कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

म्याद गुज्रेका सामान बजारभरि

आश गुरुङ

लमजुङ — बेंसीसहरका पसलमा दैनिक उपभोग्य खाद्यवस्तु म्याद गुज्रेका फेला परेका छन् । खुद्रे पसलमा यस्ता सामग्री फेला पर्ने गरेको अनुगमनमा खटिएका अधिकारीले जनाएका हुन् ।

म्याद गुज्रेका सामान बजारभरि

लमजुङ–
धेरै पसल दर्ताबिना नै सञ्चालन गरिएको र मूल्यसूची नै नराखेको भेटिएका उनीहरूले बताए ।
बेंसीसहरको मनाङेचौतारादेखि शेरा बजारसम्म गरिएको अनुगमनका क्रममा साना पसल र होटल व्यवसाय दर्ताबिना सञ्चालन गरेको पाइए । अनुगमन टोलीले किराना पसल, मासु पसल, औषधि पसल, ब्युटीपार्लर, बेकरी उद्योग, होटल र स्टेसनरी पसलमा अनुगमन गरेको हो ।
टोली सदस्य जनस्वास्थ्य अधिकृत केशवप्रसाद चापागाईंले भने, ‘दर्ताबिना सञ्चालितलाई प्रक्रियामा आउन आग्रह गरेका छौं । म्याद गुज्रेका सामान जफत गरेर पुन: गल्ती नगर्न सुझाव र चेतावनी दिएका छौं ।’


बजारका केही मासु पसल फोहोर पाइएको वरिष्ठ पशु चिकित्सक लक्ष्मणबहादुर ढकालले बताए । कुखुरापालन पनि मानिसको स्वास्थ्यमा असर पर्नेगरी सञ्चालन गरिएका भेटिएको उनले बताए । ‘कुखुरापालन गर्ने निश्चित मापदण्ड हुन्छ । मासु काट्नलाई पनि निश्चित दायरा छ,’ उनले भने, ‘जथाभावी पाल्ने, जथाभावी काट्ने, अचानो फोहोर राख्ने र माखा भन्किने गरी राख्ने गरेको पायौं ।’ धेरै फोहोर पाइएका फ्रेस हाउसलाई एक साताको अल्टिमेटम दिएको उनले बताए । ‘एक सातापछि पनि सुधार भएको नदेखिए पसल सिल गरिदिन्छौं,’ उनले भने ।


बेंसीसहर बजारका कतिपय फार्मेसीले डाक्टरको ‘प्रेस्क्रिप्सन’ बिना नै औषधि बिक्रीवितरण गरेको पाइएको अनुगमन टोलीले जनाएको छ । केही फार्मेसीले लागूऔषधजन्य औषधि बिक्रीवितरण गरेको पनि पाइएको छ । केही पाउरोटी उद्योग फोहोर पाइएपछि टोलीले सुधार्न समय दिएको छ ।


अनुगमनमा उद्योग वाणिज्य संघ, प्रहरी र प्रशासनका प्रतिनिधि सम्मिलित थिए । बेंसीसहर नगरपालिकाका अधिकृत राजेश्वर सिलवालका अनुसार नगरपालिकाले बजार अनुगमनसम्बन्धी कानुन बनाएर अघि बढेको हो । ‘हामीले बेंसीसहर बजारको अनुगमन सुरु गरेका छौं । पहिले बेलाबेलामा हुने गरेको अनुगमन अब नियमित हुन्छ,’ उनले भने । पसल दर्ता नगरी, मूल्यसूची टाँस नगरी सञ्चालन गर्न पाइन्छ भन्ने मानसिकता त्याग्नुपर्ने उनले बताए ।

प्रकाशित : जेष्ठ २५, २०७५ १२:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?