कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कृषि गुरुयोजना अध्ययन

म्याग्दी — जिल्लाको अन्नभण्डार मानिएको मंगला गाउँपालिकाले विज्ञको सहयोगमा कृषि गुरुयोजना बनाउन अध्ययन सुरु गरेको छ । विज्ञ टोली बोलाएर कृषि, पशुपालन र मत्स्यपालनको सम्भाव्यता अध्ययन थालिएको हो 

कृषि गुरुयोजना अध्ययन

यसका लागि क्षेत्रीय कृषि अनुसन्धान केन्द्र लुम्लेका प्रमुख रामबहादुर केसी, बाख्रा अनुसन्धान केन्द्र बन्दीपुरका प्रमुख राजु कँडेल र मत्स्य अनुसन्धान केन्द्र बेगनासका प्रमुख अग्नि नेपालसहितको टोली खटिएको छ । गाउँपालिकाका सबै बस्ती पुगेर खाद्यबाली, तरकारी, फलफूल, पशुपालन र माछापालनको सम्भाव्यता अध्ययन भइरहेको जनप्रतिनिधिले बताएका छन् ।

‘हाम्रो प्रमुख प्राथमिकता नै कृषि हो । खाद्यान्न, पशुपालन, फलफूल, तरकारी र माछापालनका योजनामा बजेट केन्द्रित गरेका छौं,’ गाउँपालिका उपाध्यक्ष सृजना केसीले भनिन्, ‘भूगोल, हावापानी र माटोको अध्ययनपछि बन्ने कृषि गुरुयोजनाका आधारमा कृषि उत्पादन बढाउन र बजार जोड्ने गरी सडक पूर्वाधारमा लगानी गर्ने नीतिका लागि अध्ययन गराएका हौं ।’ जनप्रतिनिधिको बलमा मात्रै योजना छनोट र बजेट विनियोजन गर्नुभन्दा विज्ञको परामर्शमा सम्भावना भएका क्षेत्र पहिचान गर्न गाउँ कार्यपालिका सहमत रहेको उनले बताइन् ।

असारे झरी र बजेट अनुमोदनको चटारोबीच गाउँपालिका अध्यक्ष सतप्रसाद रोका विज्ञलाई साथमा लिएर किसानका खेतबारी र गोठमा पुगेर अन्तरक्रिया गरिरहेका छन् । गुरुयोजना तयार भएपछि त्यसलाई आधार बनाएर व्यावसायिक फर्म स्थापना गर्ने योजनालाई जोड दिइने गाउँपालिकाले जनाएको छ । हाल गाउँपालिकाकै प्राविधिक सीप सहयोगमा मंगलामा अग्र्यानिक मल उद्योग सञ्चालन भइरहेको छ ।

‘विद्युत् र पर्यटन जस्ता ठूला परियोजनाको साटो उर्वर माटो र मेहनती हातलाई उचित तरिकाले खेती गर्ने ज्ञान दिनुपर्ने आवश्यकता प्रमुख छ,’ गाउँपालिका अध्यक्ष रोकाले भने, ‘कृषि उपजको उत्पादन बढाउने मात्रै होइन, तिनलाई बजारसँग जोड्नुपर्ने पनि आवश्यकता छ ।’ विज्ञको सुझावअनुसार बस्तीलाई पकेट क्षेत्र बनाएर व्यावसायिक उत्पादनमा जोड दिने योजना रहेको उनले बताए ।

प्रकाशित : असार १७, २०७५ ०९:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?