कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सामुदायिक विद्यालयमा विद्यार्थी टिकाउन स्थानीय तह सक्रिय

हरिराम उप्रेती

गोरखा — विपन्न र अपाङ्गता भएका बालबालिकालाई विद्यालयसम्म पुर्‍याउन धार्चे गाउँपालिकाले ‘एक विद्यार्थी एक स्पोन्सर’ कार्यक्रम घोषणा गरेको छ । गाउँपालिकामा कार्यरत सरकारी कर्मचारी, निर्वाचित जनप्रतिनिधिलाई अभियानमा ऐक्यबद्घता जनाउन अनुरोध गरिएको छ ।

सामुदायिक विद्यालयमा विद्यार्थी टिकाउन स्थानीय तह सक्रिय

भौगोलिक हिसाबले विकट रहेको क्षेत्रमा आर्थिक अभावकै कारण कतिपय बालबालिका शिक्षाबाट वञ्चित रहेका गाउँपालिकाको निष्कर्ष छ । ‘कति विद्यार्थी विद्यालय बाहिर छन् तथ्यांक संकलन गर्न भनेको छु,’ गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले भने ।


हालसम्म पाँच बालबालिका ‘स्पोन्सर’ खोजेर विद्यालयमा भर्ना गरिएको गुरुङले बताए । ‘जनप्रतिनिधि र स्थायी कर्मचारीलाई अनिवार्य ‘स्पोन्सर’ गर्न भनेका छौँ, व्यपारी र अन्य व्यक्तिहरु स्वेच्छिक रुपमा आउनुभएको छ,’ गुरुङले भने । जनप्रतिनिधि र कर्मचारीले स्पोन्सर नगरे सेवा सुविधा रोक्का गर्ने गुरुङले बताए ।


गाउँपालिकाको सयजना बालबालिकाहरुलाई स्पोन्सर खोजेर विद्यालय भर्ना गर्ने लक्ष्य छ । अध्ययन गर्दै आएका विपन्न बालबालिकालाई पनि स्पोन्सर खोजेर वर्षभरीको पढाइ खर्च जोहो गर्ने तयारीमा गाउँपालिका जुटेको छ ।


‘स्पोन्सर गर्ने व्यक्तिले महिनाको सय, वर्षको १२ सय विद्यार्थीलाई उपलब्ध गराउनुपर्छ,’ उनले भने,‘अहिले तीन वर्षको अभियान चलाएका हौँ ।’ स्पोन्सर पाएका विद्यार्थीले विद्यालय आसपास वा सम्बन्धित वडा कार्यालयले तोकेको ठाउँमा एक विरुवा वृक्षारोपण गर्नुपर्ने नियम गाउँपालिकाले बसालेको छ । ‘विरुवा गाउँपालिकाले उपलब्ध गराउँछ,’ उनले भने,‘विरुवा रोपेपछि कर्तव्यबोध हुने भयो, जिम्मेवार बन्ने भए ।’


सामुदायिक विद्यालयमा भर्ना गर्न तथा शैक्षिक गुणस्तर सुधार गर्दै विद्यार्थी टिकाउन यहाँका केही स्थानीय तह सक्रिय देखिएका हुन । गण्डकी गाउँपालिकाले जनप्रतिनिधि र सामुदायिक विद्यालयका शिक्षक–शिक्षिकाले छोराछोरी अनिवार्य समुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय गराएको छ ।


सामुदायिक विद्यालयमा भर्ना नगरे सेवा सुविधा रोक्ने निर्णय गाउँ कार्यपालिका बैठकले गरेको हो । ‘१३ गते बसेको गाउँ कार्यपालिकाको बैठक र वैशाख १० गतेको विद्यालयका प्रध्यानाध्यापक र व्यवस्थापन समितिको बैठकबाट निर्णय गराएर सामुदायिक विद्यालयमा भर्ना गर्न भनेका छौँ,’ गाउँपालिका अध्यक्ष होम बहादुर रानाले भने ।


गाउँपालिकाभरीका ४६ सामुदायिक विद्यालयको गुणस्तर बढाउन यस्तो निर्णय गरिएको उनको भनाइ छ । उनले भने,‘आफू सामुदायिक विद्यालयमा पढाएर तलब खाने, त्यहि पैसाले छोराछोरीलाई बोर्डिङ पढाउन त मिलेन नी ।’


संस्थागत विद्यालय तर्फ विद्यार्थीको आकर्षण बढेपछि आरुघाट गाउँपालिकाले चालू शैक्षक सत्रदेखि अंग्रेजी माध्यममा पढाउन विद्यालयहरुलाई निर्देशन दिएको छ । गाउँपालिकाका ४४ विद्यालयमा अंग्रेजी माध्यममा पढाइ सुरु भएको अध्यक्ष पुर्ण दाहालले बताए ।


‘यो वर्ष कक्षा १ को गणित र विज्ञान विषयमा अंग्रेजी माध्यममा पढाइ सुरु गर्छौँ,’ दाहालले भने,‘वर्षैपिच्छे कक्षगतरुपमा अंग्रेजी माध्यमको पढाइ उक्लैदै जान्छ ।’

प्रकाशित : वैशाख २०, २०७५ १४:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?