कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सरसफाइ संस्कारी टोल

घनश्याम खड्का

म्याग्दी — झुपडीदेखि महलसम्म हरेक दिन दैलो– कुचो गर्ने परम्परा छ । दैलोभन्दा पर गेटबाहिर कुचो लगाउने बानीको भने विकास भएको छैन । संस्कार घर, परिवार र समाजले चाहे बसाउन सकिन्छ भन्ने उदाहरण बेनीको वीरेन्द्रचोकले देखाएको छ ।

सरसफाइ संस्कारी टोल

झिसमिसेमै मर्निङवाक निस्केपछि बेनीमा स्थानीयले दैलो अगाडिको सडक सफा गरिरहेको देख्न सकिन्छ । अझ तल पर्छ, वीरेन्द्रचोक । सालिक ढले पनि ठाउँको नाउ ढलेको छैन । हात–हातमा कुचो, डस्टबिन र बोरा बोकेका एक हूल स्थानीय घर, पिँढी, आँगन, सडक, चौतारी सफा गर्दै तल म्याग्दीखोलाको किनारासम्मै पुग्छन् । ‘सहरका हरेक घरले भित्रको फोहोर सडकमा नफाल्ने, दैनिक ५/१० मिनेट आफ्नो आँगनबाहेक पनि सडक सफा गरे टोल मात्र होइन पूरै सहर सफा राख्न सम्भव छ,’ वीरेन्द्रचोक टोलसुधार समितिका अध्यक्ष दलप्रसाद श्रेष्ठ भन्छन्, ‘टोल र सडक सफा देखेपछि अरूले पनि फोहोर फाल्न आँट नगर्ने रहेछन् ।’

वीरेन्द्रचोकमा बेनीको सबैभन्दा पुरानो चौतारा छ । त्यहाँको पीपलबोटको पर–परसम्म हाँगा फैलिएको छ । पीपलबोट छहारीको चौतारीमा दैनिक थुप्रै जनाले आराम गर्छन् । डोके व्यापारीले यहीं बसेर व्यापार गर्छन् । रूखबाट दिनदिनै हरर पात झर्छन् । स्थानीयवासी सरसफाइमा अग्रसर भएकाले वीरेन्द्रचोक सधंै चिटिक्क रहन्छ । घरको फोहोर सडकमा फाल्ने संस्कारमा हुर्केकाका लागि वीरेन्द्रचोक टोल सुधार समिति पाठशाला जस्तै भएको छ ।

वीरेन्द्रचोक टोलमा बसोबासका लागि नयाँ थपिने सदस्य र डेरावाललाई फूलमालाले स्वागत गरिन्छ । घर र डेरा छाडेर जानेलाई जहाँ गए पनि आफू बस्ने टोल, छिमेकमा सरसफाइको संस्कार नछाड्ने शुभकामनासहित खादा ओढाएर बिदाइ गरिन्छ । ‘देशका धेरै सहर र जिल्ला हेर्ने बुझ्ने मौका मिल्यो वीरेन्द्रचोक टोलजस्तो संस्कारी र सक्रिय अन्यत्र कतै देखेको छैन,’ प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले भने, ‘सबैभन्दा अनुकरणीय त टोलमा बसाइँ सर्नेको स्वागत र बिदाइ गर्ने शैली छ । घर, टोल र सहर सफा राख्न घरधनी तथा डेरावाल सबै सक्रिय रहेछन् ।’


टोल समितिले १ लाख ९५ हजार रुपैयाँको लागतमा चौतारीमा सार्वजनिक खानेपानी सुविधा राखेको छ । हजार लिटर क्षमताको स्टिलको पानी ट्यांकी छ । पिउने पानी २४ घण्टा उपलब्ध छ ।

प्रकाशित : असार ४, २०७५ ०९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?