कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मुलुक संविधान कार्यान्वयनको जटिल चरणमाः तिमिल्सिना

लालप्रसाद शर्मा

पोखरा — राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संविधान कार्यान्वयनको पहिलो चरण पुरा भएर मुलुक एउटा कठिन अवस्थामा आइपुगेको बताएका छन् ।

मुलुक संविधान कार्यान्वयनको जटिल चरणमाः तिमिल्सिना

राज्यको पुर्नसंरचना भएर तीनवटै तहको निर्वाचन सकिएर सरकारसमेत गठन भईसकेकोले राजनीतिक संक्रमणकाल सकिएको उनको भनाई थियो ।


संविधानले नै व्यवस्था गरेको जनताको अधिकारलाई अब साँच्चिकै व्यवहारिक रुपमा कार्यान्वयन गर्नुपर्ने अवको आवश्यकता रहेको उनले बताए । ‘कार्यान्वयन एउटा गाह्रो काम हो,' पत्रकार महासंघ कास्कीको फेस टुफेसमा बोल्दै बुधबार उनले भने, ‘आमनागरिकले महशुष हुनेगरी अधिकार दिन सकिए संविधान पूर्ण कार्यान्वयन भएको ठानिनेछ ।’ मुलुकलाई समाजवादउन्मुख बनाउन आर्थिक समृद्धि र देशको विकास अपरिहार्य रहेको उनले बताए । ‘नागरिकका सबै अधिकार पाउने वातावरण, रोजगारी, आर्थिकसमृद्धि र समग्र देशको विकासले नै मुलुक समाजवाद उन्मुख हुनेछ,’ उनले भने, ‘सुशासनमा पनि उत्तिकै ध्यान दिनुपर्छ ।’


अहिले सरकार दुई तिहाईको र प्रतिपक्ष कमजोर रहेको भन्ने छ । तर प्रतिपक्ष संख्याका आधाराम ठूलो सानो नहुने भन्दै सोही अनुसार दुवै पक्षम मिलेर अघि बढ्नुपर्ने उनले सुझाए ।


सरकारले गर्ने राम्रा काममा सघाउने र नराम्रो कामलाई रोक्ने काम प्रतिपक्षको रहने उनले बताए । ‘अब हिजोको जस्तो प्रतिपक्षले सरकारले जे गरे पनि बेठिकमात्रै भन्न हुँदैन । सत्तापक्षले पनि प्रतिपक्षलाई पेल्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ,’ उनले भने, ‘राम्रो संस्कारको विकासले मात्र देशक विकासमा सघाउ पुग्छ ।’ प्रतिपक्षको आवाज पनि जनताको भएकाले त्यसलाई पनि कदर गर्दै अघि बढ्नु पर्ने र सरकार सबै नागरिकको अभिभावक भएकाले सबैको जिम्मेवारी लिनुपर्नेमा उनले जोड दिए ।


आफु राजनीतिक व्यक्ति भए पनि अहिलेको जिम्मेवारीले पार्टीका सबै भूमिकाबाट बाहिरिएको र आफ्नो भूमिकाप्रति सचेत रहेको उनले बताए । विधि सुशासन र भ्रष्टचारीलाई कारवाही गर्न सहयोग पुग्ने कानुन बनाउन आफुले सहजीकरण गर्ने उनको भनाई थियो । राष्ट्रिय सभा प्रतिनिधिसभाको छाया नभई एउटै सिक्काका दुई पाटा भएकाले सोही अनुसार भूमिका हुने उनले बताए । केही कर्मचारीले आफ्नो जिम्मेवारी अनुसार काम नगरेको पाएको भन्दै उनले त्यस्तालाई ‘लम्पट’को संज्ञा दिए ।

प्रकाशित : चैत्र ७, २०७४ १४:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?