कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दुर्लभ रेडपान्डाको गणना अझै अनिश्चित

गणना प्राविधिक कारणले रोकियो
हाब्रे अवलोकनको व्यवस्था गर्न सके राजस्व बढ्ने
प्रकाश बराल

बागलुङ — ढोरपाटनमा पाइने दुर्लभ वन्यजन्तु रेडपान्डा (हाब्रे) को संरक्षणका लागि थालिएको पहल अलपत्र परेको छ । गणना नै नभएपछि संरक्षणका लागि कार्यक्रम आउन नसक्दा यस्तो भएको हो ।

दुर्लभ रेडपान्डाको गणना अझै अनिश्चित

ढोरपाटन आरक्ष क्षेत्र र आसपासका जंगलमा बेला बेला देखिने यो जन्तु चोरीसिकारको जोखिममा परेको छ । वन्यजन्तु चोरीसिकारीमा संलग्न र उनीहरूका साधन बरामद भइरहँदा अरू जनावरजस्तै हाब्रे पनि संकटमा परेको हो । ‘हरेक वर्ष कति मारिन्छन्, कति छन् भन्ने प्रष्ट छैन,’ आरक्षका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले भने, ‘गणना गर्ने भनियो तर, प्राविधिक कारणले रोकिएको थियो, अझै सुरु भएको छैन ।’

तीन जिल्लमा फैलिएको आरक्षको सुरक्षाका लागि बागलुङतर्फ नेपाली सेनाको हनुमानध्वज गुल्म बसेको छ । तर, आरक्षले ठूलो क्षेत्र ओगटेकाले समय–समयमा चोरीसिकार बढिरहेको पक्राउ र साधन बरामदीका घटनाले पुष्टि गरेको उनले बताए । गुल्मले पनि अनुगमनको क्रममा चोरीसिकारका लागि प्रयोग हुने पासो, छाला र हाड बरामद गरिरहेकाले सिकारीको अवैध आवागमन नरोकिएको गुल्मपति अमरजंग बस्नेतले बताए ।

आरक्षले बेलायती संस्था रुफर्डको सहयोगमा पहिलोपटक भन्दै तीन वर्षअघि हाब्रे गणनाको तयारी गरेको थियो । आरक्षका सातवटै ब्लकमा रेडपाण्डा देखिने गरेको गुल्मपति बस्नेतले बताए । ‘हामीले गस्तीको समयमा हाब्रे पनि देखेका छौं तर एरिया ठूलो भएकाले चोरीसिकार नियन्त्रणमा ठूलो चुनौती छ,’ उनले भने, ‘नियन्त्रणका लागि सेनाले कारबाही गर्ने वा गस्ती गर्ने मात्र समाधान होइन, आसपासका जनतालाई संरक्षणबारे जागरुक पनि गराउनुपर्छ ।’ आरक्ष कार्यालयमा सीमित जनशक्तिले सबै ब्लकको नियमित काम मात्र भ्याएको संरक्षण अधिकृत बरालले बताए । आरक्षमा ७२ जनाको दरबन्दी छ, सबै व्लक र मूल कार्यालयमा गरी ४२ मात्रै कर्मचारी छन् ।

रेडपान्डाको गणनाका लागि आवश्यक प्रविधि र जनशक्तिसमेत नेपालमा अभाव छ । यातायात र सञ्चारबाट समेत पहुँचमा नभएकाले ढोरपाटन सिकार आरक्षका अन्य वनस्पति र जनावरको गणनामा समस्या पर्दै आएको छ । ठूलो खर्च लाग्ने र सहज पहुँच नपुग्दा अत्यावश्यक काम पनि पछाडि परिरहेको संरक्षण अधिकृत बरालले बताए । आकर्षक जीउडाल र लजालु स्वभाव हुने हाब्रे अवलोकनको व्यवस्था गर्न सके पनि राजस्व बढाउन सकिने उनले बताए । विश्वमा दुर्लभ मानिने उक्त जन्तु नेपाल, चीन, भारत र भुटानमा पाइन्छ ।

प्रकाशित : वैशाख ४, २०७५ ०९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?