कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सानुमायाले दिइन् बालगृहलाई ४० लाख

आश गुरुङ

लमजुङ — लमजुङको क्व्होलासोंथर गाउँपालिका ९, गिलुङकी ८० बर्षीया सानुमाया गुरुङले बेंसीसहरमा रहेको बालगृहलाई ४० लाख ११ हजार १ सय ११ रुपैयाँ दिएकी छिन् ।

सानुमायाले दिइन् बालगृहलाई ४० लाख

बेंसीसहरस्थित आदर्श महिला तथा बालविकास केन्द्रद्धारा स्थापित अक्षयकोषमा उनले रकम जम्मा गरेकी हुन् । केन्द्रले बालगृह संचालन गरी द्धन्द्धपीडित तथा असाहय बालबालिकालाई आश्रय दिएर पढाउँदै आएको छ । आइतबार केन्द्रलाई रकम बराबरको चेक हस्तान्तरण गर्दै उनले भनिन्, ‘मैले पोखराको लालीगुराँस टोलमा रहेको घडेरी बेचेर बालबालिका पढाउन सहयोग गरेकी हुँ ।’ उनले संस्थाका तत्कालीन अध्यक्ष स्व. लेखनाथ अधिकारीको ५ औं स्मृति दिवसको औपचारिक कार्यक्रममा संस्थाका कोषाध्यक्ष धनुदेवी पिया र सचिव हुमा गुरुङलाई चेक हस्तान्तरण गरेकी हुन् ।

२०४६ सालमा उनले आदर्श महिला तथा सीप विकास बहुउद्देशीय केन्द्र खोलेर पढ्न नपाएका महिलालाई सीप दिन थालिन् । मुलुकमा सशस्त्र द्धन्द्धको क्रममा बालबालिका टुहुरा हुन थालेपछि २०६० मा अधिकारीलाई अध्यक्ष बनाएर द्धन्द्धपीडित तथा असाहय बालबालिका संरक्षण गृह स्थापना गरेको उनले बताइन् । मुठीदानबाट संचालन गरिएको उक्त बालगृह र सीप विकास केन्द्रलाई मर्ज गरेर २०६६ सालमा आदर्श महिला तथा बालविकास केन्द्रको नामबाट संचालन गरिएको उनले बताइन् ।


सानुमाया अविवाहित हुन् । ‘विवाह गरे अर्काको अधिनमा बस्नुपर्छ । सासुसासुरा, बुढा, बच्चाबच्चीले झेलिएपछि गाह्रो हुन्छ भन्ठानेर बिहे गरिनँ । हुन त आ–आफ्नो विचार हो’ उनले भनिन्, ‘लिनुदिनु कसैसँग केही छैन । मेरो नामको सम्पत्ति मलाई जहाँ दिन मन लाग्छ, त्यहीं दिन्छु ।’ सानै हुँदादेखिको ‘पेवा’ रकमबाट उनले २०३७ सालमा पोखरामा १ रोपनी जग्गा किनेको बताइन् । सचिव हुमा गुरुङका अनुसार बालबालिका पढाउनको लागि १ करोड रुपैयाँ अक्षयकोष स्थापना गर्ने लक्ष्य लिइएको छ ।


सानुमाया गुरुङले ४० लाख ११ हजार १ सय ११ रुपैयाँ दिएपछि कोषमा ७६ लाख पुगेको छ । संस्थाका तत्कालीन अध्यक्ष अधिकारीले आफ्नो अंशको जग्गा विक्रीबाट आधा रकम १० लाख रुपैयाँ जम्मा गरेर अक्षयकोषको सुरुवात गरेका थिए । उनका छोरा विनोदका अनुसार अक्षयकोष आउनेक्रम जारी छ ।


संस्थामा हाल १३ जना बालबालिकाले आश्रय लिइरहेका छन् । बेंसीसहर नगरपालिकाका मेयर गुमानसिंह अर्यालले सामाजिक रुपान्तरणको लागि एकजुट हुनुको विकल्प नभएको बताए । जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख केशवप्रसाद चापागाइँ, लक्ष्मीनारायण पुस्तकालयका अध्यक्ष नाराइनबहादुर सुयेल, बेंसीसहर खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष कृष्णकुमार प्रधान, लमजुङ उद्योग वाणिज्य संघका द्धितीय उपाध्यक्ष गुणराज सिलवाल, लमजुङ जिल्ला सामुदायिक अस्पतालका प्रशासन प्रमुख युवराज देवकोटा लगायतले बालबालिकाको भविश्यका लागि सक्दो सहयोग गर्नुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित : चैत्र ४, २०७४ १८:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?