कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एम्बुलेन्स पाउनै मुस्किल

‘जिल्लामा एम्बुलेन्स छन् तर चाहिने बेला नपाएपछि समस्या उत्पन्न भएको छ’
आश गुरुङ

लमजुङ — बेंसीसहरस्थित लमजुङ जिल्ला सामुदायिक अस्पतालको इमरेजेन्सी कोठाको ढोकामा १५ वटा एम्बुलेन्सको सम्पर्क मोवाइल नम्बर टाँसेर राखिएको छ ।

एम्बुलेन्स पाउनै मुस्किल

आइतबार राति बेंसीसहर ७, चण्डीस्थानकी नीरमाया कार्की र उनका आफन्तले बेहोसी छोरा हीराबहादुरलाई पोखरा लान सबै एम्बुलेन्सका नम्बरमा सम्पर्क गरे । रातको समय एम्बुलेन्स पाउन निकै सकस पर्‍यो । ‘कसैको फोन उठेन, कसैको स्विच्ड अफ । कोही जाँदै र कोही आउँदै भने । कोही ग्यास्ट्रिकले पेट दुख्यो भन्दै मानेनन् । कसैको बिग्रियो भनेपछि हारगुहार मागें,’ नीरमायाले भनिन्, ‘डाक्टरले छिटो ठूलो अस्पताल लैजाउ भने पनि लान सक्ने अवस्था थिएन । छोरा सुम्सुम्याउँदै बसें ।’ उपचारमा जुटेका डा. दया पन्तसहितको स्वास्थ्यकर्मीले बिरामीलाई छिटो लान आग्रह गरिरहेका थिए । समयमै सुविधासम्पन्न अस्पतालमा नपुर्‍याए जे पनि हुनसक्ने चेतावनी उनीहरूले दिइरहेका थिए ।

बेलुकी ८ बजे अस्पतालको इमर्जेन्सीमा ल्याइएका बालकलाई साढे ४ घण्टापछि राति साढे १२ बजे मात्रै एम्बुलेन्समा राखेर पोखरा लगियो । अस्पतालका कार्यालय सहयोगी भीमबहादुर गुरुङका अनुसार यो उदाहरण मात्रै हो । रातको समय एम्बुलेन्स जान नमानेर समस्या पर्ने गरेको उनले सुनाए । एम्बुलेन्स नपाएपछि दोर्दी गाउँपालिकामा सञ्चालित एम्बुलेन्सलाई बिन्ती गरी बोलाई पोखरा पठाइएको उनले बताए । ‘रातिको समय बिरामी लिएर एम्बुलेन्स जान मान्दैनन् । कोही फोन उठाउँदैनन्, कोही स्विच्ड अफ गरी बस्छन्, कोही बिरामी भयो भन्छन्, कोही गाडी बिग्रियो भन्छन्,’ उनले भने, ‘बिहान भएपछि अस्पतालछेउ एम्बुलेन्सको लर्को लाग्छ ।’ उनका अनुसार धेरै बिरामी र आफन्तले एम्बुलेन्स चालकलाई चिन्दैनन् । खोज्नुपर्ने जिम्मा कार्यालय सहयोगीमा आइपर्छ । ‘आफ्नै मोबाइलको पैसा खर्च गरी एम्बुलेन्स खोज्नुपर्छ । खोज्दाखोज्दै बिरामीलाई झन् समस्यामा पर्ने गरेको छ,’ उनले भने ।

लमजुङ जिल्ला सामुदायिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश साहूले एम्बुलेन्स चालक तथा सञ्चालक रातिको समय जिम्मेवार बन्न नसकेको बताए । एम्बुलेन्समा अक्सिजन राख्ने स्वकृति लिएर पनि कतिपयमा नहुँदा अस्पतालको अक्सिजन दिएर रिफर गर्नुपर्ने अवस्था रहेको उनले बताए । ‘एम्बुलेन्स भनेको सेवाका लागि हो । कहिले कहाँ, कहिले कहाँ भनेर टार्न कहाँ पाइन्छ र ?’ उनले भने, ‘एम्बुलेन्स सञ्चालक र चालकलाई संगै राखेर अभिमुखीकरण गराउनुपर्ने आवश्यकता छ ।’

६२ शय्यको लमजुङ जिल्ला सामुदायिक अस्पतालसँग आफ्नै एम्बुलेन्स छैन । यहाँ संस्था, क्लब, समूह लगायतले एम्बुलेन्स सञ्चालन गर्दै आएका छन् । अस्पतालका प्रशासन प्रमुख युवराज देवकोटाले एम्बुलेन्स ल्याउन सबैतिर निवेदन दिँदा पनि यसको कुनै जवाफ पाउन नसकेको बताए । ‘एम्बुलेन्स ल्याउन भनी लागि धेरै पहल गरियो । तर, सकिएको छैन,’ उनले भने, ‘जिल्लामा एम्बुलेन्स छन् । तर, चाहिने बेला नपाएपछि समस्या उत्पन्न हुने गरेको छ ।’ प्रमुख जिल्ला अधिकारी युवराज मैनालीले एम्बुलेन्सहरू गैरजिम्मेवार बनेको गुनासो आउने गरेको बताए । जिल्लामा करिब ३० एम्बुलेन्स रहेको अनुमान छ । सामुदायिक अस्पतालमा भने स्वास्थ्य संस्थाले सञ्चालन गरेको र नजिकका संघसंस्थाले सञ्चालन गरेको एम्बुलेन्सका सम्पर्क नम्बरमात्रै छन् । ‘एम्बुलेन्स सेवाका लागि हो । त्यसैले भन्सार छुट गराएर ल्याइएको छ,’ प्रजिअ मैनालीले भने, ‘यो गम्भीर विषय भएकाले छिटै विशेष बैठक राखेर कुराकानी गर्छु ।’

प्रकाशित : फाल्गुन २९, २०७४ ११:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?