कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ढुवानी भाडाले घर निर्माण महँगियो

हरिराम उप्रेती

गोरखा — एक कोठे घर निर्माण गर्न धार्चे गाउँपालिका ७ लापूको माझगाउँकी पानमती गुरुङलाई झन्डै आठ लाख रुपैयाँ लाग्यो ।सरकारी अनुदानका अतिरिक्त उनले चार लाख रुपैयाँ ऋण खोजिन् । अनुदानकै भरमा घर बनाउँदा निर्माण सामग्री खरिद गर्न पनि नपुगेपछि ऋण गर्नुपरेको उनले बताइन् ।

ढुवानी भाडाले घर निर्माण महँगियो

एक पाथी बालुवा किन्न ७० रुपैयाँ लाग्छ,’ उनी भन्छिन् । आठ सयदेखि हजार खर्च गरे सुगम भेगमा एक बोरा सिमेन्ट पाइन्छ । तर, धार्चेवासीले सुगममा एक बोरा सिमेन्ट खरिद गर्न पुग्ने जत्तिकै रकम खर्चेर
बालुवा किन्नु परेको छ । ऋण गरेरै पनि घर बनाउने क्रम भने बढेको छ । ‘बूढीगण्डकी किनारबाट यहाँसम्म बालुवा ल्याउँदा एक किलोको १७/१८ रुपैयाँ ढुवानी भाडा लिने गरेका छौं,’ खच्चड व्यवसायी भूपाल गुरुङ भन्छन्, ‘एउटा खच्चडले १२ पाथीसम्म वालुवा बोक्न सक्छ ।’ बूढीगण्डकी किनारबाट लापु गाउँसम्म बालुवा बोकेको प्रतिखच्चड आठ/नौ सय रुपैयाँ लिने गरेको उनले सुनाए ।

भूकम्प प्रतिरोधी घर निर्माणका लागि चाहिने रड र सिमेन्ट पनि ढुवानी भाडाले महँगो भएको स्थानीयको गुनासो छ । दुर्गम भेगमा ढुवानीको पुरानो र नियमित रहेको एक मात्र साधन खच्चड हो । खच्चडबाट रड ढुवानी गर्दा एक बनडलको २० हजार रुपैयाँसम्म पर्ने स्थानीय बताउँछन् । लापु गाउँसम्म सडकको ट्रयाक खोलिए पनि सवारी चल्न सक्ने अवस्था छैन । ‘केही दिनअघि गाउँमा मोटरबाटो त आएको छ तर भर्खर खनेको बाटोमा गाडी आउन गाह्रो हुँदोरहेछ,’ स्थानीय सूर्य गुरुङले भने, ‘कहिलेकाहीं बलजफ्ती ट्रयाक्टर ल्याउँछौं । बाटो अप्ठेरो भएकाले ढुवानी भाडा धेरै पर्छ ।’ ट्रयाक्टरबाट सामान ल्याउँदा भने केही सस्तो पर्ने गरेको उनले बताए । ‘खच्चडभन्दा ट्रयाक्टरबाट सामान ल्याउँदा भाडामा १० प्रतिशत कम लाग्छ,’ उनले भने । लापु गाउँसम्म पुग्ने सडकलाई स्तरोन्नति गर्न स्थानीयले माग गर्दै आएका छन् । सवारी चल्न सके पुस्तौंदेखि भोग्दै आएको महँगीको समस्या केही हदसम्म घट्ने अपेक्षा स्थानीयको छ ।

लापुको माथिल्लो भेगको तुलनामा तल्लो क्षेत्रमा ढुवानी भाडा कम लिने गरेको खच्चड व्यवसायी बताउँछन् । निर्माण र उपभोग्य सामग्री आरूघाट गाउँपालिकाको सोतीबाट ढुवानी हुँदै आएको छ । खच्चड व्यवसायीले दूरीका आधारमा मूल्य निर्धारण गर्दै सामान ढुवानी गर्ने गरेका छन् । दूरीको आधारमा प्रतिकिलो आठ रुपैयाँदेखि १८ रुपैयाँसम्म लापुका विभिन्न गाउँमा सामान ढुवानी हुने गरेको खच्चड व्यवसायी गुरुङले बताए । ‘सोतीबाट यहाँ आइपुग्न एक दिन पूरै लाग्छ,’ उनले भने, ‘भीरको बाटो जोखिमले सामान ढुवानी गरिरहेका छौं ।’ निर्माण सामग्री मात्रै होइन ढुवानी भाडाकै कारण दैनिक उपभोग्य सामग्री पनि गाउँसम्म आइपुग्दा महँगो पर्ने गरेको छ । एक माना चिनी यहाँ सय रुपैयाँमा किन–बेच हुन्छ । दुर्गम क्षेत्रमा ढक तराजुको साटो पाथी–मानाकै चलन अझैसम्म छ । सुगम भेगमा १७ सय पर्ने २५ केजी चामलको बोरा यहाँ २७ सय पर्ने स्थानीय विसमाया गुरुङले बताइन् । ‘सदरमुकाममा २० रुपैयाँ पर्ने एक पोका नुन हामी यहाँ ५० रुपैयाँमा किन्ने गरेका छौं,’ उनले भनिन् ।

महँगो ढुवानी भाडा तिरेर निर्माण सामाग्री खरिद गर्दै घर बनाएका यहाँका केही गाउँले प्राविधिकले घर पास नगरिदिँदा झनै समस्यामा परेको बताउँछन् । लापु पुछारगाउँका आइतबहादुर सुनारले डेढ लाख रुपैयाँ ऋण खोजेर भूकम्प प्रतिरोधी घर बनाए । ‘बनाएर सरेको पनि आठ महिना भयो, दोस्रो किस्ताको पैसा अझै आएन,’ उनले भने, ‘भोलि आउँछ पर्सि आउँछ भन्दाभन्दै यतिका दिन बित्यो ।’ सामान्यतया घर निर्माण सकेपछि तेस्रो किस्ताको रकम दिन सिफारिस हुन्छ । तर, सुनारले दोस्रो किस्ताको रकमसमेत पाएका छैनन् । दुर्गम र सुगम भेगमा एउटै अनुदान रकम दिँदा आफूहरू अन्यायमा परेको भूकम्पपीडितको गुनासो छ । ‘यहाँको अवस्था हेरेर केही रकम थपिदिएको भए राहत हुन्थ्यो,’ पुछारगाउँकी कान्छी गुरुङले भनिन् । महँगीकै बीच पनि लापुका ९० प्रतिशत घरको निर्माण भइरहेको वडाध्यक्ष सूर्यमान गुरुङले बताए ।

खच्चडबाट बालुवा ढुवानी गरिँदै ।

प्रकाशित : जेष्ठ ९, २०७५ ११:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?