कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पुर्कोटको विकासमा स्थानीयको चासो

दिप्ती सिलवाल

पुर्कोट (पर्वत) — जिल्लाका करिब दुई दर्जन ऐतिहासिक कोटहरूको सर्वत्र चासो र विकास भइरहेका बेला लामो समयदेखि छायाँमा परेको फलेवास ३ स्थित पुर्कोटको संरक्षण गर्न स्थानीयले चासो देखाएका छन् । समुद्र सतहबाट करिब १ हजार ९ सय मिटरको उचाइमा पर्ने ऐतिहासिक महत्त्वको यो ठाउँ क्षेत्रफलका हिसाबमा जिल्लाका अन्य कोटभन्दा धेरै ठूलो छ । 

पुर्कोटको विकासमा स्थानीयको चासो

मल्लकालको शासन तथा नेपालको एकीकरणपूर्वका करिब साढे तीन सय वर्षसम्म भएका विभिन्न राजाहरूका पालामा यहाँ पर्वते राजाहरूले शासन गरेका थिए । ‘यहाँका पुराना संरचनाले नै यसको इतिहास बताइरहेको छ,’ स्थानीय वृद्ध यज्ञबहादुर खत्रीले भने, ‘पुराना ओखल, दरबारको भग्नावशेष, इनार साक्षी छन् ।’ भुरेटाकुरे राजाहरूले शासन गर्ने समय धान कुट्न बनाइएका ओखल, पानी पिउन बनाइएको इनार अहिले पनि छन् । तीबाहेक राज्यभर उर्दी (निश्चित कामका लागि राजाले जारी गर्ने आदेश) जारी गर्न राखिएको घण्ट अझै छन् । ती सबै भग्नावशेष भइसकेका छन् ।


स्थानीय जानकारहरूका अनुसार पुर्कोटको इनार करिब दुई सय मिटर गहिरो थियो । मुस्ताङमा चिनियाँ दलाइ लामाविरोधी आन्दोलन हुँदा त्यहाँका एक लामाको टाउको कालीगण्डकी किनार हुँदै यही इनारमा उत्रिएपछि स्थानीयमा खैलाबैला मच्चिएको थियो । ‘लामाको टाउको यहाँ देखिएपछि हाम्रा जिजुबाजेहरूले इनार पुरिदिएछन्,’ स्थानीय अगुवा दलबहादुर परियारले भने, ‘अझै पनि कालीगण्डकीको र यो इनारको पानीको रङ समान हुन्छ ।’ वर्षामा कालीगण्डकी धमिलो हुँदा इनारको पानी पनि धमिलिने गरेको स्थानीयले सुनाए ।


बाइसे चौबीसे राजाहरूको पालामा कोट आसपासको जग्गा सयौं रोपनीमा फैलिएको अनुमान छ । नेपालको एकीकरणताका मुलुकभर भएको राजनीतिक परिवर्तनको चपेटामा यो कोट पनि पर्‍यो । त्यतिबेला लिमिकोट, भूमेकोट, कुर्घालगायत काजीहरूले यहाँका बहुमूल्य धातु, महत्त्वपूर्ण जग्गा कब्जा गरेर लगेको वृद्ध यज्ञबहादुरले बताए । ‘मेरा हजुरबुबाका अनुसार यहाँको धान कुट्ने ओखल लिमिठानाका काजीले बोकेर लगेछन् । भोलिपल्ट ओखल यहीं आएर खडा भयो, त्यो दिनपछि आफैं धान कुट्न छाड्यो,’ पुर्कोटको दैविक शक्तिका बारेमा उनले भने ।


दलित बस्तीको बीचमा पर्ने भएकाले पुर्कोटमा राजनीतिक नेतृत्व र जिम्मेवार निकायका व्यक्ति पुग्दैनथे । ‘यहाँका सबै दलित भएकाले हाम्रा कुरा ठूलाबढा नेताले पत्याएनन् । हामीले बोलेको सुन्ने र यहाँ आउने चेष्टा कसैले नगर्दा यो ठाउँ पछि पर्‍यो,’ स्थानीय पूर्णबहादुर परियारले भने । अब पुर्कोटको विकासमा स्थानीय सरकारले चासो दिनुपर्ने स्थानीयको माग छ । स्थानीय डल्ली परियारले चुनावका बेला ठूल्ठूला कुरा गर्ने नेताहरू यहाँ एकपटक हेर्नसमेत नआएको गुनासो गरिन् । पार्वती परियारले भनिन्, ‘अब भोट माग्ने नेताहरूलाई यो ठाउँको कसम खुवाएर मात्रै भोट दिने सर्त गर्नुपर्छ, नत्र हामी एक्लै लागेर विकास हुँदैन ।’


