कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रोपाइँ धमाधम

सदरमुकाम पुतलीबजारको आसपासका किसानलाई रोपाइँको चटारो

स्याङ्जा — वर्षमा एक बाली मात्रै हुने बगर खेतमा रोपाइँ सुरु भएको छ । मनसुन सुरु भएसँगै जिल्लामा रोपाइँ सुरु भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

रोपाइँ धमाधम

दुई र तीन बाली हुने कतिपय ठाउँका खेतमा यतिबेला मकै र हिउँदे धान छन् । ती ठाउँमा धान र मकै थन्क्याएपछि रोपाइँ थालिन्छ ।


वर्षमा एक बाली हुने खेतमा धान रोप्न पानीको मात्रा पुगेपछि रोपाइँ थालिएको किसानले बताएका छन् । विशेषगरी सदरमुकाम पुतलीबजारको आसपासका क्षेत्रमा यतिबेला किसानलाई रोपाइँको चटारो सुरु भएको छ ।


जिल्लामा बर्मेली, झिनुवा, अनदी, जपर्नी, जेठोबूढो, पहेंले, आँपझुत्ते, मनसरा, गुर्जी, एक्ले, जर्नेली, बातिसरा, अनदी, गोरखनाथ, लोकनाथ, खुमल र गोला लगायत जातका धान खेती हुने गरेको छ ।

वरिष्ठ कृषि विकास अधिकृत तेजप्रसाद दवाडीका अनुसार जिल्लामा धानको सरदर उत्पादकत्व ३.५ टन प्रतिहेक्टर छ ।


जिल्लामा खेतीयोग्य जमिनको क्षेत्रफल १६ हजार ८ सय हेक्टर छ । धानको उत्पादन वार्षिक ६७ हजार ७ सय २२ टन छ । मुख्यत: मन्सुरी, हाइब्रिड, यूपीएस ३१२, यूपीएस ३८३, मकवानपुर १, सावित्री, रामधान, सुनौलो सुगन्ध, राधा ४, खुमल ११ र खुमल १३ लगायत उन्नत जातका धान रोप्न किसानलाई सिफारिस गरिएको उनले बताए । ‘बाह्रैमास सिँचाइ पुगेको क्षेत्र २५ प्रतिशत छ,’ उनले भने, ‘आकाशे पानी पर्खेकाका लागि अब रोपाइँ धमाधम सुरु भइसक्यो ।’


आँधीखोला, कालीगण्डकी, ज्याग्दीखोला किनार, गल्याङ, चापाकोट, वालिङ, पुतलीबजार र भीरकोट नगरपालिका, आँधीखोला, बिरुवा, हरिनाश, कालीगण्डकी र अर्जुनचौपारी गाउँपालिकालगायतका क्षेत्रमा धान उत्पादन राम्रो हुने गरेको छ ।


नदीबाट पानी पुर्‍याएर सम्भव नहुने स्थानमा वर्षाका खहरे र मूलको पानी लगेर रोपाइँका लागि खेत तयार गरिन्छ । ‘हामीले वर्षाको पानी छोपेर खेती गर्नुपर्ने बाध्यता छ,’ पुतलीबजारकी पुतली सुनारले भनिन्, ‘हाम्रोमा अझैसम्म सिँचाइको पहुँच पुगेको छैन ।’ ठूलीबेंसी र लामागेलगायतका ठूला फाँटमा नहरबाट सिँचाइको व्यवस्था छ । भलपानीमा खेती लगाउँदा वर्षामा धानलाई सखाप बनाउने पुतलीबजार ४ की उमादेवी पोखरेलले बताइन् ।


‘पानीका मुहान भएका ठाउँमा रोपाइँ सुरु भएको छ,’ उनले भनिन्, ‘पानीको समस्या भएर एउटा गह्रोमा पानी तलाएर अर्कोमा सार्नुपर्ने हुन्छ । धान खेती अझै पनि हामी पुरानै पाराले गरिरहेका छौं ।’ खेत जोत्न र बाली काट्न आधुनिक कृषि औजारको उपयोग सुरु भए पनि सिँचाइ अझै परम्परागत तरिकाबाटै चलेको उनले सुनाइन् ।

प्रकाशित : असार ६, २०७५ ११:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?