कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

प्रकाश बराल

बागलुङ — गत सातादेखिको वर्षा, बाढी र पहिरोले कालीगण्डकी कोरिडोरको बागलुङ खण्डका सडक बिगारेको छ । बाटो बिग्रिएपछि एक सातायता सवारीसाधन चल्न छाडेका छन् । पैदलयात्रीले पनि सास्ती खेप्नु परेको छ ।

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

करिडोर निर्माणको क्रममा एक्साभेटर प्रयोग भएकाले थर्किएका भूभागमा पहिरो खसेको हो । पहिरोले पुराना पैदल मार्ग पुरिएको र नयाँ ट्रयाकमा हिँड्नै नसकिने जोखिम छ । दुई वर्षअघि नेपाली सेनाले करिडोरको ट्रयाक खोलेको थियो । गत हिउँदमा ट्रयाक खुलाइसकेपछि बागलुङदेखि पाल्पाको बाटो हुँदै बुटवलसम्म नियमित जिप र बस चल्न थालेका थिए ।

मुग्लिङको तुलनामा आधा छोटो भएको यो सडक अवरुद्ध भएपछि दक्षिण बागलुङका बासिन्दा घुमाउरो बाटोबाट हिँड्न बाध्य भएका छन् । ‘पहिला घरबाटै साढे चार घण्टामा बुटवल पुगिन्थ्यो । अहिले गाडी नचलेर ४ घण्टा लगाई सदरमुकाम आउन पनि नसकिने भयो,’ जैमिनी ८ छिस्तीका ओमकार थापाले भने, ‘कता पुरिएर मरिन्छ भन्ने खतरा बढेको छ ।’ छिस्ती, जैदी, अर्जेवा, बिनामारे, कुश्मीसेरा, अमलाचौर र पैयुँपाटाका दर्जनौं स्थानमा पहिरो खसेका छन् । "

करिडोरको बागलुङको ३६ किमि खण्डमा चारवटा पुल निर्माण भइसकेका छन् । पालुङखोला, चांैरीखोला, लौंवाखोला र ठेउले खोलाको पुल बनेपछि सवारी आवागमन सहज हुन थालेको थियो । यो खण्डमा अझै तीनवटा पुल निर्माण हुन बाँकी छ । पुल नभएका ठाउँका खोलामा पानी बढेसँगै पहिरोले सडक बिगार्दा दक्षिण बागलुङेका लागि यात्रा असहज भएको छ ।

करिडोर खन्ने क्रममा अधिकांश पैदल मार्गहरू पुरिएकाले स्थानीयले पशुबस्तु निकाल्न पनि बाटो नपाएका हुन् । ‘जताततै हिमाम्मे छ, पशुचौपाया चराउन पनि पाइएको छैन । धान रोप्ने गोरु हिँडाउन पनि समस्या भएको छ,’ जैदीकी कमला शर्माले भनिन्, ‘तत्काल मर्मत नगरे बिरामी पर्दा उपचार पाउन पनि कठिन छ ।’ करिडोरलाई १० मिटरको चौडा पार्ने गरी सेनाले जिम्मा लिएको छ । वर्षात्मा भने काम रोकिएको छ ।

करिडोरलाई आधार बनाएर ग्रामीण क्षेत्रमा जाने अधिकांश सवारी रोकिएका छन् । दक्षिण बागलुङका हरेक वडामा ग्रामीण सडक छन् । ती गाउँ पुग्ने सवारीले पनि करिडोरको प्रयोग गर्थे । छिस्ती, जैदी र बिनामारेका भीरमा सबैभन्दा धेरै जोखिम भएको छ । ठूला पहरा पनि पहिरो खसेकाले सजिलै पन्छाउन नसकिने अवस्था छ । जैमिनी नगरपालिकाले तत्काल पहिरो पन्छाउन सेनालाई सम्पर्क गरिरहेको नगरप्रमुख इन्द्रराज पौडेलले बताए । ‘सुरुमा नगरपालिकाले काम गर्‍याैं तर साह्रै धेरै खर्च लाग्ने भएकाले सकिएन,’ उनले भने, ‘ठूलो पहरा र ढुंगा खसेकाले बम विस्फोट गराएर मात्रै क्लियर पार्न सकिने स्थिति छ । सामान्य मेहेनतले बाटो खुल्दैन ।’

सुनौलीदेखि कोरला नाकासम्म ४ सय १७ किमि खण्डमा यो सडकले भारत र चीन दुई देशलाई सडक सम्पर्कमा जोड्छ । त्यसैगरी करिडोरले मुस्ताङ, म्याग्दी, बागलुङ, पाल्पा र गुल्मीका धार्मिक र ऐतिहासिक स्थानलाई जोडेको छ ।

प्रकाशित : असार १७, २०७५ १०:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?