कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गाउँमा नौमती बाजा जागरण

परम्परागत बाजा हराउन नदिन बाजा समूह गठनको लहर सुरु
राम्रो आम्दानी देखेपछि विदेशबाट घर फर्केका युवाको पनि चासो बढ्यो

दमौली — यहाँ नौमती बाजा बजाउनु अझै पनि परियार समुदायको पुर्ख्यौली पेसा मानिन्छ । बाजाका तालमा नाच्ने थुप्रै हुन्छन् तर, बजाउन सिपालु पहिले–पहिले दलित समुदायका मात्रै हुन्थे । विस्तारै सामाजिक मान्यतामा परिवर्तन आउन थालेको छ ।

गाउँमा नौमती बाजा जागरण

पाँच वर्षअघिसम्म पनि तनहुँका विभिन्न गाउँमा परियार समुदायले नौमती बाजा बजाएप्छि मात्रै शुभकार्य गर्ने गरिन्थ्यो । समाज परिवर्तनसँगै पुराना पुस्ताबाट नयाँले बजाउन नसिक्ने र मन नगर्ने भएपछि उक्त समुदायबाट बाजा बजाउने घटे । काम गर्दैरहेका समूहमा पनि अरू पेसामा जाने क्रम बढ्यो । युवापुस्ता वैदेशिक रोजगारी र अरू पेसामा लागिपरे । परम्परागत बाजा हराउन नदिन अब गाउँ–गाउँमा नौमती बाजा समूह गठनको लहर सुरु भएको छ । मगर र गुुरुङ समुदायबाट यसको अगुवाइ सुरु भएको छ ।

भिमाद २ रघु टेक्रेकका ५० घरधुरीले गाउँमा नौमती बाजाका लागि प्रतिव्यक्ति हजार रुपैयाँका दरले चन्दा संकलन गरे । गाउँलेको उत्साह देखेर प्रवासबाट गाउँका युवाहरूले ४० हजार रुपैयाँ सहयोग गरे । संकलित रकमबाट नौमती बाजा खरिद गरेर संरक्षणमा जुटेको मगर पञ्चेबाजा समूहका अध्यक्ष होमबहादुर थापाले बताए । ‘गाउँमा नौमती बाजाको आवश्यकता महसुस भयो,’ उनले भने, ‘गाउँ भेलाले नौमती संरक्षण गर्ने निर्णय गरियो ।’

बाजा ल्याएपछि समूह बनाएर बजाउन सुरु गरिएको छ । गाउँमा विवाहलगायत शुभकार्यमा बाजाको माग हुन्छ । ‘नौमती जोगाउने भन्ने अभियानले संस्कृति संरक्षणमा थोरै भए पनि काम गरेको अनुभव गरायो,’ उनले भने, ‘साथमा आम्दानी पनि हुन थालेको छ ।’ शुभकार्य तथा विवाहमा एक दिनको १५ हजारदेखि ४० हजार रुपैयाँसम्म लिने गरिएको उनले बताए । समूहले जानुपर्ने दूरीअनुसार पारिश्रमिक लिने गरेको छ ।

रघु टेक्रेकमा जस्तै भिमाद ३ नरिकोटमा पनि मगर समुदायले नौमती बाजा समूह बनाएका छन् । गाउँका २५ जनाले नरिकोट कोटभैरव नौमती बाजा समूह बनाएर अभियान थालेका हुन् । पञ्चेबाजाका लागि तत्कालीन माझकोट गाविसले ५० हजार रुपैयाँ निकासा दिएको थियो । समूहका अध्यक्ष देवेन्द्र थापाले भने, ‘गाउँमा पनि चन्दा संकलन गर्‍यौं । १ लाख ६० हजारमा बाजा खरिद गरेर गाउँमा तालिम पनि लियौं ।’ उक्त समूह अहिले नौमती बाजा बजाउन उत्कृष्ट समूहमध्येमा पर्छ ।

नौमती बाजाबाट राम्रो आम्दानी आउन थालेपछि विदेशबाट घर फर्केका युवाले पनि रुचाएका छन् । गाउँका कुमार, प्रकाश थापा, लीलबहादुर र भानबहादुर राना अहिले बाजा बजाउन सिपालु भइसकेका छन् । प्रकाश थापाले भने, ‘यो खासमा जातको कुरा होइनरहेछ, यो सीप रहेछ । सिक्नैपर्ने भन्ने बुझियो ।’

लोप हुँदै गएको नौमती बाजाको संरक्षणसँगै रोजगारी पनि मिलेको उनले बताए । कतै बजाउन जाँदा हुने आम्दानीमा १० प्रतिशत समूहको कोषमा रकम जम्मा गरे पनि एकपटकमा प्रतिव्यक्ति आठ सयदेखि दुई हजार रुपैयाँसम्म आम्दानी हुने गरेको छ । नरिकोट कोटभैरव नौमती बाजा समूहलाई लगनको दिन र शुभकार्यमा एक दिन खाली बस्न नपरेको उनले बताए ।

तनहुँकै छिपछिपेका युवा पनि नौमती बजाउन लागिपरेका छन् । देवघाट गापा २ छिपछिपेका जमडाँडा, कवराखोला र द्वारगौंडा गाउँका १७ देखि ३५ वर्ष उमेर समूहका युवाहरू संरक्षण अभियानमा लागेका हुन् । यहाँ यस्तो अभियान थालिएको चार वर्ष भएको छ । संयुक्त युवा क्लब गठन गरेका युवा नौमती बाजा संरक्षणमा अगाडि छन् ।

‘मगर र गुरुङ समुदायका युवाहरूले नौमतीमा ध्यान दिएका छन्, यसले बाजा संरक्षणसँगै आम्दानी पनि दिएको छ,’ क्लबका अध्यक्ष सुजन थापाले भने, ‘गाउँ र बजारमा मेला पर्व, शुभकार्य जता पनि बाजाको माग हुन्छ ।’

प्रकाशित : वैशाख ३, २०७५ ११:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?