कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बुङ्दीकाली गाउँपालिको नाम परिवर्तन

नारायण शर्मा

नवलपरासी — नवलपरासीको दुर्गम पहाडी बुङ्दीकाली गाउँपालिकाको नाम परिवर्तन गरेर बौदीकाली राखिएको छ ।गाउँपालिकाको मागअनुसार सरकारले बुङ्दीकालीको नाम परिवर्तन गरेर बौदीकाली गाउँपालिका नामकरण गरिएको हो । 

गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर रानाका अनुसार सरकारले राजपत्रमा सूचना प्रकाशन गरेर राखेको बुङ्दीकालीको नाम अबदेखि बौदीकाली र गाउँपालिका केन्द्र डेढगाउँलाई परिवर्तन गरेर बोबोक बनाएको हो ।


मगर समुदायको बाहुल्यता रहेको बौदीकालीको अर्थ सेतो पानी हो । मगर भाषामा बो भनेको सेतो र दी (डी) भनेको पानी हो । गाउँपालिकामा बोदी भन्ने खोला छ । त्यसैको नामबाट बौदीकाली राखिएको थियो । सेतोपानी बग्ने खोला कालीगण्डकीमा मिसिने भएकाले यसअघि नै त्यही खोलाको नामबाट गाउँपालिकाको नामकरण गरिएको थियो । मगर भाषाबाट नामकरण गरिएका कारण त्यसलाई मगर भाषाकै नाम दिन बौदीकाली बनाइएको रानाको भनाइ छ । नयाँ संरचनाअनुसार गाउँपालिका विभाजन र नामकरणमा सरकारले यसअघि तोकेको नाम परिवर्तन गर्ने बौदीकाली पहिलो गाउँपालिका भएको छ ।


गत असारमा सम्पन्न गाउँपालिकाको पहिलो गाउँसभा बैठकले नाम परिवर्तनका लागि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा अनुरोध गरेको थियो । गाउँपालिकाको आग्रहअनुसार सरकारले गत सोमबार राजपत्रमा सूचना निकालेर गाउँपालिकाको नाम र केन्द्र परिवर्तन गरेको हो । ८ वटा स्थानीय तह रहेको पूर्वी नवलपरासीमा ४ वटा गाउँपालिका र ४ वटा नगरपालिका रहेको छ । यहाँको पहाडी ४ वटा गाउँपालिका तनहुसँग सिमाना जोडिएका र मगर समुदायको बाहुल्यता रहेको छ ।

प्रकाशित : फाल्गुन १८, २०७४ १६:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?