कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जब कमलमायाले हलो जोतिन्...

लमजुङ — हलोक्रान्ति गर्ने भनी २७ ब्राम्हणले पहिलोपटक २००६ साउन ११ मा दुराडाँडाको अर्चल्यानी बाटेगरामा हलो जोते । त्यसपछि ब्राम्हणले हलो जोत्न हुन्छ भन्ने सन्देश चारैतिर फैलियो ।

जब कमलमायाले हलो जोतिन्...

हलोक्रान्ति गरेको करिब सात दसक पुग्नै लाग्दा सुन्दरबजार नगरपालिका ४, दुराडाँडाको लौसेखेतमा महिलाले हलो जोतेका छन् । पूर्वी नेपालको धनकुटा छिन्ताङबाट आएकी ३० बर्षीया कमलमाया राईले स्थानीयलाई चकित पार्दै ब्राम्हणको खेतमा हलो जोतेकी हुन् । मंगलबार उनले हलो जोत्दा सबैले आश्चर्य मानेका थिए । स्थानीय गाउँफर्क प्राविका शिक्षक लक्ष्मण लामिछाने आफ्नो खेतमा गोरु जोत्दै थिए ।

राईले ‘हलो म जोत्छु बुवा,’ भनेर अनौ समात्न खोज्दा उनले दिएनन् । ‘भो भो नछोऊ नानी । असिना पर्छ, खेतमा भ्वाङ पर्छ । गोरु मर्छ । जोत्न हुँदैन । दुनियाले मलाई के भन्लान्,’ भन्दै उनले ती महिलालाई अनौ समाउन दिएनन् । स्थानीय रामचन्द्र अधिकारीले ‘सबै जिम्मा म लिन्छु, गोरु मरे मै तिर्छु,’ भन्दै अनौ समातेर ती महिलालाई दिएपछि उनले पूर्वबाट पश्चिम फर्केर हलो जोत्न थालेकी हुन् ।

सुरुमा अनौ समात्न नदिएका शिक्षक लामिछाने पछि आफैं दंग परे । राईले हलो जोत्दै गइन् । शिक्षक लामिछाने पत्नी बृन्दाले मकैको बिउ हालिन् भने शिक्षक लामिछाने पछिपछि हिँडे । ‘हामीले कहिल्यै नगरेको काम, नसोचेको काम महिलाबाटै भयो,’ बृन्दाले भनिन् । महिलाले अनौ समात्दै जोत्न थालेपछि भीडबाड बढ्न थाल्यो । पछि जोत्न हुँदैन भन्ने आँट कसैले गरेनन् । ‘मै पनि अचम्म मान्दै थिएँ । हिजो ब्राह्मणले हलो जोत्न हुँदैन भनेर हलो जोत्दा केही भएन । आज महिलाले हलो जोत्न हुँदैन भनिरहँदा के हुन्छ र ? भनेर मैले नै हलोको अनौ समातेर बहिनी (कमलमाया) लाई दिएको हुँ,’ उनले भने ।

कमलमाया राई कामको खोजीमा लमजुङ आएकी हुन् । पूर्वी धनकुटाको छिन्ताङबाट लमजुङसम्म काम खोज्दै आएका उनले बाध्य भएर पति, ४ छोरा र १ छोरीलाई छोडेर आएको बताइन् । गत मंसिरमा घर छोडेर हिँडेपछि इटहरीस्थित भाइबुहारीकामा बस्दै आएका उनी २ दिनअघि मात्रै लमजुङ आएकी हुन् ।

उनी हाल तिनै शिक्षक लामिछानेको घरमा डेरा गरी बसेकी छन् । उनका साथमा अन्य साथी पनि छन् । ‘मैले सानैमा धेरै दु:ख पाएँ । १४ बर्षको उमेरदेखि हलो जोत्दै आएको छु,’ उनले भनिन्, ‘मलाई हाल हलो जोत्दा केही लाग्दैन । महिलाले पनि हलो जोत्न सक्छ भनेर समाजलाई देखाउन चाहन्छु ।’

कक्षा ३ सम्म पढेकी उनको छिन्ताङ क्षेत्रकै हेमकुमार राईसँग २०६० फागुनमा विवाह भएको थियो । त्यतिबेला उनी १७ बर्षकी थिइन् । उनका अनुसार विवाह भएको ६ महिनापछि पतिले अनेक निहुँ खोजेर पीडा दिने र कुटपिट गर्न थाले । उहाँसँग बस्न नसकी म बाहिरबाहिरै हिँडे,’ उनले भनिन्, ‘पहिला बाटो बनाउने काममा हिँड्थें । पोहोर काठमाडौंमा थिएँ । अहिले लमजुङ आएँ ।’ उनले १४ वर्षमै हलो जोत्न थालेको बताइन् ।

प्रकाशित : चैत्र ३, २०७४ ११:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?