कर्मचारी र विद्यालय हिँडेका विद्यार्थी पनि समयमा गन्तव्यमा पुग्न नपाएको उनीहरूको आरोप छ ।

प्रकाशित : फाल्गुन १०, २०७४ १०:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?