कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२५

रित्तिँदै गाउँ

बसाइँसराइ नगर्नेमा स्थानीय शिक्षक
रेमिट्यान्स गाउँमा लगानी भएन
प्रकाश बराल

बागलुङ — दसकअघिसम्म काठेखोला ५ की विष्णुमाया कँडेललाई खेतीपाती लगाउने बेलामा खेताला नपाएर तनाव हुँदैनथ्यो । त्यसबेला १०/१५ महिला जुटेर एकअर्काको खाँचोमा खेतवारीमा काम गर्थे । आलोपालोको चलनले सजिलो थियो । अहिले चारजना खेताला पुर्‍याउन नसकेर काम अलपत्र परेको छ ।

रित्तिँदै गाउँ

बसाइँसराइले गाउँमा युवा छैनन् । एकाध घरमा बूढाबूढी र केटाकेटी छन् । मकै गोड्ने, कोदो रोप्ने र धान रोप्ने काम गरिदिने कोही नभएपछि अधिकांश खेत बाँझिएको उनले बताइन् । ‘मान्छेहरू नभएपछि एक्लै बारीमा काम गर्दा उराठिलो हुने रैछ,’ उनले गुनासो पोखिन् ।


यो गाउँका १ सय ८० घरधुरीमध्ये १५ वर्षमा ८५ घर रित्तिएको कर्लिम आधारभूत विद्यालयका शिक्षक लीलाधर कँडेल बताउँछन् । रित्तिएका घरका अधिकांश वैदेशिक रोजगारीमा हिँडेकाहरू छन् । ‘जापान जानेले परिवारै लगे, खाडीमा जानेले सहरमा घर बनाए,’ उनले भने, ‘गाउँ बस्नेले खेती लगाउने मानिस पाउन सकेनौं ।’ छाडेर गएकाको रित्तो घर र बाँझो खेतबारीले डरलाग्दो भइसकेको उनले बताए । घर नछाडेकाले पनि बूढा भएका बाबुआमालाई मात्र राखेका छन् । यो गाउँका अधिकांश तन्नेरी पुस्ता रोजगारीका लागि जापानमा छन् । ५ नम्बर वडाबाट झन्डै दुई हजारजना जापान पुगेका छन् । उनीहरूले बिहुँकोट समाज जापान नामक संस्था पनि खोलेका छन् । त्यहाँ २ हजार ३ सय सदस्य रहेको तथ्यांक छ ।


बसाइँसराइ नगर्नेमा स्थानीय शिक्षक बढी छन् । रोजगारी नै गाउँमा भएकाले धेरैले छाडेर जान नसकेको स्थानीय सुन्तली शाहीले बताइन् । सडकको असुविधा, स्वास्थ्यचौकी, शिक्षा र सामाजिक सुरक्षाको अभावले धेरैले गाउँ छाडेको उनको अनुभव छ । बसाइँसराइले विद्यालयमा पनि असर परेको छ । करलिम आधारभूत विद्यालयमा हाल सयजना विद्यार्थी छन् । ‘तीन सयसम्म विद्यार्थी पढाएका थियौं, अहिले घटे,’ शिक्षक कँडेलले भने, ‘अझै घट्ने सम्भावना छ । बसाइँ पूरै नसर्नेले पनि सन्तान सदरमुकाम लगेर पढाउन थालेका छन् ।’ रेमिट्यान्स करोडौं भित्रिए पनि गाउँमा लगानी नभएको उनले बताए । अधिकांशको लगानी बजार क्षेत्रका घर र घडेरीमा परेको छ ।


जापानमा गएकाले यहाँ एक करोड रुपैयाँको अक्षयकोष बनाइदिएका छन् । शिक्षा, स्वास्थ्य र दैवीप्रकोपको उद्धारमा खर्चने लक्ष्य बनाइएको छ । तर, विकास निर्माण, उत्पादनमूलक काम र युवा गाउँमै रमाउने गरी कार्यक्रम नआएको शाहीको गुनासो छ । ‘कोष भएर के गर्नु, गाउँमा बसेर काम गरौं, यहीं पैसा कमाउन सकिन्छ भन्ने भएन,’ उनले भनिन्, ‘रमाइलो र सुखभोगलाई सबैले रोजेका छन् ।’ यो समस्या काठेखोला ८ लेखानीमा पनि छ । यहाँका आधैजस्तो घरहरू खाली छन् । कोही सदरमुकाममा बसेर ढोका लागेका हुन् भने अधिकांश वैदेशिक रोजगारीमै छन् । खेत बाँझो भएपछि घाँसपातले ढाकेको छ ।

प्रकाशित : असार ८, २०७५ १०:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

खेलकुद मन्त्रालयको बजेटले लुडो, चेस र बाघचाल मात्रै खेलाउन सकिन्छ भन्ने युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको भनाइबारे तपाईंको धारणा के छ ?