कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सिक्लेसमा पनि होमस्टे धमाधम

आश गुरुङ

काठमाडौँ — मादी गाउँपालिका १ सिक्लेसमा घरवास (होमस्टे) सुरु भएको छ । करिब ५ सय घरधुरीको सिक्लेसमा १५ घरधुरीमा होमस्टे सुरु गरिएको हो ।सिक्लेस हर्पुथरका ३२ वर्षीय टुपन गुरुङले २ कोठामा ४ बेड राखेर होमस्टे सुरु गरिएको बताए ।

सिक्लेसमा पनि होमस्टे धमाधम

रोजगारीका लागि ९ वर्ष कतार बसेर गत कात्तिकमा मात्रै गाउँ फर्केका उनले होमस्टे सञ्चालन गरेको बताए । पर्यटकका लागि सफा बेड, शौचालय र बाथरुमको व्यवस्था रहेको उनले
बताए । ‘गाउँमा आउने पर्यटकलाई ध्यानमा राखेर होमस्टे सञ्चालन गर्न थालेका छौं,’ उनले भने । गाउँमै पाइने लोकल चामल, ढिँडो, झिलिंगा, निउरो, सिस्नो, साग र रोटीलगायत परिकार बनाएर पर्यटकलाई खुवाउने गरिएको उनले बताए । धप्राङथरका शेसुवा गुरुङले २ कोठामा ८ बेड बनाएर होमस्टे सुरु गरिएको बताए । ‘२/३ वर्षदेखि पर्यटक राख्दै आएका छौं । होमस्टे भनेर हालबाट सुरु गरेका हौं,’ उनले भने ।

होमस्टे व्यवस्थापन उपसमितिका अध्यक्ष टाइमाया गुरुङका अनुसार गाउँका १५ घरमा सुरुवात गरिएको छ । यीमध्ये धेरै सञ्चालनमा आएका छन् भने केही तयारीमा छन् । उनी आफैंले ३ कोठामा बेड राखेर होमस्टे सञ्चालन गरेकी छन् । होमस्टेको सुरुवातसँगै यसको व्यवस्थापनका लागि गाउँमा १५ दिने व्यवस्थापन तालिम सुरु गरिएको उनले बताए । उनीहरूलाई राम गुरुङले प्रशिक्षण दिइरहेका छन् । ‘हामीले लमजुङको घलेगाउँ र भुजुङमा सञ्चालित होमस्टे हेरेर आयौं,’ टाइमायाले भनिन्, ‘त्यसपछि हामीलाई पनि होमस्टे चलाउने जाँगर पलायो ।’ उनका अनुसार गाउँमा होटलहरू सञ्चालनमा छन् । ‘होटलले मात्रै पर्यटक धान्न सक्दैन । सबै पर्यटक होटलमा बस्छन् भन्ने छैन,’ उनले भनिन्, ‘गाउँ भएकाले होमस्टे नै खोज्ने रहेछन् ।’

होमस्टे व्यवस्थापन तालिमका लागि घरेलु तथा साना उद्योग विकास समितिमार्फत नेस्ट नामक गैरसरकारी संस्थाले सहयोग गरेको छ । होमस्टेको व्यवस्थापनका लागि प्राविधिक सहयोग गर्दै आएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले इलाका संरक्षण कार्यालय सिक्लेसका कार्यालय प्रमुख उत्सव न्यौपानेले बताए । एक्यापका पर्यटन सहायक विदुर अधिकारीका अनुसार सिक्लेस इलाका कार्यालयले वार्षिक २२ लाख रुपैयाँ बजेट पर्यटन क्षेत्रमा विनियोजन गर्दै आएको छ । उनका अनुसार ६ वर्षअघि ताङतिङमा होमस्टे सुरुवात गरिएको थियो । गत वर्षदेखि वार्चोक र चालु वर्ष सिक्लेसमा सुरु गरिएको उनले बताए । यसअघि होटल व्यवस्थापन उपसमितिअन्तर्गत १२ होटल दर्ता भएकोमा ८ सञ्चालनमा छन् । होटलले सहरबजारमा पाइने परिकार बिक्री गर्छन् भने होमस्टेले ग्रामीण भेगमा पाइने परिकार तयार पार्छन् ।

सिक्लेसमा सुरुवात गरिएको होमस्टेको शुक्रबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरे । ‘ग्रामीण भेगका नागरिकको जीवनस्तर उकास्न होमस्टेले ठूलो मद्धत पुग्नेछ,’ उनले भने, ‘होमस्टेको व्यवस्थापनमा जोड दिएमा यसले पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्नेछ ।’ उनले हरेक होमस्टे गाउँबाट अर्को होमस्टे गाउँसम्म पुग्ने बाटोको आवश्यकता रहेको बताए । ५ वर्षभित्रमा प्रदेश ४ का ३ सय गाउँमा होमस्टे सञ्चालन गर्ने योजना यसअघि नै सार्वजनिक गरेका उनले पर्यटनको माध्ययमबाट ग्रामीण क्षेत्रको समृद्ध बन्न सक्ने उनले बताए । ‘जलविद्युत्, पर्यटन र कृषिका माध्ययमबाट प्रदेशलाई समृद्ध बनाउन सकिन्छ,’ उनले भने ।

पोखराको काहुँखोलाबाट ४५ किलोमिटर उत्तरतर्फ पर्ने सिक्लेस नेपालको ठूलो गुरुङ गाउँमध्ये एक हो । यहाँबाट ५ देखि ६ घण्टामा अन्नपूर्ण र लमजुङ हिमालको काखमा समुद्री सतहदेखि २ हजार ४ सय ५० मिटर उचाइमा रहेको हिमताल पुग्न सकिन्छ । उक्त हिमताल नेपालमा सबैभन्दा कम उचाइको हिमताल मानिन्छ । उक्त ताल घुम्न बर्सेनि पर्यटक आउने गरेको स्थानीय देवीजंग गुरुङले बताए ।

प्रकाशित : वैशाख ८, २०७५ १०:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?