कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दाता पर्खंदा बिजोग

विद्यालय भवन निर्माण अलपत्र
हरिराम उप्रेती

लापु (गोरखा) — भूकम्पपछि पुनर्निर्माणमा सघाउन धेरै दातृ संस्थाका ध्यान गोरखामा गयो । सघाउन आएमध्येको गुड नेवर्स नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले धार्चे गाउँपालिका ७ लापुस्थित कालरात्री माविको भवन निर्माण गरिदिने सम्झौता गर्‍यो ।

दाता पर्खंदा बिजोग

सम्झौता अवधि सकिएको पाँच महिना बित्दा पनि विद्यालय भवनको जग पछिको काम अघि बढेको छैन ।

सन् २०१७ को डिसेम्वरसम्म भवन निर्माण सक्ने भन्दै शिक्षा मन्त्रालयसँग गुड नेवर्सले सम्झौता गरेको थियो । ‘सुरुमा त आएर खाल्डो खने, जग राखे,’ प्रध्यानाध्यापक रामकृष्ण खनालले भने, ‘बिस्तारै आलटाल गर्दै काम गर्ने मान्छे नै आउन छाडे ।’ सम्झौतपछि गुड नेवर्सले भवन बनाइदिन स्थानीय गैरसरकारी संस्था पद्घति विकास सेवा केन्द्रमार्फत टेण्डर आहान गरेर निर्माण प्रक्रिया अगाडि बढाएको थियो । ३ करोड २० लाख रुपैयाँको लागतमा १२ कोठे भवन निर्माण गर्नेगरि एनवी निर्माण सेवाले ठेक्का पायो । संस्थाका प्रतिनिधिको वेवास्ता र ठेकेदारको लापरवाहीले समयमै भवन निर्माण हुन नसकेको स्थानीय बताउँछन् । ६/६ कोठे दुई भवन बनाउने जिम्मा पाएको उक्त संस्थाले एउटा भवनको भने डीपीसीसम्मको काम गरेको छ । अर्को भवनको खाल्डो खनेर अलपत्र छाडेको छ ।

एनवी निर्माण सेवाका ठेकेदार निरज वुढाथोकीले काम गर्न नसक्ने बताएपछि गत चैतबाट उक्त विद्यालय भवन निर्माणको जिम्मा विद्यालय ब्यवस्थापन समितिलाई दिइएको छ । असारसम्म काम सम्पन्न गर्ने पत्रमा हस्ताक्षर गराउँदै समितिलाई जिम्मा दिएपनि अझै कामको सुरसार छैन ।

ठेकेदारको लापरवाहीका कारण समयमै काम सम्पन्न गर्न नसकिएको गुडनेभर्स इन्टरनेशनलका जिल्ला संयोजक द्रोण जिसीले बताए । ‘ठेकेदारलाई पटकपटक काम गर्न दबाब दियौँ, ताकेता गर्‍यौं,’ उनले भने, ‘अन्तिममा आएर काम गर्न सक्दिन भनेपछि ठेक्का तोडेर विद्यालय ब्यवस्थापन समितिलाई जिम्मा दिएका छौं ।’

लापुमै गुड नेभर्सले बनाएको खानेपानी धारामा निर्माण सकिंदा पनि पानी आउँदैन । भूकम्पलगतै ०७२ सालमा स्थानीयलाई सहज खानेपानी सुविधा उपलब्ध गराउन भन्दै गुड नेभर्स नेपाल नामक गैससमार्फत खानेपानीका चार धाराको निर्माण भएको थियो । मुलको पहिचान नगरी धारा मात्र निर्माण गरिदिएको स्थानीय कान्छी गुरुङ बताउँछिन् । ‘पानी ल्याउने पाइप नै नबिच्छ्याइ धारा मात्र बनायो,’ उनले भनिन्, ‘धारा बनाउनुभन्दा पहिले कुन मुलबाट पानी ल्याउने हेक्का गर्नुपथ्र्यो ।’ पानी नआएको धारामा उक्त संस्थाले ट्याग पनि लगाएको छ ।

खानेपानीका लागि गाउँले एक घण्टा खर्चेर कुवा र धारामा जाने गरेका छन् । अब खानेपानीको योजना लिएर आउने संघसंस्थालाई मुलको पहिचान गरेर मात्र काम अघि बढाउन दिइने वडाध्यक्ष सूर्यमान गुरुङले बताए । मुल दिनुपर्ने सर्तमा काम भएको र स्थानीयको विवादका कारण पानी ‘सप्लाइ’ गर्न नसकिएको गुड नेभर्सले जनाएको छ ।

प्रकाशित : जेष्ठ ८, २०७५ १०:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?