कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

इनार संरक्षणमा जुटे स्थानीय 

प्रतिक्षा काफ्ले

स्याङजा — पुतलीबजार नगरपालिका–१२ स्थित पेल्काचौरमा रहेको पुरानो इनारको संरक्षणमा स्थानीय जुटेका छन । इनार संरक्षणसँगै नमुना इनार बनाउने प्रतिबद्धतासहित अगाडि बढेको उनीहरुलेब बताए । 

इनार संरक्षणमा जुटे स्थानीय 

इनार समुदायको गहना भएकाले संरक्षण आवश्यक छ भन्ने हेतुका साथ स्थानीयहरु एकजुट भएर निर्माण कार्य थालनी गरेको इनार व्यवस्थापन समितिका सचिव राजेन्द्र शर्माले बताए । यो इनार जिल्लाकै परिचित नमुना इनार पनि हो ।

इनारको सम्बद्र्धन एवं प्रबद्र्धनका लागि अत्यावश्यक देखिएपछि संरक्षणको पहिलो कार्य अनतर्गत ट्रष्ट निर्माण गरिएको समितिले जनाएको छ । पिउने पानी र सिचाईंको प्रमुख स्रोत तथा पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण स्थलको रुपमा अगाडि बढाउन सकिने सो स्थलको संरक्षण कार्यमा सरकारी,गैरसरकारी निकाय र स्थानीय एकजुट छन् ।


धेरै पहिले देखि नै साविक पेल्काचौर गाविसका दुई वडाका एक हजार जना यो इनारबाट प्रत्यक्ष लाभान्वित थिए । त्यसपछि दुई टोलले इनारको पानी उपभोग गर्दै आएका थिए । ७ वर्ष अघि जी डब्लू एस नामक आइएनजीओको सहयोगमा खानेपानी आयोजना निर्माण सम्पन्न भएपछि इनारको प्रयोग हुन छाडेको स्थानीय देबबहादुर गुरुङले बताए ।


अहिले पेल्काचौरबाट करिब १३ किलोमिटर टाढा वालिङ नगरपालिकाको रानिश्वारा भन्ने ठाउँमा दुई ओटा पानीको मुहान किनेर पाइपलाइनबाट गाउँका धारामा पानी जोडिएको उनले जानकारी दिए ।


‘पानी नआउँदा भने यही इनारको पानी प्रयोग गरिन्छ’ सचिव शर्माले भन्छन, ‘खानेपानीको पाइपमा नियमित पानी आउदैन । प्रयोगमा आउने भनेको यही इनार हो । जसले गर्दा यसको संरक्षणमा जुटेका हौँ ।’ जिल्लाकै पुरानो र ठूलो इनारलाई पुन: सञ्चालन गर्ने र यसबाट आगामी दिनमा पानीको अभाव नहुने भन्दै संरक्षण समिति अघि बढेको उनको भनाइ छ ।


इनार संरक्षणका लागि काम गर्न प्रोत्साहन मिल्छ भन्दै स्थानीयले संरक्षण समिति नै बनाएर कार्य थालनी गरेका हुन् । ‘पानी सफा भएपछि पिउनका लागि पनि यही प्रयोग हुन्छ’ शर्माले थपे, ‘आजसम्म संरक्षण नगरिएको हुदाँ सरसफाई पनि गर्ने कुरा भएन । जसका कारण पानी दूषित थियो । अब भने पिउनका लागि नै प्रयोग हुने गरी यसलाई जोगाउने हो ।’

१९ मिटर लम्बाई रहेको इनारको चौडाइ ३३ फिट छ भने घेराइ १७ मिटर रहेको छ । यसको संरक्षणको लागि प्रदेश सरकारसँग विस्तृत योजनासहित करिब ७५ लाखको माग भइरहेको सचिव शर्माले बताए । ‘इनार संरक्षण गरेपछि यहाँका ५ हजार स्थानीय प्रत्यक्ष लाभान्वित हुनेछन्’ वडाध्यक्ष गुरुङले भने, ‘पर्यटकीय दृष्टिकोणबाट र स्थानीयको आवश्यकता त्यसमा पनि खानेपानी महत्वपूर्ण मानिएर यसलाई जोगाउनतर्फ लागेका हौँ ।’


इनार संरक्षणको लागि वडा कार्यालयबाट २ लाख ८० हजार रुपैयाँ सहयोग गरिएको वडा कार्यालयका प्रमुख डालबहादुर कुँवरले बताए । इनार संरक्षणका लागि स्थानीयले श्रमदान समेत गरेका छन् ।

प्रकाशित : जेष्ठ १, २०७५ १४:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?