कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गाउँका किसानलाई हाते ट्रयाक्टर

लमजुङ — मर्स्याङदी गाउँपालिकाका अगुवा किसान तथा समूहले अनुदानमा हाते ट्रयाक्टर (मिनि पावर टिलर) पाएका छन् । गाउँपालिकाको कृषि शाखाले ५० प्रतिशत अनुदानमा १० हाते ट्रयाक्टर वितरण गरेको हो ।

गाउँका किसानलाई हाते ट्रयाक्टर

गोरु पाल्ने चलन घटदै गएको अवस्थामा हाते ट्रयाक्टरले खेत जोत्ने भएपछि किसान खुसी छन् । वडा नम्बर ४ को ताघ्रिङ र ५ को घेर्मुबाहेक अन्य वडाका किसानलाई हाते ट्रयाक्टर दिइएको कृषि शाखा प्रमुख बुद्धिबहादुर बानियाले बताए । गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले कृषिमा आधुनिकीकरणका लागि किसानलाई सघाउने नीति लिइएको बताए । ‘किसानको आवश्यकता र माग बमोजिम स्थानीय तहबाट पहिलोपटक पावरटिलर वितरण गर्‍यौं,’ उनले भने, ‘हामी आधुनिक कृषिलाई सघाउँछौं ।’

हाते ट्रयाक्टरका लागि कृषि शाखाले ४ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । पावरटिलको ८९ हजार मूल्यमध्ये आधा रकम किसानले तिरेका छन् । ७ हर्षपावरको मिनि पावर टिलरमा बर्खाका लागि हिलेचक्कासमेत जडान गरिएको प्राविधिकले बताएका छन् । उनीहरूका अनुसार उक्त हाते ट्रयाक्टर हिउँद(बर्खा दुवै समयलाई उपयोग हुन्छ । खन्ने, जोत्ने, माटो सम्याउने, गोडमेलका लागि उक्त मिनि पावर टिलर उपयुक्त हुन्छ । हाते ट्रयाक्टर गोरुभन्दा धेरै सजिलो र किफायती हुने प्राविधिकको भनाइ छ । गोरुलाई घाँस हालेजसरी तेल हाले पुग्छ । यसअघि जिल्ला कृषि विकास कार्यालयले अनुदानमा कृषि औजार कृषकलाई वितरण गर्दै आएको थियो । यसपटकदेखि स्थानीय तहले उक्त कार्यक्रमको सुरुवात गरेका हुन् ।

यसअघि लमजुङका फाँटमा प्रयोग गरिएको हाते ट्रयाक्टर अब ग्रामीण भेगमा पनि प्रचलनमा ल्याउन थालिएको छ । गोरु पाल्ने झन्झट र नपाउने समस्याले किसान पावर टिलरतर्फ आकर्षित छन् । गोरु र खेतला पाउनै मुस्किल परेको र पावर टिलर भएपछि खनजोतमा सजिलो हुने मस्र्याङदी २ घनपोखराका किसान भक्त गुरुङ बताउँछन् । उनका अनुसार हाते ट्रयाक्टरले समय, श्रमिक र खर्च घटाएको छ । मिनि पावर टिलरको प्रयोगले खेत जोत्दा डल्ला माढिने र झार काट्ने भएकाले रोपाइँमा सजिलो हुन्छ ।

गाउँपालिका उपाध्यक्ष होमबहादुर विश्वकर्माले सिंगो गाउँपालिकालाई कृषिमा आत्मनिर्भर गराउन कृषिमा आधुनिकीकरण गरी अघि बढ्ने योजना बनाएको बताए । कार्यकारी अधिकृत बद्रीनाथ सापकोटाका अनुसार आगामी वर्षमा प्रविधियुक्त सामग्री वितरणका कार्यक्रम राखिनेछन् । ‘गाउँपालिकालाई कृषिमा आत्मनिर्भर गराएर युवा किसानलाई आफ्नै गाउँठाउँमा काम, दाम र माम दिलाउने हाम्रो योजना छ,’ उनले भने ।

प्रकाशित : जेष्ठ ८, २०७५ १०:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?