१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५२

एउटै खोलामा ४ पुल

एउटा झोलुंगे तयार भएको छ भने तीनवटा पक्की पुल निर्माणाधीन
नारायण शर्मा

नवलपुर — पूर्वी नवलपरासीको एउटै खोलामा चार पुल तयार हुने अवस्थामा पुगेका छन् । कावासोती नगरपालिकामा पर्ने केरुंगे खोलाको ४ किलोमिटर दूरीभित्र एकैपटक चारवटै पुलको निर्माण थालिएको हो । 

एउटै खोलामा ४ पुल

चारमध्येको एउटा झोलुंगे तयार भएको छ भने तीनवटा पक्की पुल निर्माणाधीन छन् । पुल बनेपछि छिमेकी हुप्सेकोट गाउँपालिका र कावासोती नगरपालिकाका वडाहरू सडक सम्पर्कमा जोडिनेछन् । हुप्सेकोट गाउँपालिकाको शंखदेवबाट कावासोती नगरपालिकाको कोइलापानी जोड्ने झोलंगेपुल तयार भएपछि आउजाउ सुरु भएको छ । वर्षामा निकै ठूलो भेल आउने भएकाले पुल नहुँदा आउजाउ असजिलो थियो । केरुंगे खोलामा पुल बनेपछि स्थानीयलाई सजिलो भएको छ । केरुंगेमा पुलका यी योजनाअघि पुल बनेका थिएनन् ।

एकैपटक चार पुल बन्ने भएपछि स्थानीय खुसी छन् । दलहरूका अगुवाहरूमा पनि पुल आफ्नो प्रयासमा बनेको भन्दै जस लिन होडबाजी नै चलेको स्थानीयको भनाइ छ । सबै पुलका लागि सरकारको ३४ करोड रुपैयाँ लगानी रहेको छ ।


गत पुसमै सम्पन्न हुने भनिएको भए पनि एक वर्ष ढिला गरी गत असोजबाट बल्ल पुल बनाउने काम सुरु गरिएको थियो । स्थानीय विकास मन्त्रालय अन्तर्गत कृषि सडक आयोजनाको करिब ८५ लाख रुपैयाँको लागतमा निर्माण भएको पुलको लम्बाइ २ सय २० मिटर छ । पुल निर्माणको ठेक्का ८५ लाख रुपैयाँमा अधिकारी निर्माण सेवा गोर्खा कम्पनीले लिएको थियो । पुलका लागि जग्गाको विवाद भएकाले भनिएको समयमा निर्माणको काम थाल्न नसकेको निर्माण कम्पनीका ठेकेदार जालानाथ अधिकारीले बताए । विवाद टुंग्याएर काम थालिएकाले आगामी वर्षभित्र पुल तयार हुने दाबी गरे ।


यस्तै २०७३ असारमा सम्झौता भएको कावासोती ५ लक्ष्मीनगर र कावासोती ४ छिपछिपे जोड्ने पक्की पुल निर्माण भइरहेको छ । निर्माणाधीन पुल १ सय २० मिटरको लम्बाइको हुनेछ । १० करोड रुपैयाँको लागतमा पुल निर्माण गर्न लागिएको पुल निर्माण व्यवस्थापन समितिका अध्यक्ष लेखनाथ बस्यालले बताए । उनले भने, ‘आउने असारसम्म निर्माणको ७० प्रतिशत काम पूरा गर्ने लक्ष्य अनुसार धमाधम छ ।’


यसैगरी कावासोती १ खयरघारी र हुपसेकोट गाउँपालिका ४ को शंखदेव जोड्ने गरी पक्की पुलको निर्माणकार्य ६ महिनाअघि सुरु गरिएको हो । २ सय १० मिटर लम्बाइको उक्त पुल ७ करोड ८० लाख रुपैयाँको लागतमा सम्पन्न गर्ने गरी ठेकेदारले काम गरिरहेका हुन् । २४ महिनामा काम पूरा गर्ने सम्झौता छ । यस्तै कावासोती ५ अठ्ठाइस बिघा र कावासोती ४ चिलाहा जोड्ने गरी पक्की पुलको निर्माणले पनि यतिबेला गति लिएको छ । दुई लेनको हुने उक्त पुलमा सरकारको करिब १५ करोड रुपैयाँको लागत रहेको वडाध्यक्ष रमाकान्त चापागाईंले बताए ।


वर्षाको समयमा केरुंगे खोलामा एउटा पनि पुल नहुँदा हसौरा, शंखदेव र छिपछिपेका बासिन्दाको कावासोतीसँग सम्बन्धविच्छेद नै हुने गरेको थियो । पुल निर्माण सम्पन्न भएपछि पुल वारिका गाउँमा पक्की सडक बनाउन स्थानीय तम्सेका छन् । स्थानीय, नगरपालिकाको सहयोग, प्रदेश सरकारको बजेट र केन्द्रीय सरकारको बजेट ल्याएर सडक बनाउन भन्दै स्थानीय जनप्रतिनिधि तम्सिएका छन् । यहाँका जनप्रतिनिधिहरूले पुल हेर्न कावासोती जानु भन्ने उखान नै चलनचल्तीमा ल्याएका छन् ।


यसअघि खोलाको चार किमि खण्डमा एउटा पनि पुल थिएन । वर्षाद्मा सधैजसो गाउँले खोलाको भेल घटेपछि मात्रै कावासोती आउजाउ गर्न बाध्य थिए ।

प्रकाशित : फाल्गुन १५, २०७४ ११:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?