मकै व्यापार:सानो लगानी सन्तोषको आम्दानी

बिना थापा

कास्की — पोलेको मकै किन्न चाहनेले बाटामा सजिलै पाउँछन् । अझ पोखरामा त खान खोज्ने हो भने बाह्रैमास मकै पाउन सकिन्छ ।


महानगरमा डोकोमा फलफूल र तरकारी बेच्ने चलन पुरानै हो । डोकामा व्यापार गर्न हिँड्नेमध्ये मकै बेच्ने छन् । हरिया घोगा बेच्ने काम प्राय: महिलाले नै गरेका छन् । ‘अरूको घरमा धन्दा गर्नुभन्दा मकै बेच्ने काम सजिलो लाग्छ,’ सिर्जनाचोक बस्ने ४४ वर्षीया मेखमाया तामाङले भनिन्, ‘थोकमा किन्यो, खुद्रामा बेच्यो । जति बेलासम्म मन लाग्छ, त्यति बेलासम्म घुमी(घुमी बेचिन्छ ।’ मजदुरीमा आश्रित महानगरभित्रका थुप्रै परिवारका महिलामध्येकी एक हुन् तामाङ । उनको अनुभवमा सानो पुँजीले गर्न सकिने व्यापारका काम सबै उत्तम छन् । उनले भनिन्, ‘यो डोकामा मकै बेच्ने काम सजिलोचाहिँ होइन । तर, यसमा कसैको किचकिच खप्नु पर्दैन ।’ सधैं बिहान ५ बजे मकै लिन पृथ्वीचोक पुग्ने उनले दिनको तीन घण्टा डोको लिएर डुल्छिन् । ‘पाँच वर्ष भयो । हातमा थोरै–थोरै भए पनि सन्तोषको नाफा छ,’ उनले भनिन्, ‘बच्चाहरूले खाना पकाईखाई गरेर स्कुल जान्छन्, म बिहानको खाना खानेबेला कोठामा पुग्छु, चलेकै छ ।’ उनका श्रीमान् डकर्मी काम गर्छन् । आफूले व्यापार गर्दा घरखर्च चलाउन सजिलो भएको उनले बताइन् ।

Yamaha


पृथ्वीचोक बस्ने ४८ वर्षीया श्रीकला विश्वकर्माको पनि मकै बेच्ने दैनिकी तामाङको जस्तै छ । ‘मैले डोकोमा मकै बेच्न थालेको धेरै भएको छैन, त्यसै बसिराख्नुभन्दा नगद खेलाउन पाइन्छ,’ उनले भनिन्, ‘आठजनाको परिवार छ । मैले पनि एउटा पेसा गर्दा घर चलाउन सजिलो भएको छ ।’ उनको अनुभवमा महानगरमा महिलाले सानो पुँजीले गर्ने थुप्रै प्रकारका व्यवसाय छन् । डोको बोकेर हिँडा परिश्रम पर्छ । त्यसैले डोकोमा तरकारी र मकै बेच्नेहरूका लागि यो पेसा आम्दानीका लागि मात्रै नभई एक प्रकारको शारीरिक कसरत पनि हो । ‘सबैका घरमा बूढाबूढी दुवैले पैसो आउने काम गरे नुन–भुटन टार्न सजिलै हुन्छ,’ उनी भन्छिन्, ‘बूढाको मिस्त्री कामबाट मात्रै घरखर्च धान्न गाह्रो छ ।’

रत्नचोक बस्दै आएकी ५० वर्षीया चन्द्रवती तामाङलाई भने कहिलेकाहीं डोकामा मकै लिएर हिँडा दिक्क पनि लाग्छ । ‘भाडामा बस्ने धेरैजसोले केही नभनी खुरुक्क लिन्छन्, घरबेटीहरूचाहिँ २५ रुपैयाँ घोगा भन्यो भने पनि सस्तो देऊ भनेर मोलमोलाइ गर्छन्,’ उनले भनिन्, ‘व्यापार गर्न हिँडेकाले रिसाउन पनि भएन ।’ मकै बेच्ने पेसा गर्नुअघि उनी श्रीमान्सँगै घर बनाउने काममा मजदुरी गर्थिन् । ‘सधैं बलको काम गर्न सकिँदैन भनेर मकै बेच्न थालेको,’ उनले भनिन्, ‘सानो भए पनि व्यापार भनेको व्यापार नै हो ।’ उनको अनुभवमा पछिल्ला केही वर्षयता नुन, तेल, पिरो र मसला भएका खानेकुरा धेरै खाए स्वास्थ्यलाई खराबी गर्ने भएकाले सुख्खा रोटी र तरकारीका खाजा पसल खोज्न हिँडेको जस्तै छ मकैको व्यापार । ‘हरियो मकै खानुपर्छ, स्वास्थ्यलाई राम्रो गर्छ भन्ने चेतना मान्छेमा बढेको छ,’ उनले भनिन्, ‘यो व्यापारमा धेरै नाफा छैन, हात खाली नै पनि हुँदैन । जति हुन्छ ठीकै भन्नुपर्छ ।’

