कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

साउदीको जेलमा परेका श्रीमान्‌को रिहाइको माग

श्रमिक दिवस
हरिराम उप्रेती

गोरखा — मजदुर दिवस मनाइरहँदा मंगलबार यहाँ एक महिलाले रोजगारीका लागि विदेश गएर जेलमा परेका श्रीमान्‌को उद्धारका लागि सहयोग गरिदिन आग्रह गरेकी छन् । भीमसेन थापा गाउँपालिका ७ बोर्लाङका कुमार रानामगर सेप्टेम्बर २०१७ देखि प्रहरी हिरासत र जनावरी २०१८ देखि साउदी अरबको अफिम सेन्ट्रल जेलमा छन् ।

साउदीको जेलमा परेका श्रीमान्‌को रिहाइको माग

साउदीको खालिद एसअल कम्पनीमा हेल्पर काम गर्दै आएका मगरले सवारीचालक अनुमतिपत्रबिनै चलाएको गाडी २४ अप्रिल २०१६ मा दुर्घटना हुँदा साउदी नागरिक खालिद अल गताइवी घाइते भएका थिए । दुर्घटनामा घाइते भएका ओताइवीले क्षतिपूर्ति माग गर्दै (दिया रकम ब्लडमनी) अदालतसमक्ष २०१६ डिसेम्बर १९ मा मुद्दा दर्ता गरे । अफिम जनरल कोर्टले २०१७ अप्रिल १७ मा कुमारले २ लाख ९४ हजार साउदी रियाल (नेपाली ८३ लाख रुपैयाँ) घाइते व्यक्तिलाई क्षतिपूर्ति दिनुपर्ने फैसला सुनायो ।

क्षतिपूर्ति तिर्नुपर्ने अवधि सकिँदासम्म तिर्न नसकेपछि पक्राउ गरिएका उनलाई जेलमा राखिएको छ । ‘कमाउन गएको श्रीमान् जेलमा हुनुहुन्छ, उल्टो उहाँलाई निकाल्न त्यत्रो पैसा लाग्छ रे,’ रुँदै श्रीमती अम्बिकाले भनिन्, ‘मेरो पतिका तर्फबाट कुनै वकिल नराखी, भाषा अनुवादसमेत नगरी एकोहोरो रूपमा अदालतले ब्लडमनी तिर्नुपर्ने र नतिरेसम्म आजीवन जेल बस्नुपर्ने कागजमा सही गर्न लगाएछ ।’ विदेशको ठाउँमा आफ्ना श्रीमान्लाई फसाएको उनको आरोप छ । कम्पनीका मालिक सुलेमान खालिद अलहाजिरीले जबर्जस्ती गाडी चलाउन लगाउँदा दुर्घटना भएको श्रीमान्ले टेलिफोनमा बताएको उनले सुनाइन् ।

कहिलेकाहीं हुने फोन सम्पर्कमा कुमारले आफ्नो रिहाइका लागि देशबाट कुनै पहल भए/नभएको सोध्ने गरेको उनले बताइन् । ६ वर्षदेखि वैदशिक रोजगारीबाट कमाएको रकमले घर खर्च चलाउँदै आएका कुमार जेल परेपछि परिवारको बिचल्ली भएको छ । कुमार र अम्बिकाका तीन सन्तान छन् । उनीहरूलाई पढाउन अम्बिका चितवन बसेकी छन् । सवारी दुर्घटनामा परेपछि कुमारलाई तीन दिन साउदी प्रहरीले हिरासतमा लिएर छाडेको थियो । छुटेपछि काम गर्न थालेका उनलाई कम्पनीले पनि नआत्तिइकन काम गरे सबै मिलाउने आश्वासन दिएको थियो ।

गत असोजमा दसैं मान्न घर जानुअघि अम्बिकाले श्रीमान्लाई सम्पर्क गर्न खोज्दा राति अबेरसम्म अनलाइन आएनन् । असोज १० मा उनका साथीले फोनमा कुमार जेल गएको बताएका थिए । ‘जेल भनेपछि छाँगाबाट खसेजस्तै भएँ । उहाँ एक्लो छोरो हो, सासू–ससुरालाई के भनौं भएँ,’ अम्बिका भन्छिन् । श्रीमान्को रिहाइका लागि कूटनीतिक तहबाट पहल गरिदिन आग्रह गर्दै उनी परराष्ट्र मन्त्रालय र कन्सुलर विभाग पनि पुगेकी थिइन् । जेल परेका श्रीमान्सँग टेलिफोन गर्न यहीँबाट रकम पठाउने गरेको उनले सुनाइन् ।

श्रीमान् रिहाइका लागि घाइतेलाई क्षतिपूर्ति दिनुको विकल्प नरहेको उनको बुझाइ छ । कुमार रानामगरको जीवन रक्षाका लागि ब्लडमनी संकलन अभियान पनि सुरु गरिएको छ । ‘वैशाख १ बाट अभियान सुरु गरेका हौं, अहिलेसम्म १ लाख ५० हजार संकलन भएको छ,’ अभियानका अगुवा कृष्णप्रसाद ढकालले भने ।

प्रकाशित : वैशाख १९, २०७५ १२:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?