कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ट्रयाक्टर चलाएरै आम्दानी

आश गुरुङ

लमजुङ — सीप भए गाउँमै बसेर पनि राम्रै आम्दानी लिन सकिन्छ । जीवन सुखसाथ चल्छ । गोरखाको काशीगाउँका ३० वर्षीय आशबहादुर गुरुङले यस्तै गरेका छन् ।

ट्रयाक्टर चलाएरै आम्दानी

ट्रयाक्टर (पावरटिलर) जोतेरै परिवारको पालनपोषण गर्दै आएका छन् ।

उनको कमाइ महिनाको ३० हजार घट्दैन । पहिलेको एक हल खेत उनी मिनी टिलरबाटै एक घण्टामै जोत्छन् । यसअघि हलो जोत्दा दिनभर ५ सयमा चित्त बुझाउन बाध्य उनी १ घण्टामै ८ सय रुपैयाँ कमाउँछन् । खेतधनीको ट्रिलर भए १ घण्टाको ८ सय रुपैयाँ लिन्छन् । आफैंले लगेमा हजार लिन्छन् । ठूल्ठूला फाँट तथा असारे खेतमा पावर टिलरको प्रयोग गरिने उनी बताउँछन् । पावर टिलर भने उनको छैन । अरूको प्रयोग गर्नुपर्छ ।

सिजनमा उनले दैनिक ४ देखि ५ घण्टासम्म काम गर्छन् । धनीकै ट्रयाक्टर भए पनि कम्तीमा ३ हजार रुपैयाँ हात पर्छ । सधैं काम आउने कुरा पनि हुँदैन । ट्रयाक्टर मर्मत र तेल खर्च कटाएर महिनाको ४० हजार रुपैयाँ बच्ने उनले सुनाए । फागुन–चैतबीचका १ महिना, कात्तिक–मंसिरबीचको एक महिना र असारमा उनलाई भ्याइनभ्याइ हुन्छ । ३ महिना उनी दैनिक ट्रयाक्टर जोत्छन् । अरू बेला उनी मुढा बुन्छन् । मुढा बुन्न सिकाउँछन् ।

ट्रयाक्टर जोतेको मात्रै आम्दानी जोड्ने हो भने ३ महिनाको सवा १ लाख पुग्ने उनी बताउँछन् । अरू बेला ट्रयाक्टर जोतेर खासै राम्रो कमाइ हुँदैन । अरू बेला उनी ट्रयाक्टर जोतेर उनी मासिक १०/१५ हजार आम्दानी गर्ने गर्छन् । मुढाको आम्दानी जोड्ने हो भने मासिक ३० देखि ४० हजार पुग्छ ।

४ वर्षदेखि लमजुङ बसेका उनले ट्रयाक्टर जोतेको ३ वर्ष भएको बताउँछन् । ९ वर्ष विभिन्न गैरसरकारी कार्यालयमा जागिर खाएर लमजुङ बस्दै आएका उनी मिनी ट्रिलर र पावर ट्रिलर दुवै चलाउँछन् । पत्नी र छोरालाई चितवन राखेर उनी लमजुङमा काम गर्छन् । आईए पास गरेको सर्टिफिकेट उनको सिरानीमा छ । उनलाई विदेश जान मन लाग्दैन । ‘विदेशमा गए योभन्दा गाह्रो काम गर्नुपर्छ । आफ्नै गाउँठाउँमा दु:ख नभएको होइन । काम पनि छ, दाम पनि छ ।’ उनका अनुसार कमाउन खाडी मुलुक नै जानुपर्दैन । ट्रयाक्टरले काम छिटो भएपछि समयको बचत गराएको छ । उनले बेंसीसहर, भकुन्डे, उदिपुर, भोटेओडार, पाउँदीलगायत क्षेत्रमा जोत्दै आएका छन् ।

प्रकाशित : चैत्र २०, २०७४ ०९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?