कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कांग्रेस संसदीय दलको नेता नेपाली बन्दै

पार्टी महामन्त्री शशांक कोइरालाको अनुरोधमा सभापति शेरबहादुर देउवाले सहमति जनाएपछि नेपालीको नाम टुंगोमा

काठमाडौँ — प्रदेशसभामा कांग्रेस संसदीय दलको नेतामा कृष्णचन्द्र नेपाली छनोट हुने भएका छन् । निर्वाचन सम्पन्न भएको पाँच महिनापछि कांग्रेसले प्रदेश ४ को संसदीय दलको नेतामा नेपालीलाई चयन गर्ने भएको हो ।

कांग्रेस संसदीय दलको नेता नेपाली बन्दै

कांग्रेसका नवलपरासीका सभापति तथा प्रदेशसभा सदस्य विष्णु लामिछानेका अनुसार विपक्षी दलको नेतामा नेपालीको नाममा पार्टी महामन्त्री शशांक कोइराला र सभापति शेरबहादुर देउवाबीच सहमति भएको हो । नेपाली पूर्वी नवलपरासीबाट प्रदेशसभामा निर्वाचित भएका हुन् ।


कांग्रेस ससदीय दलको नेतामा नेपालीसहित बागलुङका मणिभद्र शर्मा कँडेल र कास्कीका विन्दुकुमार थापाको दाबी रहेको थियो । पार्टी महामन्त्री कोइरालाको अनुरोधमा सभापति शेरबहादुर देउवाले सहमति जनाएपछि नेपालीको टुंगो लागेको लामिछानेले आइतबार बताए ।


७३ वर्षीय नेपाली नवलपरासी कांग्रेसमा १६ वर्षसम्म लगातार जिल्ला सभापति भइसकेका हुन् । पार्टीको अघिल्लो समितिमा उनी केन्द्रीय सदस्य थिए । ‘प्रदेशसभामा हामी कांग्रेसका १५ सांसदमध्ये सबैभन्दा वरिष्ठ र प्रभावशाली रहेका कारण उहाँलाई नेतामा छनोट गरिएको हो,’ सांसद लामिछानेले भने । प्रदेशसभामा पार्टीका प्रत्यक्षतर्फ निर्वाचित ६ र समानुपातिकतर्फ ९ सांसद छन् । पार्टी महामन्त्री शशांक कोइराला प्रदेश ४ बाट संघीय संसद्मा निर्वाचिन कांग्रेसका एक्ला सांसद हुन् । कोइरालाकै निर्वाचन क्षेत्र १ को प्रदेश ‘क’ बाट नेपाली निर्वाचित भएका हुन् ।


जेष्ठता र पार्टी राजनीतिमा प्रभावशाली मानिने भन्दै नेपालीको पक्षमा अर्का दाबेदार कँडेलले समर्थन जनाएपछि उनी विपक्षी दलको नेता बन्ने पक्का भएको हो । तनहुँमा जन्मिएका नेपाली विगत ४० वर्षदेखि नवलपरासीको राजनीतिमा सक्रिय छन् । उनी दुई पटक ससदीय निर्वाचनमा थोरै मतान्तरले पराजित भएका थिए । कांग्रेसले अन्य पाँचवटा प्रदेशमा संसदीय दलको नेता चयन गरिसके पनि पार्टी महामन्त्रीको प्रदेश ४ र सभापति शेरबहादुर देउवाको प्रदेश ७ मा ढिलाइ भएको छ ।

प्रकाशित : वैशाख ११, २०७५ १०:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?