कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मोटरसाइकलको बजेट विकासमा

पर्वत — यहाँका एक जनप्रतिनिधिले आफ्नो सुविधाका लागि गाउँपालिकाले सवारीसाधन खरिदका लागि दिएको बजेट धारा जडानमा खर्चिएका छन् ।

मोटरसाइकलको बजेट विकासमा

जलजला गाउँपालिका ३ का वडाध्यक्ष देवेन्द्र भण्डारीले मोटरसाइकल खरिदका लागि विनियोजित २ लाख ५० हजार रुपैयाँ वडाको २ सय २४ घरधुरीमा धारा जडान गर्न अनुदानमा दिए । आफ्नो पुरानै मोटरसाइकल भएकाले गाउँपालिकाले दिएको सुविधा तत्काल लिनुको साटो वडाकै लागि खर्च गर्न उपयुक्त लागेको उनले बताए । ‘अहिले गाउँमा खानेपानी समस्या छ । २ हजार रुपैयाँ तिरेर धारा जोड्न नसक्ने धेरै छन्,’ उनले भने, ‘मैले सुविधा लिनुभन्दा जनताकै कामलाई प्राथमिकता दिनु उत्तम लाग्यो ।’


गाउँपालिकाले दिएको रकमलाई शीर्षकान्तर गरी पुम्दीखोला खानेपानी आयोजनाका उपभोक्तालाई निजी धारा जडान गर्न प्रतिपरिवार २ हजारका दरले वितरण गर्न लागेको उनले बताए । १ घर एक धारा कार्यक्रमअन्तर्गत सुरु भएको पुम्दीखोला खानेपानी आयोजनाले २ सय २४ घरधुरीलाई समेटेको छ । हरेक परिवारले छुट्टाछुट्टै मिटर खरिद गर्दा प्रतिघरधुरी २ हजार रुपैयाँ खर्च हुन्छ । वडाध्यक्षले अनुदान दिने व्यवस्था मिलाएपछि घरघरै मिटर जोड्ने क्रम सुरु भएको छ । खानेपानीका लागि वडाले गरेको सहयोग विपन्न परिवारका लागि राहत भएको स्थानीय शशी शर्माले बताए । ‘आधाजसोले मिटर जोड्ने पैसा झट्ट जुटाउन सक्दैनथे,’ उनले भने । सबैका घरमा धारा जडान गरिसकेपछि सम्बन्धित व्यवसायीलाई वडा कार्यालयमार्फत भुक्तानी दिने योजना बनेको उनले बताए ।


मल्लाजले चालु वर्षका लागि गाउँसभाबाट पारित र शीर्षकान्तर गरी सञ्चालित २८ मध्ये २५ योजना पूरा भएको जनाएको छ । वडास्तरीय योजनाका लागि ४५ लाख रुपैयाँ विनियोजन भएको थियो । शिक्षा विकासअन्तर्गत विद्यालयका कक्षाकोठा तथा भवन मर्मत, पदमार्ग निर्माण तथा मर्मत, सडक स्तरवृद्धि, विद्युतीकरण, खानेपानीलगायत योजना सम्पन्न भएको सदस्य चन्द्रबहादुर क्षत्री बताउँछन् ।

मर्मततर्फ ५ लाख ९० हजार रुपैयाँ बजेट विनियोजन भएको विद्याज्योति मावि र पर्वतबेनी विद्यालयका कक्षाकोठा भवन पूरा भएका छन् । पर्वतबेनी बसपार्क, दारिमबोट–प्याराडाइज घोडेटो बाटो, बेनी–भुर्तला–समीबोट पदमार्ग, रेलिङ, सल्यान–कोतघर पदमार्ग पुरा भएका छन् । बगरफाँट– डिलफाँट पदमार्ग, स्कुलचोक–विद्याज्योति मावि जोड्ने मोटरबाटो मर्मत, डिलफाँट–कोटघर पदमार्गलगायत योजना पूरा भएका छन् ।

प्रकाशित : असार ८, २०७५ १०:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?