सदरमुकाम कुश्माबाट करिब डेढ घण्टाको पैदल दूरीमा पुग्न सकिने पुर्कोट भौगोलिक दृष्टिकोणले समेत रमणीय छ । यहाँबाट धौलागिरि, माछापुच्छ्रे, अन्नपूर्ण, नीलगिरिलगायत दर्जनभन्दा बढी हिमाल नजिकै नियाल्न सकिन्छ । पर्वत सदरमुकाम कुश्मालाई काखमा लिएर बगेका मोदी र कालीगण्डकीको दृश्यले झनै लोभ्याउँछ । त्यससँगै छिमेकी जिल्ला बागलुङ, स्याङ्जा र कास्कीका धेरै स्थानको दृश्यावलोकन गर्न सकिने भएकाले पर्यटकीय विकासका लागि पनि राम्रो सम्भावना रहेको स्थानीय अगुवा धनबहादुर थापा बताउँछन् । ‘नजिकै यस्तो ठाउँबारे अहिलेसम्म सुनेकै थिइनँ,’ लोकगायक सुदीप क्षत्रीले भने, ‘प्रचार गर्नसके नमुना पर्यटकीय क्षेत्र बन्न सक्छ ।’ पुर्कोट नजिकै करिब डेढ सय परिवार परियार समुदायको बस्ती छ । यो बस्तीमा परम्परादेखि बजाइने पञ्जेबाजा जिल्लाकै उत्कृष्ट मानिन्छ । पुर्कोटलाई संरक्षण गरेर यहाँको सांस्कृतिक रहनसहन र लोकबाजा प्रदर्शन मात्रै गर्नसके धेरै पर्यटक भित्राउन सकिने अपेक्षा स्थानीयको छ ।


स्थानीय युवाको समूहले पुर्कोटको विकासका सम्झावनाबारे केही साताअघि पुर्कोटमै बृहत् अन्तरक्रिया भेला गरेका थिए । भेलाले ‘पुर्कोट पुनर्निर्माण तथा व्यवस्थापन समिति’ गठन गर्दै चालु आर्थिक वर्षभित्रै पुर्कोटको विकासबारे गुरुयोजना तयार पारेर सम्बन्धित निकायमा पेस गर्ने तयारी थालेको अभियानका संयोजक धनबहादुर थापाले बताए । हाल करिब २० रोपनीमा खुम्चिएको पुर्कोटको क्षेत्रफल बढाएर ५० रोपनी पुर्‍याउने, भ्यू–टावर निर्माण, जीर्ण संरचनाको संरक्षण तथा मर्मत, खेलमैदान, बगैंचा निर्माणसहितका योजना बनाएर यहाँ जिल्लाकै पर्यटकीय आकर्षणका रूपमा विकास गर्ने योजना छ । ‘एक वर्षभित्रै न्यूनतम पूर्वाधारको विकास गर्ने लक्ष्य छ,’ थापाले भने, ‘दीर्घकालीन योजनाका लागि पर्यटन बोर्डसम्म पुग्छौं ।’


फलेवास नगरपालिका प्रमुख पदमपाणि शर्माले नगरभित्रका ऐतिहासिक तथा ओझेलमा परेका संरचनाको विकास गरी पर्यटन प्रवद्र्धनमा विशेष ध्यान दिने बताए । ‘नगरभित्रका ऐतिहासिक सबै संरचनाको खोजी भइरहेको छ,’ त्यसभित्र पुर्कोट पनि प्राथमिकतामा छ । त्यसका अल्पकालीन र दीर्घकालीन योजनासहित काम गर्छौं ।’ पुर्कोटलाई समेटेर जिल्लाका पूर्वी भेगका पर्यटकीय क्षेत्र छुने पदमार्ग निर्माण गर्न सके ७ दिनसम्मको प्याकेज बनाउन सकिने स्थानीय अगुवाको भनाइ छ ।

प्रकाशित : फाल्गुन १०, २०७४ ११:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?