कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

होमस्टे महोत्सवमा संस्कृति आदानप्रदान

घलेगाँउ, लमजुङ — जापानकी इक्वी ताकागी क्व्होलासोंथर गाउँपालिका ३ घलेगाउँमा आयोजित होमस्टे महोत्सवमा आइन् । मह निचोरेर फालिएको चाकाबाट पाल्पामा मैनबत्ती बनाउने तालिम दिँदै आएकी उनले जापानमा पनि होमस्टे रहेको र संस्कृति फरक रहेको बताइन् ।

होमस्टे महोत्सवमा संस्कृति आदानप्रदान

‘हामीमा पाहुनालाई टीका, माला र खादा लगाउने चलन हुँदैन । बिदाइ गर्दा चिनो दिने चलन छ,’ नेपाली नाम सविता राना बताउने उनले भनिन्, ‘नेपालका होमस्टेमा यस्तो हुन्छ भनेर थाहा थिएन । सबै होटलजस्तै होलान्जस्तो लाग्थ्यो, होइन रहेछ ।’ होमस्टेको स्वागत सत्कार, माया र आनन्दले मख्ख भएकी उनले आफ्ना साथीलाई नेपालको होमस्टे घुम्न ल्याउने बताइन् ।

मगर वेशभूषामा सजिएर नवलपुरस्थित देवचुली नगरपालिका १७ रजहरबाट घलेगाउँ आएकी थारू युवती लिलिसरा खोजवार स्थानीय संस्कृति देखेर दंग परिन् । ‘कहिल्यै नदेखेको संस्कृति यहाँ देख्न पाइयो । समुदायमा यस्ता संस्कृति पनि हुने रहेछन्,’ उनले भनिन् । उनले गुरुङ समुदायमा प्रचलित घाँटु, कृष्णचरित्र र घलेगाउँमै मात्रै पाहुनाको स्वागतार्थ नाचिने ‘यालमी’ नाच हेरिन् । ‘नयाँ संस्कृति, निकै खुसी लाग्यो । पहाडको हावापानी चिसो छ, ठीक छ । हाम्रो तराईतिर अहिले गर्मी छ,’ उनले भनिन् । पिप्रहर सामुदायिक होमस्टे ग्रामबाट आएको उनको टोलीले घलेगाउँमा थारू संस्कृति लाठी र घैला नाच प्रस्तुत गर्दा स्थानीय दंग परे । ‘टीभीमा पनि यस्तो आउने थिएन । यहाँ कहाँबाट आयो यस्तो नाच ?’ दंग पर्दै घलेगाउँकी खिमकुमारी गुरुङले भनिन् । थारू गीतमा नृत्य गर्ने बिना महतोले आफ्नो संस्कृतिलाई देशका विभिन्न भागमा फैलाउन पाउँदा खुसी लागेको बताइन् ।

घलेगाउँमा १९ औं घलेगाउँ महोत्सव आयोजना गरिएको २ सातामै आयोजित महोत्सवमा स्वदेशी तथा विदेशी रमाए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको तारा गाउँ विकास समितिले घलेगाउँमा बिहीबार र शुक्रबार होमस्टे (घरवास) महोत्सव तथा कार्याशाला गरेको हो । महोत्सवमा १ देखि ७ नम्बर प्रदेशसम्मका होमस्टे सञ्चालकहरूको सहभागिता थियो । कुल ३७ जिल्लाका होमस्टेका प्रतिनिधिको सहभागिता थियो । पूर्वको इलामस्थित श्रीअन्तुडाँडा सामुदायिक होमस्टेदेखि ताप्लेजुङको कालेडाँडा, संखुवासभाको भाङखर्कसँगै हिमाली जिल्ला मनाङको ओडार, तराईको नवलपुरस्थित पिप्रहर, अमलटारीका साथै पश्चिमको कञ्चनपुरस्थित रानाथारू होमस्टेसम्मका होमस्टे सञ्चालक घलेगाउँमा भेला भएका थिए ।

उनीहरूले गुरुङ संस्कृतिसँग आफ्नो संस्कृति आदानप्रदान गर्नुका साथै आफ्ना होमस्टेमा तयार पारिएका खाद्य परिकारको प्रदर्शन पनि गरेका श्रीअन्तुडाँडा सामुदायिक होमस्टे इलामका अध्यक्ष धनकुमार आलेले बताए । कञ्चनपुरको भीमदत्त नगरपालिका १४ र १६ नयाँबस्तीस्थित रानाथारू सामुदायिक होमस्टेबाट २ दिनको सवारी यात्रापछि घलेगाउँ आएका पर्शुराम रानाले भने, ‘पहाडको पनि प्रदेश ४ को कलासंस्कृति राम्रो लाग्यो । यो ठाउँ भनेको कलासंस्कृतिमा धनी रहेछ । पर्यटनका लागि पनि राम्रो ठाउँ रहेछ । हामीले होमस्टे, स्वागत सत्कार र व्यवस्थापनबारे सिक्यौं । हाम्रो र यहाँको होमस्टे सञ्चालन तथा व्यवस्थापनबारे अनुभव आदानप्रदान गर्‍यौं ।’

तारा गाउँ विकास समितिका अध्यक्ष एवं कार्यकारी प्रमुख नारदकुमार लुइँटेलले होमस्टे सञ्चालकबीच अनुभव आदानप्रदान गर्न, संस्कृति र समस्या साटासाट गर्न, होमस्टेलाई नयाँ मोडलमा कसरी लान सकिन्छ भनेर छलफल गर्न, संघीय संरचनामा होमस्टेसम्बन्धी नीति तथा कानुन निर्माणका लागि सरकारलाई दबाब दिन महोत्सव र कार्याशाला आयोजना गरिएको बताए ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले होमस्टेसम्बन्धी छुट्टै नीति अवलम्बन गरिने जानकारी दिए । प्रदेश ४ का ३ सय गाउँमा होमस्टे सञ्चालनमा ल्याइने र ५ सय गाउँलाई ‘मुख्यमन्त्री स्मार्ट भिलेज’ का रूपमा विकसित गरी युवालाई गाउँमै रोजगारीको अवसर दिइने उनले बताए । उनले प्रदेश ४ ले पर्यटन, जलस्रोत, कृषिलाई प्राथामिकतामा राखेर बजेट विनियोजन गर्ने तयारी गरेको बताए । घलेगाउँका पर्यटन अगुवा प्रेमबहादुर घलेले पर्यटन प्रवद्र्धन कार्यक्रमबाट गाउँगाउँमा समृद्धि ल्याउन सकिने बताए । तारा गाउँ विकास समितिका शाखा अधिकृत लीलाप्रसाद तिम्सिनाका अनुसार नेपालका ३९ जिल्लामा २ सय २६ होमस्टे गाउँ छन् । जिल्ला र संख्याको हिसाबले सबैभन्दा बढी प्रदेश ४ मै छन् ।


महोत्सवमा थारू समुदायमा प्रचलित ‘घैला’ नृत्य देखाउँदै नवलपुरको देवचुली नगरपालिकाबाट आएका युवती ।

‘यालमी’ नाच्दै घलेगाउँका स्थानीय ।

प्रकाशित : जेष्ठ १२, २०७५ ०९:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?