कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित  

लालप्रसाद शर्मा

पोखरा — प्रदेश ४ सरकारले आर्थिक वर्ष २०७५/०७६ का लागि ल्याएको नीति तथा कार्यक्रम मंगलबारको प्रदेशसभा बैठकबाट बहुमतले पारित भएको छ ।

सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित  

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सभासमक्ष राखेको प्रस्तावलाई नेकपा र राष्ट्रिय जनमोर्चाले समर्थन जनाएका थिए ।


सरकारले जेठ २५ मा पर्यटन, उर्जा, कृषि, उद्योग, सामाजिक क्षेत्र र भौतिक पूर्वाधार बिकासमा जोड दिदै नीति तथा कार्यक्रम ल्याएको थियो । नीति तथा कार्यक्रममाथि मंगलबार पनि संसदमा छलफल भएको थियो । छलफलमा भाग लिदै सत्तापक्षका सांसदले नीति तथा कार्यक्रम उत्कृष्ट रहेको भन्दै प्रशंसा गरेका थिए ।

प्रतिपक्षी कांग्रेसका सांसदले महत्वकांक्षी रहेको, धेरै कुरा छुटेको भन्दै कार्यान्वयनप्रति आशंका जनाएका थिए । साथै उनीहरुले नीति तथा कार्यक्रममा राजनीतिक व्यक्तित्व हावी भएको, व्यवहारिक नभएको, प्राथमिकता तोक्ने क्रममा अलमल भएको, चुनावी घोषणापत्र जस्तो भन्दै आलोचना गरेका थिए ।


छलफलमा उठेका विषयको जवाफ दिदै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सन्तुलनसहितको विकासमुखी योजनालाई नीति तथा कार्यक्रममार्फत प्रारम्भ गरेको बताए । सरकार गठनको छोटो समयमै विकासको प्रस्थान विन्दु र एउटा गन्तव्य निर्धारण गरी अघि बढ्ने खालको रहेको उनको भनाई थियो । उनले यो महत्वकांक्षी नभएको र हचुवाको भरमा पनि नल्याईएको दाबी गरे ।


प्रदेश समृद्धिको आधार र लगानी मैत्री वातावरण, अर्थतन्त्रको आधार पर्यटन पूर्वाधार, उज्यालो प्रदेशका लागि ऊर्जा विकास, कृषि, पशुपालन, फलफूल खेती र सिंचाई समृद्धिको उचाई, रोजगारी अभिबृद्धिका लागि औद्योगिकीकरणलाई नीति तथा कार्यक्रममा समेटिएको छ ।


आगामी ५ वर्षभित्र बहुआयामिक गरिबी १४.२ प्रतिशतबाट ७ प्रतिशतमा झार्ने, प्रदेशको आयलाई वार्षीक औसत ८ प्रतिशतले बृद्धि गर्ने, प्रतिव्यक्ति आय २५ सय अमेरिकी डलर पुर्‍याउने, कोरला–पोखरा, पोखरा–दुम्किबास द्रुतमार्गको निर्माण थाल्ने उल्लेख गरिएको छ ।


अन्तर्राष्ट्रियस्तरको बहुउपयोगी सम्मेलन केन्द्र र खेलमैदान, बिशिष्टिकृत मुटुरोग, मृगौला र क्यान्सर अस्पतालको निर्माण गर्ने, स्थानीय तहमा २५, नगरपालिकामा ५० र प्रदेश राजधानीमा एकहजार शैयाको अस्पताल, बृहत पोखरा चक्रपथ निर्माणको नीति पनि समावेश छ ।


सन् २०२२ सम्ममा २० लाख पर्यटक भित्र्याउने, पोखरामा रहेका फेवा, बेगनास र रुपाताललाई जोड्न मोनोरेलको विकास, प्रदेश राजधानीदेखि स्थानीय तहको केन्द्रसम्म स्तरीय सडक सञ्जाल पुर्‍याउने, बहुसांस्कृतिक ग्रामको स्थापना पनि नीतिमा छ । वार्षीक ५० हजारलाई रोजगार र एकलाखलाई स्वरोजगार बनाउने पनि समेटिएको छ ।


परियोजना बैंक बनाउने, लगानी सम्मेलन गर्ने, पर्यटन विकास गुरुयोजना, ताल संरक्षण विकास प्राधिकरण गठन, फेवातालको संरक्षण, विकास र सौन्दर्यीकरणमा जोड दिदै सन् २०१९ मा आन्तरिक पर्यटन वर्ष, सन् २०२० मा छिमेकी देशका पर्यटक आकर्षण वर्ष र सन् २०२२ लाई अन्तराष्ट्रियस्तरको प्रदेश पर्यटन वर्ष अभियान सञ्चालन गरिने नीति तथा कार्यक्रममा छ ।

प्रकाशित : जेष्ठ २९, २०७५ १८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?