कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फिर्के खोला बचाउन रेखांकन

रेखांकनपछि मापदण्ड मिचेर निर्माण गरिएका भवन तथा संरचना हटाइने
कुनै स्थानमा चार फिटमा खुम्चिएको र डम्पिङ साइट बन्दा खोलाको क्षेत्र नै छुटयाउन मुस्किल

लेखनाथ — पोखराको मध्यभागबाट बगेर फेवाताल पुग्ने फिर्के खोला बचाउन रेखांकन सुरु भएको छ । खोलाको सिमाना छुटयाई मापदण्ड विपरीतका संरचना हटाउन पोखरा महानगरपालिकाले बुधबारबाट रेखांकन सुरु गरेको हो ।

फिर्के खोला बचाउन रेखांकन

रेखांकनपछि मापदण्ड मिचेर निर्माण गरिएका भवन तथा संरचना हटाइने महानगरले जनाएको छ । सराङकोटको फेदी अँधेरीकुनाबाट सुरु भएको फिर्के खोला पस्र्याङ, सिद्धार्थचोक, मालेपाटन, मासबार, बैदाम हुँदै फेवातालमा मिसिन्छ । आठ किलोमिटर लम्बाइ भएको खोला ४ देखि ३४ मिटरको चौडाइमा फैलिएको छ । सात किमी अघि बढेपछि मालपोत कार्यालयभन्दा केही माथि गैरीखेतमा बुलौंदी खोलामा मिसिन्छ । त्यसपछि एक किलोमिटर अघि बढेर यो फेवातालमा पुग्छ । महानगरका अमिन दिवाकर सुवेदीका अनुसार फिर्के खोला अँधेरीकुनादेखि बुलौंदीसम्म ४ मिटर र बुलौंदीदेखि फेवाताल मिसिने बिन्दुसम्म ३४ मिटर चौडाइमा फिजिएको छ ।

महानगरले खोलाको अन्तिम बिन्दुबाट रेखांकन सुरु गरेको हो । महानगरपालिका प्रमुख मानबहादुर जीसीले एक साताभित्र खोलाको मुहानसम्म रेखांकन सक्ने लक्ष्य लिइएको बताए । ‘रेखांकन सकिएलगत्तै अल्टिमेटमसहितको १५ दिने सूचना जारी गरेर अतिक्रमित जग्गा छाड्न आग्रह गर्छौं,’ उनले भने, ‘त्यसपछि पनि नहटाए महानगरले डोजर चलाउँछ ।’ डोजर लगाउँदा लाग्ने खर्च अतिक्रमण गर्ने धनीलाई नै तिराउने उनले बताए । पहिलो चरणमा फिर्केको रेखांकन सकेपछि सेती नदीको पनि सिमाना कायम गरेर अतिक्रमित जग्गा फिर्ता गर्ने प्रक्रिया अघि बढाउने उनले खुलाए । पोखराकै बीचबाट बग्ने बुलौंदी खोलाको पनि रेखांकन गरिने महानगरपालिकाका इन्जिनियर महेन्द्र गोदारले बताए । दुवै खोलाको किनारबाट दुवैतर्फ ५–५ मिटर मापदण्डभित्र पर्ने संरचना हटाउने उनले उल्लेख गरे ।

दुई वर्षअघि नागरिक समाज पोखराले फिर्के खोला संरक्षण गर्ने सम्बन्धमा तत्कालिन पोखरा उपहानगरपालिका कार्यालयलाई निवेदन दिएको थियो । उक्त निवेदन परेपछि कार्यालयले अनुगमनका लागि एक समिति नै गठन गर्‍यो । समितिले फिर्के तथा बुलौंदी खोला अनुगमन प्रतिवेदन सार्वजनिक गरेको छ । तत्कालीन उपमहानगरपालिकाका सहरी विकासविज्ञ टेकनाथ सापकोटाले अनुगमनका क्रममा फिर्के खोला अतिक्रमण भएर कुनै स्थानमा चार फिटमा खुम्चिएको, ढल मिसिएर तथा मिनी डम्पिङ साइट बन्दा खोलाको क्षेत्र नै छुटयाउन मुस्किल अवस्थामा रहेको बताएका थिए । उनले प्रस्तुत गरेको प्रतिवेदनमा अँधेरीकुनामा मानवीय हस्तक्षेप नदेखिए पनि त्यसपछि भने तलसम्मै अतिक्रमण गरिएको विवरण छ । प्रतिवेदनमा अर्चलबोटमा समाज भवनलगायतका संरचना निर्माण गरेर खोला पूरै छेकिएको उल्लेख छ । प्रतिवेदनअनुसार खोला अतिक्रमण गरी घर निर्माण भएका छन् । भूपि शेरचन राजमार्गको पुलनजिकै एकतर्फ माटोले पुरेर अतिक्रमण भएको छ भने अर्कोतर्फ डम्पिङ साइट बनेको छ ।

हिमालयन सस तथा भ्याली फुड प्रोडक्टबाट निस्केको फोहोर फाल्ने ठाउँ पनि खोला नै रहेको प्रतिवेदनमा जनाइएको थियो । भयरथान क्षेत्रमा समाज भवन निर्माण गरि फोहोर खोलामै फालिएको, बराल समाजको भवन, अमरज्योति स्कुल र शैलेन्द्र ताङ्बेले घर निर्माण पनि अतिक्रमण गरी बनाएको प्रतिवेदनमा उल्लेख छ । लायन्स क्लब, राधाकृष्ण मन्दिर, गण्डकी बहिरा संघ, पोखरा इन्जिनियरिङ कलेज, लाउन्ड्री, लिटिल स्टेप मावि तथा अन्य निजी घर अतिक्रमण गरी बनाइएको उनको प्रतिवेदनमा थियो । सो क्षेत्रका ढल तथा शौचालयका पाइप खोलामा मिसाइएका छन् ।

नागरिक समाजकै अगुवाइमा फिर्के बुलौंदी बचाउ अभियान नै चलाइएको थियो । फिर्के खोला केन्द्रित ‘किप क्लिन पोखरा’ अभियान नै सञ्चालन गरी तत्काल काम सुरु गरिने योजना अघि सारिएको थियो । खोलाको दायाँबायाँ ग्रीन बेल्ट, पैदल तथा साइकल ट्रयाक निर्माण गरी फेवाताल–सराङकोट साइकल यात्राको महत्वकांक्षी योजना पनि बनाइएको थियो । फिर्के खोलालाई प्रदुषणबाट बचाउन पोखरा उपत्यका बृहत् सफाइ अभियानको सुरुवात फिर्के खोलाबाटै गरिएको थियो । फिर्के खोला प्रदूषणको प्रत्यक्ष असर फेवातालमा पर्ने भएकोले गम्भीर बन्नुपर्ने नागरिक समाजका अगुवा रामबहादुर पौडेलले बताए ।

प्रकाशित : चैत्र ४, २०७४ ११:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?