कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लमजुङमा रोपाइँ सुरु

आश गुरुङ

लमजुङ — असार नलाग्दै लमजुङका गाउँगाउँमा वर्षे धानको रोपाइँ सुरु भएको छ । चिसो मौसममा धान पाक्न धेरै समय लाग्ने भएकाले असार अगावै रोपाइँ थालिएको हो । यसपटक छिटै पानी पर्न थालेकाले सिँचाइ सुविधा पुगेका ठाउँमा रोपाइँ थालेको किसानले बताएका छन् ।

लमजुङमा रोपाइँ सुरु

पानी पर्न थालेपछि मूलसमेत पलाउने भएकाले रोपाइँ सहज हुन्छ । केही ठाउँमा खोलाको पानीलाई कुलोबाट लगेर धान रोपाइँ गरिएको छ । केहीमा सिँचाइ सुविधा पुगेको छ । मस्र्याङ्दी गाउँपालिका ५, घेर्मुका घनश्याम घलेका अनुसार गत सोमबारदेखि नै घेर्मुफाँटमा धान रोपाइँ सुरु भएको छ । खानीगाउँबेंसीमा पनि धान रोपाइँ थालिएको छ । लमजुङमा उत्तरी भेगको घेर्मुफाँटमाथि धान खेती हुँदैन ।

खानीगाउँका वृषबहादुर गुरुङका अनुसार हिजोआज युवादेखि वृद्धवृद्धासम्म धान रोपाइँमा व्यस्त छन् । घेर्मुफाँटमा मात्रै दैनिक ५ हल गोरु नारेर धान रोपाइँ थालिएको छ । उनका अनुसार घेर्मु, ताघ्रिङ, बाहुनडाँडालागयतका अन्य ठाउँमा पनि धान रोपाइँको तयारी गरिएको छ । क्व्होलासोंथर गाउँपालिका ४, भुजुङका किसानले पनि घिम्चे खेतमा धान रोप्न थालेका छन् । स्थानीय यमबहादुर गुरुङका अनुसार बुधबारदेखि धान रोपाइँकार्य थालेका छन् । घिम्चे खेतमा ताकमारे जातको धान रोप्ने गरिन्छ । पसगाउँ, सिङदीलगायत गाउँमा यसै सातादेखि धान रोपिने स्थानीयले बताएका छन् । कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत कृष्णभद्र अधिकारीले ग्रामीण भेगका चिसो ठाउँमा धान रोपाइँ सुरु भएको बताए ।

उनका अनुसार बाँझो खेतमा धान रोपाइँ थालिएको छ । मकै रोपिएका खेतमा भने अलि पछि धान रोप्ने गरिन्छ । ‘यसपालि अलि चाँडै नै धान रोपाइँ सुरु भएको छ,’ उनले भने, ‘पानी छिटो परेकाले पनि किसानले धान रोपाइँ थालेका हुन् ।’ उनका अनुसार सिँचाइ सुविधा नपुगेको ठाउँमा भलपानी पछ्याउनुपर्ने बाध्यता छ । कृषि कार्यालयका अनुसार जिल्लाका ४५ हजार ५० हेक्टर जमिन खेतियोग्यमध्ये १५ हजार हेक्टर बढी क्षेत्रफलमा धान खेती हुँदै आएको छ । यहाँका किसानले रामधान, सुनौलो सुगन्ध, सुख्या २, सावित्री, जेठोबूढो, एक्ले, लोकतन्त्र लगायत उन्नत जातका धान लगाउँछन् । साथै, लोकनाथ, गोरखनाथ, यूएस ३ सय १२, मकवानपुर, वर्षे ३००४, मनसुलीलगायत हाइब्रिड जातका धान पनि लगाउँदै आएका छन् ।

धमिलीकुवा, भार्लेटार, रम्घा, राइनासटार, सुन्दरबजार, भोटेओडारका कृषकले उन्नत तथा हाइब्रिड जातका धान रोप्ने गरेको कृषिले जनाएको छ । उन्नत तथा हाइब्रिड जातका धानको बीउ रोप्दा उत्पादन राम्रो हुने कृषि प्राविधिक बताउँछन् ।

प्रकाशित : जेष्ठ २७, २०७५ १०:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?