कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

महोत्सवको तयारीमा जुट्यो पसगाउँ

आश गुरुङ

लमजुङ — शान्ति स्थापनापछि पनि अपेक्षाकृतरूपमा पर्यटक गाउँमा आउन नसकेको भन्दै क्व्होलासोंथर गाउँपालिका ६ पसगाउँका बासिन्दा महोत्सव गर्ने तयारीमा जुटेका छन् ।

महोत्सवको तयारीमा जुट्यो पसगाउँ

दुई वर्षअघि सातौं महोत्सव गरेका स्थानीयले यसपटक वैशाख २६ र २७ मा आठौं पसगाउँ महोत्सव गर्ने भएका हुन् । आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्न महोत्सव आयोजना गर्न लागेको दूधपोखरी युवा क्लबले जनाएको छ ।

क्लबका निवर्तमान अध्यक्ष सूर्यप्रसाद गुरुङले द्वन्द्व सकिएर शान्ति स्थापना भइसक्दा समेत पसगाउँमा आशा गरिएअनुसार पर्यटक आउन नसकेको बताए । ‘प्रकृति र संस्कृतिले धनी पसगाउँमा हामी पर्यटकलाई स्वागत गर्न चहान्छौं,’ उनले भने । महोत्सवकै दिन पारेर गाउँकै क्यु–पसगाउँ मोटरटबाटोको उद्घाटनसमेत गरिने उनले बताए । ‘हामी बेंसीसहर र पोखरासँग अब सडक सञ्जालले जोडिएका छौं । यसअघि सडक थिएन । हाल सडक गाउँसम्मै पुगेको छ,’ उनले भने, ‘अब हाम्रो गाउँमा पर्यटक आउने छन् भनी हामी आशावादी छौं ।’

पसगाउँवासीले गाउँको प्रचारमा टेवा पुर्‍याउन २/२ वर्षको अन्तरालमा २०६० यता महोत्सव आयोजना गर्दै आएका छन् । क्व्होलासोंथर ६ पसगाउँका वडाध्यक्ष मनलाल गुरुङले गाउँमा २५ होमस्टे सञ्चालनमा रहेको बताए । ‘पर्यटक आउँदै नआउने होइनन्, हाम्रो अपेक्षा अलि धेरै संख्यामा आउन् भन्ने हो,’ उनले भने, ‘एकताका धेरै आउन थालेपछि होमस्टेका लागि सबै इन्तजाम गर्‍यौं, अहिले कम आउँछन् ।’ गाउँको प्रचार हुन सके पर्यटनबाट सबैले लाभ पाउने उनले बताए । पसगाउँ मात्रै नभई क्होंम्रेडाँडा, छेदोपुँ र ङ्ह्योजे लगायतमा पर्यटक पुग्दा रमाइलो मान्ने स्थानहरू यो भेगमा रहेको उनले प्रष्ट्याए ।

यसपटक महोत्सवमा लोपोन्मुख घाँटु, कृष्णचरित्र, सारंगीनाच, आमा समूह र युवा समूहको पौराणिक नृत्यलगायत देखाउने तयारी भइरहेको छ । महोत्सवमा अलैंची र चिया बगानको दृश्यावलोकन, स्थानीय गुरुङ खाना महोत्सव, प्राकृतिक दृश्यावलोकन, स्थानीय तथा राष्ट्रिय कलाकारहरूको प्रस्तुतिलगायतका कार्यक्रम राखिएका अध्यक्ष गुरुङले बताए । ‘गाउँबाट आधा घण्टामा ङ्ह्योजे पुगिन्छ । तीन दिशातिर हिमाल देखिन्छ । टाढाटाढाका भूबनोट देखिन्छन्,’ उनले भने । पर्यटन प्रवद्र्धनका लागि भ्युटावर र पदमार्गलगायत निर्माणको चरणमा रहेको उनले बताए ।

‘पहिले–पहिले दैनिक पर्यटक आउँथे । त्यतिबेला होमस्टे पनि थिएन,’ शान्तिदीप आमा समूह तथा पर्यटन व्यवस्थापन उपसमितिका अध्यक्ष युगदेवी गुरुङले भनिन्, ‘अहिले होमस्टे छ । पर्यटक आउँदैनन् ।’ गाउँको प्रचारप्रसार गर्न, होमस्टेमा पर्यटक बसाउन र स्थानीय कला, संस्कार संस्कृति देखाउन महोत्सवको आयोजना गर्न लागिएको उनले बताइन् ।

शान्तिदीप आमा समूह, दूधपोखरी युवा क्लब र ग्रामीण पर्यटन व्यवस्थापन उपसमितिले संयुक्तरूपमा महोत्सवको आयोजना गर्न लागिएको हो । ढुंगाका छाना । घुमाउने घर । परम्परागत रहनसहन पसगाउँका विशेषता हुन् । समुद्री सतहदेखि १ हजार ६ सय ३० मिटरको उचाइमा रहेको पसगाउँ कास्कीको मादी गाउँपालिकाको सीमामा पर्छ । यहाँ करिब २ सय ५० घरधुरी छन् । गाउँमा चोबीसै घण्टा बिजुली र पानीको सुविधा छ ।

बेंसीसहरबाट बागलुङपानी, घलेगाउँ, घनपोखरा, भुजुङ हुँदै हिँडेर पसगाउँ पुग्न सकिन्छ । खुदीबाट घलेगाउँ, भुजुङ हुँदै कास्कीको नागिधार, पाखुरीकोट, याङ्जाकोट हुँदै पोखरा निस्कने गुरुङ सम्पदा मार्गको एउटा गन्तव्य पसगाउँ पनि हो । बागलुङपानीबाट छुट्टिएर मालिङ, घाम्राङ हुँदै पसगाउँ पुग्न सकिन्छ । तनहुँको दमौलीबाट भोर्लेटार–रामबजार, गिलुङ, भोँजे, चरागाउँ, कुम्लुङ हुँदै पसगाउँ पुग्न सकिन्छ । यही बाटो अहिले पसगाउँसम्म मोटर पुगेको छ । कास्कीको बेगनासबाट तालबेंसी हुँदै रामबजार पुगेर गिलुङ हुँदै पसगाउँ जाने बाटा छन् । पोखरादेखि कालिकास्थान, सौर्य, थुम्सीकोट, गहते, पाखुरीकोट–नागिधार हुँदै पनि पसगाउँ पुग्न सडक निर्माण गरिएका छन् । बेंसीसहरबाट ९ कोश टाढा पर्ने पसगाउँ पोखराबाट ४७ किलोमिटरको दूरीमा पर्छ ।

प्रकाशित : वैशाख १३, २०७५ १०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?