पोखरामा चटपटे, फलफूल र मकै आदि डोकोमा लिएर सडक पेटीमा खुद्रा व्यापार गर्न बस्नेलाई महानगरपालिकाले निषेध गरेको छ । बाटामा बसेको भेटे नगर रक्षक आएर सामान खोसेर लैजान्छन् । गाडीका यात्रु नै मुख्य ग्राहक भएकाले चटपटे र फलफूल बेच्नेहरू नगर रक्षकका आँखा छलेर बस बिसौनी आसपास बस्न छाडदैनन् । मकै र तरकारी बेच्नेहरू भने आवासीय क्षेत्रमा घुमेर बेच्न निस्कन्छन् । महानगरको बजार क्षेत्रमा मकै पोलेर बेच्नेहरू तीन दर्जन र डोकोमा डुलाएर बेच्नेहरू करिब चार दर्जन रहेको यो व्यापारमा संलग्नले बताए ।

पोखरामा आइपुग्ने हरिया मकै अधिकांशत: तनहुँका विभिन्न भागबाट दमौली हुँदै आइपुग्छन् । लेकाली क्षेत्रमा मकै छिटो तयार हुँदैन । पहाडी क्षेत्रका मकै आएर निख्रिने बेलामा बजारमा लेकाली क्षेत्रका मकै आइपुग्छन् । त्यसैले मकैको व्यापारमा मौसमी र बेमौसमी भन्ने नभएको व्यापारीले बताए ।

प्रकाशित : चैत्र १०, २०७४ ११:३०
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

परिवार नियोजन गर्ने बढे

स्थायी परिवार नियोजन गराउनेमा ५६ पुरुष र ४५ महिला
बिना थापा

कास्की — जिल्लामा परिवार नियोजन गर्ने महिला र पुरुषको संख्या बढेको छ । सजिलो विधि र सुलभ सेवासँगै जनचेतनाको स्तर वृद्धिका कारण यस्तो भएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । 

जनस्वास्थ्यले गत पुस २० देखि स्वास्थ्य चौकीहरूमा परिवार नियोजन शिविर सञ्चालन गरिरहेको छ । गत बिहीबारसम्मको तथ्यांकअनुसार शिविरमा परिवार नियोजन गराउने १ सय २७ जना पुगेका छन्, जसमा भ्यासेक्टोमी ८२ जना पुरुष र मिनिल्याप सेवा ३१ जना महिलाले लिएका छन् ।
अन्यले अस्थायी बन्ध्याकरणको सेवा लिएको परिवार नियोजन अधिकृत सन्तोष पौडेलले बताए । उनका अनुसार माघ १९ सम्म दिइने शिविरमा सेवाग्राही दुई सय जना नाघ्ने अनुमान छ ।
गत वर्ष सञ्चालित शिविरमा स्थायी र अस्थायी गरी १ सय ८३ जनाले परिवार नियोजनको सेवा लिएका थिए । स्थायी परिवार नियोजन गराउनेमा ५६ पुरुष र ४५ महिला थिए । ८२ जनाले अस्थायी बन्ध्याकरणको सेवा लिएका थिए ।
‘जनचेतना बढेकाले स्थायी बन्ध्याकरण गर्नेको संख्या पनि बढदै छ,’ उनले भने । जनस्वास्थ्य कार्यलयका अनुसार आर्थिक वर्ष २०७४/७५ को साउनदेखि मंसिरसम्ममा परिवार नियोजनका विभिन्न अस्थायी साधन प्रयोगकर्ताहरू १७ हजार ५ सय २९ छन् । यिनमा पिल्स प्रयोगकर्ता १ हजार ४ सय ७३, डिपो २ हजार ३ सय ७१, आईयूसीडी ७ हजार ७ सय ५४ र इम्प्लान्ट सेवा लिने ५ हजार ९ सय ३१ छन् । जनस्वास्थ्य प्रमुख दिनेश चापागाईँका अनुसार स्थायी बन्ध्याकरण पुरुषले गर्दा राम्रो हुने कुरा बुझ्ने बढेका छन् । ‘बन्ध्याकरणले सुखी परिवार हुनुका साथै विभिन्न समस्याहरू किनारा लाग्छ,’ उनले भने ।
८ र ४ वर्षका छोरापछि चार महिनाकी छोरी रहेकी हेटौंडा घर भई भरतपोखरी बस्दै आएकी २४ वर्षीया विनिता लामाले मंगलबार स्थायी बन्ध्याकरण गराइन् । ‘गाह्रो हुन्छ, कमजोरी हुन्छजस्तो लागेको थियो तर सजिलै रहेछ,’ उनले भनिन्, ‘श्रीमानसँग सल्लाह गरेर परिवार नियोजन गरेकी हुँ । सन्तान
जन्माएर मात्रै भएन, जन्मेकालाई राम्ररी हुर्काउन ठिक्क भएकै राम्रो ।’ स्थायी परिवार नियोजन गरेको पोखराको अर्मलाका ३६ वर्षीयकमल कार्कीले परिवार नियोजनको सेवा सजिलो लागेको बताए । ‘एउटा छोरा भयो, पुग्यो भनेका थियौं,’उनले भने, ‘१० वर्षपछि झुक्किएर छोरी भई, अनि अब स्थायी बन्ध्याकरण गराएको ।’
आफ्नो चाहनाअनुसार छोरी भएपछि अर्को सन्तान नहोस् भनेर परिवार नियोजन गरेको अर्मलाका दीपक परियारले बताए । ‘परिवार नियोजन गर्दा केही समस्या आउने रैनछ,’ उनले भने, ‘जीवन सुखी बनाउन सन्तान ठिक्क र आफूले सजिलोसँग हुर्काउन सकिने संख्यामै हुनुपर्छ ।’ ४३ वर्षीय परियारका १९ र १८ वर्षका छोरा र ७ वर्षीयाछोरी छन् ।

प्रकाशित : माघ १४, २०७४ ०७:३५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT