कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मकै बीउमा किसानको आनाकानी

लमजुङ — कृषि कार्यालयले ५० प्रतिशत अनुदानमा दिन लागेको मकैको बीउ लैजान किसानले आनाकानी गरेका छन् । गाउँघर तथा सहरबजारमा अब पछौटे मकै छर्न बाँकी छ ।

मकै बीउमा किसानको आनाकानी

गत वर्ष २८ टन बिउ वितरण भएकोमा यो वर्ष १४ टन मात्रै किसानले लगेको वरिष्ठ कृषि विकास अधिकृत कृष्णभद्र अधिकारीले बताए । यसमा किसानले ६ टनको भुक्तानी दिन बाँकी छ । उनका अनुसार यो वर्ष १६ टन बिउ वितरणका लागि बजेट विनियोजन गरिएकोमा अझै २ टन वितरण बाँकी छ । समय घर्किएकाले अब किसानले मकैको बिउ नलाने उनले बताए ।

१ किलो बराबर ७५ रुपैयाँमा खरिद गरिएको मकैको बीउ किसानलाई ३७ रुपैयाँ ५० पैसा पर्छ । गत वर्ष प्रतिकिलो ८० रुपैयाँमा खरिद गरी ७५ प्रतिशत अनुदानमा दिइएको थियो । २८ टन सकिएपछि पनि किसान मकैको बीउ खोज्न आएका थिए । यसपटक मकै, धान र गहुँको बीउ खरिदको लागि १० लाख रुपैयाँको बजेट रहेकामा ६ लाख मकैको बीउको लागि विनियोजन गरिएको थियो । गत वर्षभन्दा झन्डै आधा कम परिमाण भएर पनि किसानले बिउ नलगेको उनले बताए ।

उनका अनुसार स्थानीय तहले पनि बीउ बाँड्ने भनेकाले अनुदानमा कटौती भएको हो । ‘अनुदान कटौती गरिएपनि किसानले सबै बीउ लानुपर्ने हो, लगेनन् । गत वर्षको भन्दा अनुदानमा किसानलाई अलि बढी मूल्य परेको छ,’ अधिकृत अधिकारीले भने । उनका अनुसार स्थानीय तहले पनि मकैको बीउ वितरण गरेका छन् । स्थानीय तहमा कार्यक्रम हुने भएकाले कृषिमा अनुदान कटौती भएको उनले बताए । ‘कतिपय गाउँपालिका आफैंले अनुदानमा बीउ वितरण गरेका छन् । कतिपय गाउँपालिकामा कृषि कार्यालयमार्फत गएको छ,’ उनले भने ।

कार्यालयका अनुसार दोर्दी गाउँपालिकाले ७५ प्रतिशत अनुदानमा वितरण गर्ने भनी ६ टन बीउ मकै ल्याएको थियो । सुन्दरबजार नगरपालिकाले १ टन र राइनास नगरपालिकाले २ टन बीउ ५० प्रतिशत अनुदानमा वितरण गरेको उनले बताए । कृषि कार्यालयमा मस्र्याङ्दी, क्व्होलासोंथर र दूधपोखरी गाउँपालिकाका किसानबाट माग आएको छैन । सर्वाधिक बेंसीसहर नगरपालिकाका कृषकले लगेका छन् ।

अधिकारीका अनुसार किसानलाई रामपुर कम्पोजिट, अरुण–२ र मनकामना–३ गरी ३ जातको मकैको बीउ वितरण गरिएको हो । जिल्लाका प्राय: सबै ठाउँमा मकैखेती हुन्छ । कृषि कार्यालयका अनुसार लमजुङ मकै उत्पादनमा आत्मनिर्भर छ । तर, खेत बाँझो राख्ने चलनले उत्पादनमा बढ्न सकेको छैन । जिल्लामा वर्षेनी मकै उत्पादन ४० हजार टन हाराहारी हुने गरेको छ । करबि १६ हजार हेक्टरमा मकै खेती गरिँदै आएको छ ।

प्रकाशित : चैत्र ७, २०७४ ११:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?