कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

यस वर्ष मात्रै २४ मुद्दाका ४४ अभियुक्त फरार सूचिमा

प्रतिक्षा काफ्ले

स्याङजा — चिन्नेबास गाविस–७ का २३ वर्षिय मिलन थापालाई जिल्ला अदालतले जर्वरजस्ती करणी गरेको आरोपमा कैद र जरिवाना सजाय तोकेको छ । तर, उनी हालसम्म पनि फरार रहेको जिल्ला अदालत बताउँछ ।

यस वर्ष मात्रै २४ मुद्दाका ४४ अभियुक्त फरार सूचिमा

यस्तै, करणीकै आरोपमा तनहुँको साविक राइपुर गाविस–१ बस्ने ३६ वर्षिय जीवन भुजेल पनि हालसम्म फरार नै छन ।


करणीकै आरोपमा जेल सजाय तोकिएका यहाँको साविक दहथुम गाविस–८ का २१ वर्षिय विवेक अधिकारी पनि फरारको सूचिमा रहेका छन् । साविकको बाहाकोट गाविस–७ का २२ वर्षिय अनिल शाही र २५ वर्षिय कुशल हमाललाई जिल्ला अदालतले ज्यान मार्ने उद्योगमा कैद सजाय फैसला गरेको छ ।

किर्ते ठगीको अरोपमा चिन्नेबास गाविस–२ का ४० वर्षिय राजेन्द्र लम्साल पनि हालसम्म फरार नै छन । लागुऔषध ब्राउन सनर हिरोइनसहित पक्राउ परेका गुल्मी जिल्लाको साविक अर्वेनि गाविस–१ घर भई हाल स्याङजाको फेदीखोला गाविस–२ बस्दै आएका २८ वर्षिय रेशम थापामगरलाई पनि अदालतले कैद सजायको लागि लागुऔषध ऐन अनुसार फैसला गरेको छ । उनीपनि अहिलेसम्म फरार नै रहेको अदालतको अभिलेखमा पाइन्छ ।


यस्तै कर्तव्य ज्यान मुद्दामा कैद सजाय तोकिएका साविकको ओरष्टे गाविस–५ का २४ वर्षिय मनोज विक, सोही ठाउँ बस्ने २४ वर्षिय दिपक गुरुङ, साविकको बागेफड्के गाविस–९ बस्ने २४ बर्षका विशाल क्षेत्री, बागेफड्के–४ का २४ वर्षिय मिलन गुरुङ, ९ बस्ने २६ वर्षिय विशाल क्षेत्री, सोही ठाउँ बस्ने २२ वर्षिय विकास क्षेत्री, २६ वर्षिय रोशन क्षेत्री, २१ वर्षिय दिनेश क्षेत्री, २६ बर्षको मिठे भन्ने धनबहादुर क्षेत्री, २८ वर्षिय टेकबहादुर क्षेत्री, २४ वर्षिय प्रकाश क्षेत्री र २० वर्षिय गोपालबहादुर क्षेत्री पनि फरारको सूचिमा छन ।


विभिन्न अपराधको कसुरमा सजाय तोकिएका यी अभियुत्तहरु केही उदाहरण हुन् । उनीहरु अझै पनि फरार नै छन् । जिल्ला अदालतको अभिलेख हेर्दा यो वर्षभरी सजाय तोकिएका २४ वटा घटनाका ४४ जना अभियुक्तहरु फरार रहेको पाइएको छ ।


अदालतको फैसला अनुसार सजाय भोग्नुपर्ने अभियुत्तहरुको खोजी कार्य भइरहेको जिल्ला न्यायाधीश रमेशकान्त अधिकारीले जानकारी दिए । अदालतले जिल्ला प्रहरी कार्यालयमा पनि फरार रहेका अभियुक्तहरुलाई पक्राउ गर्नको लागि नाम, ठेगना र उमेरसहित विवरण राखी पत्राचार गरेको न्यायाधीश अधिकारीले बताए ।


‘विगतको तुलनामा यो वर्ष फरार रहेका अभियुत्तहरु कम छन्,’ न्यायाधीश अधिकारीले भने, ‘भागेर कति दिन नै लुक्न सकिन्छ र सिविलमा रहने प्रहरीले उनको निगरानी गरिरहन्छ । हामी अपराधीलाई सजाय दिलाएरै छाड्छौं ।’


अभिलेख अनुसार ज्यान मार्ने उद्योगमा ६, आगोलागीमा १, लागुऔषधमा ४, जर्वरजस्ती करणी गर्ने ६, जर्वरजस्ती करणी उद्योगमा १, किर्ते ठगीमा ३, कर्तव्य ज्यान मुद्दामा १३, नक्कली खोटा चलनमा १, मानव बेचबिखनमा १, नकबजनी चोरीमा २, ठगीमा ६ जना अभियुक्तहरु रहेका छन् । जिल्ला प्रहरी कार्यालयले विभिन्न सजायका भागीदारहरु अदालतको सुचीमा रहेकाले सोही सुचीअनुसार खोजी कार्य भइरहेको बताएको छ ।


जिल्ला प्रहरी प्रवत्ता डिएसपी प्रकाश विष्टका अनुसार फरार अभियुक्तहरु खोजीको लागि सादा पोसाकमा प्रहरी परिचालन गरिएको र विशेष सुराकी लगाइएको छ ।


‘नागरिकतामा नाम एक थरी हुन्छ,’ विष्टले भने, ‘गाउँमा बोलाउने नाम अर्को हुन्छ । धेरैले नाम चेन्ज गरेका हुन्छन् । अनुहारले चिनिने कुरा भएन ।’ उनले घटना पुरानो हुँदै जाँदा मानिसको अनुहार र नाम फेरिने समस्याले खुलमखुला हिँडेका अभियुक्त पनि समात्न गाह्रो रहेको उनले बताए ।


प्रकाशित : फाल्गुन १६, २०७४ १३:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?