कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चल्दै फुटपाथ व्यापार

नगरका केही स्थानमा स्थानीय टोल विकास समितिको नाउँमा अझै व्यापार गर्दै
विना थापा

कास्की — पोखराको बजार क्षेत्रभित्र ठेला, डोको र क्रेट राखेर कुनै पनि सार्वजनिक स्थलमा व्यापार गर्न पाइँदैन । भेटेका खण्डमा नगररक्षकले सबै सामान जफत गर्छन् ।

चल्दै फुटपाथ व्यापार

नगरका केही स्थानमा भने हाल स्थानीय टोल विकास समितिका नाउँमा फुटपाथे व्यवसायी बसेका छन् ।

यसले गर्दा फुटपाथमा व्यापार गर्ने थोरैलाई आनन्द, धेरैलाई सास्ती भएको छ । बगरस्थित शिक्षा कार्यालयको गेटअगाडि चटपटे, फलफूल र विन्ध्यवासिनी मन्दिर पछाडिको गेटमा पूजा सामग्री बेच्नेलाई स्थानीय समितिले सहजीकरण गरिदिएको छ । जिल्ला शिक्षा कार्यालय गेट अगाडि बसेकी आइतीमाया गुरुङ फुटपाथमा व्यापार गर्न इजाजत भए/नभएको सोध्नेलाई बसपार्क कंक्रिट ढलान उपभोक्ता समितिको सादा कागजमा छाप लगाइएको स्वीकृतिपत्र देखाउँछिन् ।

‘वरिपरिको फोहोरमैला सफा गर्नेगरी समितिले फलफूल बेच्न पाइने स्वीकृति दिएको छ,’ गुरुङले भनिन्, ‘समितिको नगरपालिकासँग सम्झौता छ ।’ उनले स्वीकृति पाएको कागज देखाए पनि उनीजस्तै अरूलाई भने समितिले पत्र दिएको छैन । वर्षौंदेखि त्यही स्थानमा चटपटे लिएर बसेकी अनिता गुप्ता सबैलाई समितिले हटाएर गुरुङलाई मात्रै अनुमति दिँदा उस्तै व्यापार गर्नेलाई अन्याय भएको बताउँछिन् । ‘उनी बस्न पाउँदा हामी पनि बस्न पाउनुपर्छ,’ उनले भनिन्, ‘गुजाराका लागि बाध्यताले यो पेसामा वर्षौंदेखि लागेको हो ।’ कानुन सबैलाई बराबरी हुनुपर्ने उनले बताइन् । अरू व्यापारी आए भने टोलविकास संस्थाका सदस्यले लखेट्ने गरेका छन् । गुरुङले पनि अरूलाई आफू जसरी बस्न अवरोध गर्ने गरेकी छन् ।

महानगरपालिकाका नगररक्षकले गुरूङलाई कागज हेरेर छाडिदिने गरेका छन् । विन्ध्यवासिनी पछाडि, गेट अगाडि फुटपाथमा व्यापार मात्र नभएर हिँड्नै अवरोध हुने गरी फुटपाथे व्यापारी बस्दा आवतजावतमा असुविधा भइरहेको बटुवाले गुनासो गर्दै आएका छन् ।

‘आफ्नो बाटो हिँडिरहेका बेला फूल अक्षता र नरिवल लिएर हात समात्न आउँछन्,’ विन्ध्यवासिनी आएकी माया सुवेदीले भनिन्, ‘पूजा सामग्री चाहिए लिनेले आफैं माग्छन् । बाटो किन अवरोध गर्नु ?’ यस्तो अवस्थामा महानगरपालिकाको पनि ध्यान जानुपर्ने उनले बताइन् ।

जिल्ला शिक्षा कार्यालयभित्र क्यान्टिन सञ्चालन गरेकी मीना अधिकारी महानगरपालिकाले अनुमति दिएकाले व्यापार गरेको बताउँछिन् । ‘अनुमति दिएकाले नै हामी बसेका हौं,’ उनले भनिन् । निश्चित अवधि तोकेर दिइने इजाजत लिन पनि सजिलो नभएको राधा केसीले बताइन् । ‘मिति सकिनु तीन दिनअघि नै निवेदन दिने गरेका छौं,’ उनले भनिन् ।

स्थानीय जगत गुरुङ फुटपाथमा व्यापार गर्नेका लागि नियम खुकुलो पार्दा कसैलाई असुविधा पार्न नहुने बताउँछन् । पूजा सामग्रीका व्यापारी आधा दर्जनको संख्यामा रहेको विन्ध्यवासिनी मन्दिर क्षेत्र आसपास डोको र ठेलामा व्यापार गर्नेको पनि भीड हुने गरेको छ । ‘यिनीहरूलाई वडाका जनप्रतिनिधि र महानगरपालिकाले सहकार्य गरी हटाउनुपर्छ, होइन भने सबैले बेच्न पाउनुपर्छ,’ उनले भने ।

सार्वजानिक स्थलमा व्यापार गर्न पाइने व्यवस्था नभएको महानगरपालिकाका नगररक्षक प्रमुख वसन्त चालिसेले बताए । ‘महानगरपालिकाबाट सिफारिस दिने काम भएको छैन,’ उनले भने, ‘कसैको सिफारिसमा व्यापार गरेको पाइएमा सिफारिस गर्नेलाई पनि कारबाही हुन्छ ।’

प्रकाशित : असार १७, २०७५ ०९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?